सहाराले घर दिएपछि दंग

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल

बिर्तामोड, साउन । दिनहुँ टालटुल नगरे घुरघुरे, कमिला र मुसाले खोलेर बस्नै नहुने कला लाम्गादेको झुप्रो घर भुइँ ढलान गर्दै चिटिक्कको बन्छ भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । कारण थियो– आर्थिक अभाव । हो, अर्जुनधारा नगरपालिका–५ निवासी लाम्गादेले विपन्नताकै कारण विहान बेलुकाको छाक टार्न धौं–धौं परिरहेका बेला भुइँ ढलान गरेर घर निर्माण गर्ने कुरै भएन । एक कठ्ठा जमिन, सात जनाको परिवार । दिनभरि मजदुरी नगरे हात मुख जोड्नै मुस्किल । यस्तो समस्याबाट पिरोलिरहेकी कला अहिले भने निक्कै खुशी छिन् । उनको खुशीको कारण बन्यो सहारा नेपाल साकोस ।
सहारा नेपालले चार महिना अघि चार लाख ५० हजार रुपैयाँ खर्च गर्दै उनलाई भुइँ ढलानसहितको भूकम्प प्रतिरोधात्मक चिटिक्क परेको तीन कोठे घर निर्माण गर्दै हस्तान्तरण गरेपछि कला मात्र होइन अहिले उनको सिङ्गो परिवार र छरछिमेकी समेत खुशी छन् । सहारा नेपालले ह्याविट्याट फर ह्युमानिटीसंगको सहकार्यमा विपन्नका लागि आवास कार्यक्रम अन्तर्गत कलाको घर निर्माण गरेको सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
घरसँगै सहकारीले शौचालय पनि निर्माण गरिदिएको छ । मलाई भित्र्याउँदा भत्किनै लागेको टाँटीले वारेको सानो घर थियो– कलाकी माइली वुहारी खुशीले भनिन्– भुइँ घुरघुरेले खोलेर घरभरि पानी गजगजी हुन्थ्यो, झन् वर्षायाममा त घरभित्र पाइला जहाँ टेक्यो त्यहीं भाँसिन्थ्यो ।’ उनले थपिन– दिनहुँ विहान उठेर घर टालटुल नगरे सुखै थिएन ।
पूर्वाञ्चलकर्मी सोमवार उनको घर पुग्दा खुशी वरन्डाको कोठामा सुतिरहेकी थिइन् । खाट नजिकै फेन घुमिरहेको थियो भने घर पनि चिटिक्क थियो । कलाको घरमा यस अघि विद्युत् समेत जडान भएको रहेनछ । तर, सहारा नेपालले उनीहरुलाई घर मात्र निर्माण गरिदिएन घरसँगै विद्युत् जडानसमेत गरेपछि लाम्गादे परिवार अहिले दंग छ । कलाकी माइली बुहारीले विगत सम्झिँदै भनिन्– ‘यस्तो घरमा बस्न पाइन्छ जस्तो लागेकै थिएन, अहिले म आफैं छक्क परेकी छु ।’
राजनसँग एक वर्ष अघि प्रेम विवाह गरेकी खुशी सहारा नेपालले आफ्नो फुसको घर हटाउँदै भुइँ ढलान सहितको भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिएपछि खुशी हुँदै सहारा नेपाललाई धन्यवाद दिइन् । लाम्गादे परिवार जस्तै सहारा नेपालले अर्थिक वर्ष २०७४÷०७५मा पाँच सय २८ घर निर्माण गरेको छ । वाढीबाट विस्थापित र विपन्न परिवारका लागि सहारा नेपालले आफ्नो कार्य क्षेत्रमा लाम्गादेको जस्तै घर निर्माण गरेको बताइन्छ ।

