सत्य र इमानको स्निग्धता र विद्रुपता

तीर्थराज खरेल
संसारमा सँधैका लागि कुनै पनि कुरा पूर्ण वा सार्वभौमिक सत्य हुन सक्दैन । हरेक वस्तु परिवर्तनशील छन् र तिनीहरु नाशवान छन् । विषयवस्तुको सार्वभौमकितालाई बुझ्नको लागि सत्यको परिभाषाबाट आरम्भ गर्नुपर्छ । यस सम्बन्धमा सबैको एउटै धारणा हुँदैन, बुझाइ एउटै हुँदैन । शब्दकोष अनुसार, सत्य ‘वास्तविकता वा तथ्य अनुरूप एक प्रमाणित कथन हुनु पर्छ वा जसलाई सत्यको रूपमा स्वीकार गर्न सकिओस् ।’ केही मानिस भन्छन् वास्तविकतामा कुनै सत्यता छैन, यो त केबल आत्मबोध र सोच विचार मात्र हो । केहीको विचारमा वास्तविकतामा सत्यता हुन्छ । मानिसको सोचमा वा आत्मबोधमा सत्यता छ र त हामी पनि पछ्याइरहेका छौं उनीहरुका विचार भन्ने दलिल दिने पनि छन् ।
एउटा दृष्टिकोण यस्तो छ कि कुनै यस्तो पूर्ण सत्य नै छैन जसले वास्तविकतालाई परिभाषित गर्छ । वास्तविकता भनी विश्वास गर्ने र वास्तविकता माथि पनि सन्देह गरी त्यसको कारण र प्रभाव दुवै खोजी गरेर मात्र निष्कर्षमा पुग्ने मानिसको ठूलो पंक्ति पनि हामी वीचमा छ । प्रमाणित नगरिएको, पाँच ज्ञानेन्द्रियले अनुभूत नगरेका विषयवस्तुलाई विश्वास नगर्ने हो भने विश्वासको के अर्थ रह्यो र भन्ने पनि छन् ।
सत्यताको प्रश्न इमानसँग पनि गाँसिन्छ । सत्य जति सफा छ, स्निग्ध छ र कञ्चन छ, त्यसको सामाजिक आयाम त्यति सफेद छैन । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, पेशागत विविधताका बीचमा निश्चित स्वार्थहरु हुन्छन् र पक्षधरताको प्रश्न उठ्छ । स्वार्थसमूहको चंगुलमा सत्यको अपहरण जब हुन्छ, त्यो विद्रुप अनुहारमा अभिव्यक्त हुन्छ र आजसम्म सत्य लागेका कुरा पनि आफैलाई असत्य लाग्न थाल्छन् । अगाडि सत्य लागेको कुरा भ्रम लाग्न थाल्छन् । यो किन हुन्छ ? के सत्य सार्वभौम हुन्न ? हामी किन सत्य चाहन्छौं त ? इमान र सत्यको सामाजिक वर्गस्वार्थसँगको द्वन्द्वले हरेक क्षण मानिसको सोच र कार्यशैलीमा बद्लाव आइरहेको हुन्छ । अहिलेसम्म मानी आएको सत्यलाई केही क्षणमा असत्य मान्दै चटक्क छोड्ने परिस्थितिका लागि को जिम्मेवार छ ? स्वयम् मानिस कि समाज ?
नैतिक रूपमा कुनै पूर्ण सत्य नै छैन, कुनै अधिकार सही वा गलतको निर्णय लिनको लागि होइन कि एउटा कार्य सकारात्मक वा नकारात्मक रुपमा बुझ्नका लागि आफैमा अन्तरद्वन्द्व हुन्छ । यो दृष्टिकोणले परिस्थितिमा आधारित सत्यतातर्फ लैजान्छ, जसको मान्यता अनुसार जुनसुकै कुरा पनि गलत वा सही छ, त्यो त्यस समयको परिस्थितिसँग सम्बन्धित छ । केही पनि सही वा गलत हुँदैन, त्यो परिस्थितिमा भर पर्छ । त्यसैले जे कुरा पनि एउटा दिएको परिस्थितिमा र त्यस समयमा सही वा गलत महशुस हुन्छ, त्यही नै सही हो । आज हामी जे पनि सही हो भन्ने मानसिकता र जीवनशैलीतर्फ आमुख छौं । हाम्रा र अरुका सबै मूल्यहरु, मान्यताहरु, जीवनशैली र सत्यको दाबाहरुलाई समान रूपले वैध मानिरहेका छौं । नैतिकता र सामाजिकता आफैंमा सही र गलत दुबै लाग्छ ।
द्वन्द्वात्मक भौतिकवादी सोचले एकै कुराको बहुसत्य हुने र एउटै कुरा सत्य पनि हुने र असत्य पनि हुने विचारलाई अस्वीकार गर्दछ । यसले विज्ञान र भौतिकीको नियमलाई आत्मसात गर्दछ । यसले सत्य हुन्छ र समय अनुसार परिवर्तन हुने भएता पनि सत्य नै नहुने भन्ने कुरा हुँदैन भन्छ । हामी वर्तमान युगमा विजय प्राप्त गर्नुलाई अर्थात् बहुमतलाई सत्य मानिरहेका छौं । यो त राजनीतिक प्रणाली हो, सत्य बहुमतमा हुन्छ भन्ने, तर सत्य बहुमत वा अल्पमत जता पनि हुनसक्छ । सत्य कहाँ हुने भन्ने कुरा वास्तविकता हो, तर बहुमतले आफूमा सत्य रहेको दाबी गर्नु सत्ता र राज्यको अधिनायकवादी चरित्रको पुष्टि हो ।
