चार श्रीमती भए सेठ, पुरुषले सिन्को भाच्दैनन्

सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल

बिर्तामोड, साउन । एक जना पुरुषले चार जनासम्म श्रीमती भित्र्याउनै पर्ने । नभित्र्याए उसलाई समाजमा हेलाको दृष्टिले हेरिँदो रहेछ– अचम्म मान्दै अनीताले भनिन् । १३ महिने शान्ति मिसनका लागि सुडान पुगेर नेपाल फर्किएकी प्रहरी हबल्दार अनीता आचार्यले भनिन्– ‘सुडानमा जति धेरै विवाह ग¥यो त्यत्तिनै ‘सेठ’ हुँदा रहेछन् सुडानी पुरुषहरु ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत आचार्य २०७२ माघमा शान्ति मिसनका लागि सुडान पुगेकी थिइन् । सुडानमा रहँदा आफूले देखेको त्यहाँको अबस्था बताउँदै उनले भनिन्– ‘उँट पाल्ने र चारवटीसम्म श्रीमती ल्याउनेलाई सुडानीले उच्च दर्जामा राख्दा रहेछन् ।’ द्वन्द्वग्रस्त मुलुक सुडानमा भएको गृहयुद्धका क्रममा अधिकांश पुरुषको मृत्यु भएपछि सरकारले नै चारवटीसम्म श्रीमती भित्र्याउन वैधानिकता प्रदान गरेको रहेछ– उनले भनिन् ।
आफू मिसनमा रहेको बेला देखेको र भोगेको अनुभव सुनाउँदै अनीता भन्छिन्– हामी त स्वर्गमा रहेछौं, भोकमरीकै कारण सुडानीहरु एक आपसमा द्वन्द्व गर्दा रहेछन् । युद्धका कारण अधिकांश पुरुषको मृत्यु भएपछि सुडानमा महिलाको संख्या अधिक छ– अनीताले थपिन्– चारबटी श्रीमती ल्याएपनि पुरुषले कमाएर खुवाउनुपर्दैन, त्यहाँ महिला आफैंले कमाएर पुरुषलाई खुवाउँछन् । पुरुष भने दिनभरि तास र कौडा खेलेर समय बिताउने गर्दा रहेछन् । डिन्का र निउरका जनताबीच भएको जातीय द्वन्द्वका कारण सुडानमा युद्ध भएको थियो । सन् २०११मा सुडानबाट छुट्टिएर स्वतन्त्र बनेको दुई बर्षसम्म शान्त रहेको दक्षिण सुडानमा त्यसको दुई बर्षपछि आपत आइलाग्यो । सुडानको जोङलई राज्यमा २०१३ को डिसेम्बर १३मा आक्रमण भयो । आक्रमण लउ नुयरद्वारा गरिएको थियो ।
साउथ सुडानको भूगोल नेपालभन्दा चार गुणा ठूलो भए पनि जनसंख्याको हिसाबले नेपालभन्दा थोरै छ । १९६० भन्दा अघि इजिप्टले आफ्नो अधीनमा लिएर सुडानमा मुस्लिम धर्म लागू गरेपछि त्यसलाई साउथ सुडानले अस्वीकार गरेको थियो । त्यसपछि मुस्लिम धर्मकाविरुद्ध लामो लडाइँ लडेर २०११ मा स्वतन्त्र हुँदा त्यहाँ संयुक्त राष्ट्रसंघले आफ्नो मिसन शुरु गरिसकेको थियो ।
मिसन शुरु भए यता अफ्रिकी महादेशमा पर्ने सुडानमा शान्ति सेनाका लागि नेपालबाट हवाई मार्ग हुँदै झण्डै ६ हजार ३५५ किमी टाढा रहेको सुडानमा नेपालीहरु पुग्ने गरेका छन् । विश्वको कान्छो मुलुकका रुपमा मान्यता पाएको सुडानमा नेपालबाट वर्षेनि एक सय ४० प्रहरी शान्ति मिसनका लागि जाने गरेको बताइन्छ ।

गाईस“ग छोरी साट्ने परम्परा

दक्षिण सुडानमा गाई हुनेलाई सम्पन्न मानिन्छ सबैभन्दा धेरै गाई हुने व्यक्ति सर्वाधिक धनी मानिन्छन्् । गौधन हात पार्न अविवाहित युवापुस्ता एकअर्कालाई मार्न र मर्न समेत नहिच्किचाउँदा रहेछन्– अनिताले भनिन्– ‘विवाहमा दर्जनौ गाईको लस्कर लगाएर हतियार पड्काउँदै लैजाने परम्परा नै रहेछ त्यहाँ ।
विवाह हुँदा दाइजोका रुपमा गाई नै दिने प्रचलन छ । मुलुकका अधिकांश युवासँग एके–४७ जस्ता हतियार हुन्छन्, त्यहाँका नागरिकसँग हतियार हुनु सामान्य हो । दक्षिण सुडानमा धेरै पढेकी, नोकरी भएकी र सुन्दर कन्याका लागि धेरै गाई दिनुपर्ने प्रचलन रहेको बताइन्छ ।