स्थानीय सरकारसंग सहारा

सहारा नेपाल सहकारी संस्था लिमिटेडले यो वर्षदेखि स्थानीय सरकारसंग साझेदारी गर्दै विपन्न परिवारका लागि आवास कार्यक्रम सञ्चालन गर्ने भएको छ । जसका लागि स्थानीय निकायसंग सहकार्य भइरहेको सहारा नेपालका कार्यकारी निर्देशक गिरीले बताए । उनले भने– ‘अर्जुनधारा, मेचीनगर, कनकाई, विर्तामोड नगरपालिका र बाह्रदशी तथा झापा गाउँपालिकासँग साझेदारीका लागि पहल भइरहेको छ, केहीसंग सम्झौता पनि भइसक्यो ।’
स्थानीय सरकारसंग साझेदारी गर्दै झापामा एक सय ५० घर निर्माण गरिने र प्रतिघर निर्माणका लागि एक लाख ५० हजार रुपैयाँ सहारा र ह्याविट्याट फर ह्युमानिटीको सहयोग रहने कार्यकारी निर्देशक गिरीले बताए । जसमा प्राविधिक सहयोग सहाराको रहने छ ।
अर्जुनधारा नगरपाललिका वडा नम्वर ५मा गरीव विपन्न आवास कार्यक्रमका लागि पाँच लाख रुपैयाँ नगरपालिकाले व्यवस्थापन गरेको र बाँकी रकम सहारा नेपालसंग साझेदारीका गर्न इच्छुक रहेको वडाध्यक्ष धनवहादुर भारतीले बताए ।
नगरपालिकाले विपन्न र जोखिममा परेका नागरिकहरुका लागि एकीकृत योजना तर्जुमा गरी सुरक्षित आवास निर्माण गर्न नगर क्षेत्रभित्र ३०वटा घर बनाउन प्रतिघर धुरी ७५ हजार रुपैयाँ उपलब्ध गराउने र वाँकी रकम ह्याविट्याट र सहारा नेपालसंग साझेदारी गर्ने नगरप्रमुख हरि रानाले बताए ।
त्यस्तै बाह्रदशी गाउँपालिका–६मा पनि आवास निर्माण कार्यक्रमका लागि सहारासँग साझेदारी गर्दै गाउँपालिकाले ८ लाख रुपैयाँ सहयोग गर्ने वडा अध्यक्ष रत्नप्रकाश योङ्हाङले बताए ।
उता ह्याविट्याट र सहारा नेपाल साकोससँग साझेदारी गर्दै सुरक्षित आवास निर्माणका लागि मेचीनगर नगरपालिकाले समेत ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै सुरक्षित आवास निर्माणका लागि झापा गाउँपालिकाले समेत दलित, जनजाति, आदिवासी, विपन्नका लागि ह्याविट्याट र सहारा नेपालसँगको साझेदारीमा ‘फुस हटाऊ टिन लगाऊ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।
यता कनकाई नगरपालिकासंग साझेदारी गर्दै १४ वटा घर निर्माण भइरहेको बताइएको छ । सहारा नेपालले विपन्नका लागि आवास कार्यक्रम सञ्चालन गर्न ह्याविट्याटसँग सहकार्य गर्दै पाँच करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

विराटनगरमा एकीकृत  नमूना वस्ती बनाइने

सहारा नेपाल सरकोस र ह्याविट्याट फर ह्युमानिटीले बिराटनगर उपमहानगरपालिकासंग साझेदारी गर्दै नमूना वस्ती निर्माण गर्ने भएको छ । उपमहानगरपालिकाले जग्गाको व्यवस्थापन गरेपछि सहाराले बाढी पीडित विपन्न परिवारका लागि एकीकृत आवास निर्माण गर्न लागेको हो । जसका लागि २ करोड २५ लाख रुपैयाँ खर्च गरिने सहकारीका कार्यकारी निर्देशक गिरीले बताए । उनले भने– ‘निर्माण गरिने प्रत्येक घरमा चारलाख ५० हजार रुपैयाँ खर्च हुन्छ, जुन बस्ती धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरे जस्तै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com