ठेकेदारबीच घम्साघम्सी, २६ फर्म दर्ता भएनन्

मेचीनगर, साउन । सवारी पार्किङ्ग टेन्डर आव्हान गर्दा टेन्डरवालाहरुको मिलेमतोको विषय बेला बखत बाहिर आउने गर्छ ।
सेटिङमा हुने टेन्डर आह्वान स्थलमा कहिलेकाहीँ टेन्डरवालाहरुबीच भीडन्त नै हुने गरेको छ । यस्तै दृष्य देखियो, साउन १३ गते मेचीनगर नगरपालिका कार्यालय परिसरभित्र । त्यस दिन काँकरभिट्टा बस पार्कको टेन्डर दर्ता गर्ने अन्तिम दिन थियो । त्यस दिन दुईपक्ष टेन्डरवालाबीच दर्ता गराउने विषयमा घम्साघम्सी नै भयो । तर, त्यहाँ सेटिङले गर्दा २६ वटा फर्म दर्ता भएनन् । नगरपालिकाले टेन्डर आह्वानको अन्तिम दिन प्रहरी नै परिचालन गर्नुपरेको थियो ।
दर्ता गर्न ल्याएका २६ वटा फर्म च्यातिएपछि ती दर्ता भएनन् । दर्ता हुन नपाएपछि ती व्यवसायीहरुले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलन नै गरे । नगरपालिकाको मिलेमतोमा फर्म दर्ता गर्न नदिएको व्यवसायीहरुले आरोप लगाएका छन् । चालुआर्थिक वर्ष २०७५÷०७६का लागि खुलाइएको बसपार्क सवारी टेन्डर दर्तामा आफूहरुलाई दर्ता गर्नबाट बञ्चित गरिएको ती व्यवसायीहरुले दावी गरेका हु्न् ।
मेचीनगरका करिब दुई दर्जन फर्मवालाले सोमबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिका परिसरभित्र फर्म दर्ता गर्ने क्रममा भएको गुण्डागर्दी शैलीको विरोध जनाएका थिए । नगरपालिकाले गतअसार १३ गते काँकरभिट्टा बसपार्क सवारी पार्किङका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डर आह्वानको फर्म दर्ताको अन्तिम मिति साउन १४ गतेलाई तोकिएको थियो । नगरपालिकाले सवारी पार्किङका लागि डाक बडाबड गरी ३१ लाख रुपैयाँको न्यूनतम मूल्यको टेन्डर आह्वान गरेको थियो ।
फर्म दर्ता गर्ने अन्तिम दिन आइतबार करिब ३० वटा कम्पनीका सञ्चालकहरु नगरपालिका पुगेका थिए । तर, गुण्डागर्दी शैलीमा आफूहरुको फर्म नगरपालिकामा दर्ता गर्न नदिइएको टु फोर फिप्टीफोरका प्रोपाइटर प्रदेश कार्कीले बताए ।
कार्कीले आफूहरु अन्यायमा परेको कुरा राख्दा उपप्रमुख मीना उप्रेतीले गैरजिम्मेवार जवाफ दिएको बताए । टेन्डरका विषयमा ‘प्रितम काफ्लेलाई सोध्नु’ भनी जवाफ दिएको कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । तर, उपप्रमुख उप्रेतीले यस्तो जवाफ नदिएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्– ‘मैले भाइहरुलाई समयको कुरा गरेकी हुँ , टेन्डरमा बार्गेनिङ हुँदोरहेछ, त्यो विषयमा मलाई थाह थिएन् ।’ कार्कीले नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा आफूहरुलाई फर्म दर्ता गर्न नदिइएको दावी गरेका छन् । ‘हामी साउन १३ गते १२ बज्नु अगाडि नै नगरपालिका प्रवेश गरिसकेका थियौं, तर हामीलाई फर्म दर्ता गर्न दिइएन ।’
नगरपालिकाबाट टेन्डरका लागि ३० वटा फर्म बिक्री भएको थियो । जसमध्ये ४ वटा मात्र फर्म दर्ता भएको नगरपालिकाले जनाएको छ । जसमा प्रिति स्टोर, पूजा सर्भिसिङ सेन्टर, सिम्रन फर्निचर उद्योग र तामाङ सप्लायर्सको फर्म दर्ता भएका छन् ।
फर्म दर्ता गर्न नपाएकाहरुमा लिजा स्टोर, आदित्य फर्निचर उद्योग, गौतम फर्निचर एण्ड इन्जिनियरिङ वर्कस, श्रेष्ठ ट्रेडर्स एण्ड सप्लायर्स, श्री बुद्ध निर्माण सेवा, सरु स्टोर, पाथिभरा दर्शन, टु फोर फिप्टीफोर, दर्पण निर्माण सेवा, डिएन कन्सट्रक्सन, किराँत युमा माङ निर्माण सेवा, डीएनडी कन्सट्रक्सन सेवा, कुम्भकर्ण कन्सट्रक्सनलगायत रहेका सम्मेलनमा बताइयो ।
लामो समयदेखि ठेक्का पट्टा व्यवसायमा लागेका मेचीनगरका प्रदेश कार्की, युवराज मुखिया, दावा गोम्देन, रञ्जित कार्की, विमर्श श्रेष्ठ, सुदर्शन खड्का, नवीन अधिकारी, नरेश लावती, पेमु नर्वु शेर्पालगायत पत्रकार सम्मेलनमा सहभागी थिए ।
उनीहरुले आफू कानूनी प्रक्रिया पूरा गरेर जाँदा पनि फर्म दर्ता गर्न नदिएकाले न्याय दिन माग गरेका छन् । उनीहरुले न्यायका लागि जिल्ला अदालत र अख्तियारसम्म जाने बताए । उनीहरुले टेन्डर रद्द गरी पुनः टेन्डर खुलाउनुपर्ने नभए समय थप गर्नुपर्ने माग गरेका छन् ।
टेन्डर दर्ताका विषयमा नगरपालिकाले कानूनी प्रक्रिया पूरा गरेर दर्ता भएका ४ वटा फर्मलाई आधिकारिक मानी अघि बढ्ने स्पष्ट पारेको छ । नगरपालिकाकी उपप्रमुख उप्रेतीले दर्ता भइसकेका फर्मलाई नै आधार मानिने बताइन् । उनले भनिन्– ‘फर्म दर्ता गर्न समयको भेल्यु हुँदो रहेछ, ४ वटा फर्म समयमै दर्ता भएको देखिन्छ, यसैलाई मान्यता दिनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com