न्यायमा सहजीकरणका लागि तालिम

१५ श्रावण २०७५, मंगलवार मा प्रकाशित

सुरुङ्गा, साउन । नेपालको संविधान २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई अर्धन्यायिक अधिकार पनि प्रदान गरेको छ ।
त्यसअनुरुप गाउँपालिका वा नगरपालिकामा स्थानीय न्यायिक समितिहरु गठन भइसकेका पनि छन् । तर, न्याय सम्बन्धी ज्ञानको अभावले जनप्रतिनिधिहरुलाई जनस्तरबाट आएका घटनाहरुलाई मिलाउन र अन्यायमा परेकालाई न्याय दिन अप्ठेयारो महशुस हुँदै आएको छ । गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष वा उपप्रमुखको अध्यक्षतामा न्यायिक समिति गठन हुने वैधानिक प्रावधान रहेको छ ।
यसैक्रममा कनकाई नगरपालिकाको आयोजनामा र प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालको संयोजनमा नगरका मेलमिलाप सहजकर्ता तथा जनप्रतिनिधिका लागि आठ दिने सामाजिक मेलमिलाप सम्बन्धी तालिम शुरु भएको छ । गाउँघरमा भएका झैझगडाहरु गाउमै मिलाउन न्यायिक समितिका सहजकर्ताहरुका लागि तालिम शुरु गरिएको हो ।
उक्त तालिमको झापा क्षेत्र नं. ४ प्रदेशसभा सदस्य हीराकुमार थापा र कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । प्रदेशसभा सदस्य थापाले तालिमपछि नगरपालिका झैं–झगडामुक्त नगर हुन मद्दत मिल्ने बताए ।
त्यस्तै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले गाउँमा भएका झैं–झगडाहरु गाउँमै मिलाइने र गाउँमा नमिलेका झगडा नगर कार्यसमितिको न्यायिक समितिमा आइपुग्ने भएकाले न्यायिक समितिका पदाधिकारीमा तालिमपछि न्याय सम्बन्धी आधारभूत ज्ञान हुनुपर्ने बताए । त्यस्तै कनकाई नगरपालिकाकी उपप्रमुख तथा नगर न्यायिक समितिकी संयोजक मञ्जु प्रसाईंले गाउँनगरका समस्यालाई अदालतसम्म पनि पुग्न दिन नहुनेमा जोड दिएकी थिइन् ।
सो तालिममा नगरका जनप्रतिनिधि तथा अगुवा नागरिकहरु गरी ७० जनाको सहभागिता रहेको छ । तालिममा प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका कार्यकारी निर्देशक चुपबहादुर थापा, केन्द्रकी राष्ट्रिय सहजकर्ता संगीता थापा, केन्द्रका झापाका सहजकर्ताहरु छत्र पौडेल र कुमार पौडेल तथा दीपक भट्टले सहजीकरण गरिरहेका छन् ।
तालिम सम्पन्न भएपछि प्रत्येक वडामा सात सदस्यीय सामाजिक मेलमिलाप समिति गठन गरिने र सम्भव भएसम्म वडामै समस्यालाई हल गर्न कोशिस गर्ने बताइएको छ । कार्यक्रममा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्यामप्रसाद ओली, सुकेडाँगी सामुदायिक वन समूहका अध्यक्ष भक्तबहादुर पौडेल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here