दश माऊ गाई, दूध बेच्न भ्याई नभ्याई, गाउँमै लाख कमाई

 

सुरेन्द्र भण्डारी
राजगढ, साउन । १५ वर्ष अगाडि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मे–हम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् वाह्रदशी गाउँपालिका –३ राजगढका तुलसीप्रसाद ढकाल ।


आर्थिक अबस्था कमजोर भएका कारण मेची बहुमुखी क्याम्पस भद्रपुरमा ‘सीएल’ पढ्दापढ्दै धन कमाउने मनसाय बोकेका ढकालले अन्ततः विदेश जाने निर्णय गरे । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उनले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुगे । चार वर्षसम्म मलेसियामा ‘फ्याक्ट्री वर्कर’ को काम गरेका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउँथे । विदेशमा कडा मेहनत र परिश्रम गर्दा समेत सोचे जस्तो आम्दानी गर्न नसकेपछि कम्पनीले आउने–जाने प्लेन टिकट दिए पनि उनी विदेश फर्किएनन् । उनले नेपालमै बसेर पशुपालन गर्ने सोच बनाए र २०६५ सालबाट व्यवसायिक पशुपालन शुरु गरे ।
दुई माऊ गाई र दुई माऊ लैनो भैंसी पाल्दै पशुपालन व्यवसाय शुरु गरेका ढकालको गोठमा अहिले १० माऊ उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक खर्च कटाएर झण्डै एक लाख रुपैयाँ बचत गर्दै आएका छन् । दैनिक एक सय लिटर दूध बेच्दा उनी दिनहुँ चार हजार पाँच सय आम्दानी गर्छन् । विदेशमा आफूले चार वर्षसम्म गरेको दुःख सम्झँदै ढकाल भन्छन्– ‘अहिले घरमै बसेर गाईपालन व्यवसाय गरिरहेको छु, विदेशमा जस्तो दुःख गर्नु पनि पर्दैन कमाई पनि यहीँ धेरै हुन्छ ।’
होलस्टेन, व्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आएका ढकालले आफ्नो फर्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आएका छन् । हिमाल, अञ्जनी र तुलसीका नामबाट ढकालले ‘हिमअतुल’ गाई फर्म दर्ता गरेर गाईपालन शुरु गरेपछि छरछिमेकले समेत उनकै सिको गर्दै अहिले उन्नत जातका गाईपालन गर्दै आएका छन् । ढकालले पालेको एक माऊ गाईले २२ लिटरसम्म दूध दिने गरेको बताइन्छ ।

भैंसी भन्दा गाई पाल्न सजिलो

दुई÷दुई माऊ गाई र भैंसीबाट पशुपालन व्यवसाय शुरु गरेका ढकालले अहिले गाई मात्रै पालेका छन् । गाई वर्षेनि व्याउँछन् तर भंैसी लामो समयसम्म थारै बस्छन्– ढकालले भने– ‘यसले हामी जस्ता सामान्य कृषकलाई फाइदा गर्दैन ।’
उही स्याहार चाकरमा गाईले धेरै दूध दिन्छ तर भंैसीले कम दूध दिँदा कृषकलाई सोचे अनुरुपको नाफा हुँदैन– ढकाल भन्छन्–‘ भैसी भन्दा गाईबाट बढी नाफा हुने भएपछि मैले भंैसी पाल्न छाडेको हुँ, पाल्न पनि भैंसी भन्दा गाई धेरै सजिलो हुँदोरहेछ ।’

फोटो हेरेर गाई किन“े

पशुपालन व्यवसायका लागि नेपालका कृषकभन्दा भारतका कृषक धेरै अगाडि छन्– ढकालले भने –‘नेपालमा उन्नत जातका गाई अहिलेसम्म छैनन्, हामीले भारतकै भर पर्नुपर्छ , मैले पनि इन्टरनेटको सहायताबाट गाईको फोटो हेरेर भारतको मुज्ज्फरपुर जिल्लाबाट गाई किनेर ल्याएको हुँ ।’
भारतीय रुपैयाँ ८० हजारदेखि ९० हजारसम्मका उन्नत जातका गाई छन् मेरो फर्ममा उनले भने– ‘कोही भन्दा कोही कम छैनन् दूध दिनका लागि ।’

अनुभवले नै डाक्टर बनायो ढकाललाई

पशु विशेषज्ञताको ‘सर्टिफिकेट’ छैन ढकालसँग तर, उनमा कुनै पशु चिकित्सकको भन्दा कम ज्ञान छैन । कामले नै मानिसलाई जान्ने बनाउँदो रहेछ– ढकालले भने– ‘शुरुमा चिकित्सकले गरेको देखेर सानोतिनो विराम लाग्दा आफैंले उपचार गर्न थालेपछि अहिले गाई बिरामी भई हाले हत्तपत्त चिकित्सक बोलाउनु पर्दैन ।’
दिनहुँ बिहान बेलुकै गाईसँगै रमाउने भएकाले गाईको मनोविज्ञान बुझ्न मलाई समस्या छैन– उनले भने– ‘कुनै गाईलाई असहज भए के भयो भनेर तत्काल पत्ता लगाएर औषधि गर्न सक्छु ।’ गाईपालन सम्बन्धी तालिम लिएको र पशुपालन सम्वन्धिका पुस्तक, पत्रपत्रिका अध्ययन गर्ने वानीले पनि धेरै सिकिँदोरहेछ, कतिपय विराम त लक्षण अनुसार किताब पढेर पनि उपचार गर्छु– उनले भने ।
गाईवस्तुको राम्रो प्राथमिक उपचार गर्न सक्ने र आफ्ना बस्तु बिरामी भए आफैं दवाई पानी गरेर निको पारेपछि छरछिमेकमा कसैका बस्तु बिरामी भए आफ्नै श्रीमानलाई बोलाउने गरेको ढकालकी श्रीमती दुर्गाले बताइन् । उनले भनिन्– शुरु–शुरुमा त डर लाग्थ्यो तर वस्तु निको हुन थालेपछि सबैले बोलाउँछन्, सबैकोमा जानु हुन्छ ।’