मागेर खाने बानी

शान्ति मिसन दक्षिण सुडान(अनमिसमा)मा खटिएका सेनालाई गाउँमा गस्तीमा जाँदा खाद्यान्न बाँड्ने अनुमति छैन । तर, दयालु स्वभावका नेपाली सेना भने आफ्ना लागि बोकेको खाद्यान्न समेत बेला–बेला बाँड्ने गर्छन् ।
‘भोकले छट्पाइरहेको देख्दा नियमभन्दा भावनाले जित्दोरहेछ अनि बाँड्न बाध्य भइन्छ’– अनमिसनमा रहेर फर्किएकी अनीताले भनिन् । नागरिकहरु विश्व खाद्य कार्यक्रमले दिएको चामलबाट जीविका चलाइरहेका छन् । उनीहरुका काम गर्नुपर्छ भन्ने भावनाको विकास नभएको पाएको अनिताले बताइन् ।

उर्वर माटो खेतीपाती छैन

दक्षिण सुडानको माटो निकै उर्बर रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले आफ्नो क्याम्पभित्र लगाएका तरकारी, फुल–फूलले पनि त्यसको पुष्टि गर्ने गरेको छ । तर, त्यहाँका मानिसमा खेतीपाती गर्ने बानी नै छैन् । कतै–कतै साना झुप्राबस्तीको अगाडि मकै लगाइएको हुन्छ तर बस्ती खाली देखिन्थ्यो– अनीताले भनिन्– केहीले जुनार, बदाम रोप्ने गर्दा रहेछन् । त्यो पनि महिलाले मात्रै, पुरुषले त काम गरेको देखिएन्– अनीताले भनिन् । १२–१३ बर्षका बालवालिका पनि विना लुगा खेलिरहेका भेटिन्छन् । असुरक्षा र द्वन्द्वकै कारण कृषि कार्यहरु प्रभावित हुँदा भोकमरी र गरिवी अझै पनि बढ्दो छ ।

प्रशस्त पेट्रोल खानी

दक्षिण सुडानसँग तेलका खानी प्रशस्त रहेका छन् । प्राकृतिक रूपमा त्यो मुलुक सम्पन्न मानिन्छ । तेलको खानी रहेको दक्षिण क्षेत्रमा अलग राज्यका लागि लामो समय लडाइँ चल्यो । त्यही लडाईले २०११ जुलाई ९ तारिखमा दक्षिण सुडान स्वतन्त्र मुलुक बन्यो र संसारकै कान्छो मुलुकका रुपमा चिनियो ।
पानी निकाल्न ट्युवेल खन्दासमेत तेल निस्किने अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । तेल बेचेरमात्रै पनि संसारको धनी बन्नसक्ने दक्षिण सुडान आज संसारको खराब र गरीव देशमा पर्छ । त्यही प्राकृतिक स्रोतसँग शक्ति राष्ट्र भारत, अमेरिका र चीन पनि नजिकिएका बताइन्छ ।

को हुन् अनीता ?

मोरङ्गको कोशी हरैंचा घर भएकी अनीता आचार्य जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत छिन् । २०५९ सालमा प्रहरी जवानबाट उनले नेपाल प्रहरीको रुपमा राष्ट्रको सेवा गर्न थालिन् । २०७२ सालमा शान्ति मिसनका लागि सुडान पुगेकी अनीताले सुडान यस्तो होला भनेर कल्पना समेत नगरेको बताइन् ।
२०७३ फागुनमा नेपाल फर्किएकी अनीताले सुडानमा नेपालीलाई उच्च प्राथमिकता दिने गरेको बताइन् । मुस्लिम देश भए पनि नेपालीलाई त्यहाँका नागरिकले राम्रो दृष्टिकोणले हेर्ने गरेको उनले बताइन् । शान्ति मिसनमा खटिएको नेपालले आफ्नो देशको कौशल र क्षमता प्रर्दशन गरेर प्रशंसा पाएको अनीताको अनुभव छ । उनले मरुभूमि जस्तो सुडान भन्दा नेपाल प्रकृति रुपले नै स्वर्ग रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com