राज्यसत्ता हतियार नै हो, यसले आफ्नो विश्वासको सत्यलाई सही मान्न जनतालाई बाध्य पार्दछ । यो विश्वास पूर्ण वा सार्वभौमिक सत्य होइन । सीमित ज्ञान र सीमित बुद्धिले पनि असीमित बुद्धिमाथि शासन गर्दछ । बहुमत गलत भए पनि राज्यसत्ता तार्किकरूपले पूर्ण नकारात्मक कथनहरुलाई निर्मित गर्न हरदम कोशिस गरिरहन्छ । तर जनता पटक–पटक भ्रममा पर्छन्, बौरिन्छन् र नयाँ जनादेशका लागि सीमित विकल्पका बीच नयाँ निर्णय गर्दछन् । यो उनीहरुको सच्चाइको खोजी हो । शान्तिपूर्ण विकल्प खोजी गर्दा नभएमा नयाँ सच्चाइका लािग हिंसात्मक विद्र्रोह पनि गर्छन जनता ।
यो कुरा राजनीतिमा मात्र होइन, धर्मका सम्बन्धमा पनि लागू हुन्छ । एउटा व्यक्तिले तार्किक रूपले भगवानको अस्तित्वलाई अस्वीकार गर्दछ । तर, सामाजिक रुपमा बहुमत मानिसहरुले ईश्वरको सर्वव्यापकताका साथमा सर्वशक्तिमान अस्तित्वलाई मान्न अल्पमतावली बाध्य हुन्छ । आफ्नो भौतिक र सामाजिक अस्तित्वका लागि पनि उसले यसो भन्न वा धर्मसँग गाँसिएका कृत्य गर्न तयार हुनुपर्छ । आफ्नो वर्गीय स्वार्थका कारण दुनियाँका लागि पूर्ण र सार्वभौमिक मानिएको सत्यलाई इन्कार गर्नु परिस्थितिका बीचमा मानिस ठूलो अन्तरद्वन्द्वमा फँस्दछ । त्यतिबेला सत्यको स्निग्धता धूमिल हुन्छ र दुनियाँले मानी आएको परम्परित कृत्यलाई सत्य सम्झेर अघि बढ्नु उसका लागि एउटा मात्र विकल्प हुन्छ । मानिस आफ्नो विवेकमा सत्यको निरुपण गर्दछ । तर, उसका आफ्ना अनुभवहरु र आफू रहेको समाजदेखि ऊ अलग हुन सक्दैन ।
भनिन्छ, यस वास्तविक संसारमा भएका अधिरचनाका आधारमा हाम्रो सोच र विवेक बन्दछ । हामी जे हेर्छौ, त्यही जान्दछौं । हाम्रो पूर्ण सत्यको रूप पनि त्यस्तै हुन्छ । हत्या, चोरी, बलात्कार, झूट बोल्नु, धोखा दिनु आदिलाई हामी गलत भन्दछौं । तर, आफ्नो जीवनरक्षाका लागि गरेका कतिपय गलत कामलाई कुनै बेला हामी गलत सम्झँदैनौं । कुनै सरकार, कुनै व्यवस्था र कुनै न्याय सदैव उत्तिकै सत्यको नजिक हुन सक्दैन, तर बहुसंख्या मानिसहरुसँग सही कुरा हुन्छ भन्ने विश्वास गरिन्छ । बहुसंख्यासँग मापदण्डहरुलाई अल्पसंख्याको माथि लागू गर्नको अधिकार छ भनेर लोकतन्त्रको परिभाषा गरिएको छ । पूर्ण सत्यहरु बिना हाम्रो संसार धेरै डरलाग्दो हुन्छ, त्यसैले कहिलेकाँही हामी हाम्रो आस्था चर्मराउँदा कल्पनाहीन संसारमा पुग्दछौं ।
तसर्थ सत्यको स्निग्धतालाई सापेक्षवादी आँखाले हेर्न जरुरी छ । भम्रलाई सत्य मान्न अभिषप्त हामी परम्परित जडताको कठोरताले जेलिएका छौं । आजसम्म हामीले मानी आएका कुरालाई मात्र सही मान्ने हो भने त्यो कठमुल्लावादी सोच हुन्छ । हामीले आफूलाई बदल्नु पनि पर्छ । त्यसको अर्थ अवसरवादी फिरफिरेपनाको शिकार हुनुपर्छ भन्ने होइन । सत्यको प्रकटीकरण निरपेक्ष रुपमा हुँदैन । हो, सहनशीलता आधुनिक समाजको लागि एउटा सबैभन्दा सर्वोत्तम गुण हो । तर यसो भन्दैमा सत्यलाई नजरअन्दाज गर्न मिल्दैन । असहनशीलताले द्वन्द्व निम्त्याउँछ ।
हाम्रो जीवन सहनशीलता र असहनशीलताको सन्तुलनको बीचबाट अघि बढ्न सकेमा र सत्यको निरन्तरको परिवर्तनशीलतालाई आत्मसात गर्न सके सार्थक हुनसक्छ । कम्तीमा पनि जीवनको सहज सञ्चालनका लागि सत्य र भ्रम, व्यक्ति र समाज, धर्म र अधर्मबीचको द्वन्द्वलाई रुपान्तरण गर्दै अघि बढ्न सकेमा अन्तरव्यैक्तिक र आन्तरिक द्वन्द्वलाई निरुपण गर्न सकिन्छ । उत्तरआधुनिकताको सत्यलाई विद्रुपताको रुपमा ग्रहण गर्ने हो भने मानिस आस्थाविहीन बन्न पुग्दछ । हामीसँग एउटै विकल्प छ– पौरख र इमानको बाटो हिंडौं र मनमा सकारात्मक परिवर्तनको विश्वास राखौं ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com