घा“स खानेलाई दानाले मात्र हु“दैन

एउटा स्वस्थ्य पशुलाई दैनिक २५ देखि २८ प्रतिशतसम्म प्रोर्टिन आवश्यक पर्छ । शहरमा दानापानी र परालको भरमा पशुपालन व्यवसाय गरिँदै आएको छ । अहिले शहरका धेरै पशुपालक कृषकहरु पलायन हुन थालेका छन् । यसको मुख्य कारण भनेको घाँस खाने गाईलाई दानापानीले मात्र हुँदैन– ढकाल प्रश्न गर्छन्– ‘घाँस खाने जातलाई पराल र दानापानी मात्र दिएर कसरी राम्रो दूघ उत्पादन गर्न सकिन्छ ?’
परालमा ५ प्रतिशत मात्र प्रोटिन पाइने बताउँदै उनले भने– गोवरमा समेत प्रोटिनको मात्रा ५ प्रतिशत हुन्छ । ढकालले भने– ‘पराल खाएको र नखाएको उस्तो हो, त्यसैले परालभन्दा पशुलाई घाँस नै दिनु राम्रो हुन्छ ।’ गाउँमा घाँस प्रशस्त पाइने भएकाले थोरै लागतले पनि राम्रो उत्पादन लिन सकिने ढकालको भनाइ छ । ढकालले गाईका लागि टीओसेन्टी, स्टाइलो, नेपियो जातका घाँस लगाएका छन् । ढकालका अनुसार टीओसेन्टी घाँसमा १८ प्रतिशत, स्टाइलोमा २८ देखि ३० प्रतिशत र नेपियोमा २० प्रतिशतसम्म प्रोटिन पाइने भएकाले गाईले मनग्य दूध दिन्छ ।

साइलेज प्रविधिले फाइदा

गाईलाई बाह्रै महिना हरियो घाँस चाहिन्छ । गाई बनमा घाँस खाएर बनमै रमाउने जात हो । वनमा रमाउने जातलाई घरपालुवा बनाउँदै हामीले गाईको बानी बिगारेका छौं– ढकाल भन्छन्– ‘साइलेज प्रविधि अपनाएर घाँस राख्यो भने ४५ दिनपछि वस्तुलाई त्यो घाँस दिन उपयुक्त हुन्छ ।’ घाँस सञ्चित गरेर राख्ने प्रविधिलाई साइलेज भनिन्छ । साइलेज प्रविधिबाट उत्पादन हुने घाँसमा १८देखि २५ प्रतिशतसम्म प्रोटिन हुने उनी बताउँछन् । यसरी घाँस सञ्चित गरेर राखे पशुपालक कृषकलाई धेरै फाइदा हुने उनको भनाइ छ ।

बाच्छी पाए रमाउ“छन् ढकाल

पशुपालक कृषकका लागि आफूले पालेको गाईले बाच्छा पाए केही समय अघिसम्म निक्कै फाइदाजनक मानिन्थ्यो । त्यसमा पनि लोकल गाईको बहर जोत्नका लागि खोजी खोजी किन्ने चलन नै थियो । प्रविधिको विकाससँगै मानिसले हलो जोत्न छाडेर ट्याक्टरको प्रयोग गर्न थालेपछि बाच्छाको मूल्य एकाएक ओरालो लाग्यो । त्यसमा पनि उन्नत जातका वाच्छा त बिक्नै छाडेपछि कृषक निराश हुन थाले । ढकाल पनि अन्य किसान भन्दा अछुतो रहेनन् यो निराशा प्रति । उनले पालेका उन्नत जातका गाईले अहिले बाच्छा भन्दा बाच्छी पाए उनी पनि खुशी हुन्छन् । बाच्छा बिक्तै नबिक्ने समस्या छ– ढकाल भन्छन्– बाच्छी दूध छोडिनसक्दा ३०–३५ हजारमा बिक्छ ।’ बाच्छी २० महिनामा माउ गाई हुन्छ ढकाल भन्छन्– ‘माउ गाई नबिक्दा पनि सवा लाखदेखि डेढ लाखसम्ममा बिक्छन् ।’
ढकाल व्यवसायिक पशुपालन गर्ने अगुवा कृषक हुन् राजगढका लागि– स्थानीय शिक्षक लक्ष्मीप्रसाद दाहाल भन्छन्– ‘पशुपाल्न पनि मुटु चाहिँदो रहेछ । ढकालले फोटो हेरेर लाख डेढ लाखमा गाई किनेको देख्दा शुरुमा मलाई नै डर लाग्यो अहिले गाउँमै लोभलाग्दो फर्म बनाए उनले ।’
गाई पालनबाट मनग्य आम्दानी गर्न थालेपछि अहिले ढकालकै सिको गर्दै स्थानीय प्रेमराज चापागाँई, महेन्द्र पोखरेल, पुण्यप्रसाद चापागाईले पनि व्यवसायिक गाई पालन शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com