बाह्रदशीको बजेट ३१ करोड

चकचकी, बाह्रदशी गाउँपालिकाले ३१ करोड एक लाख ५९ हजार एक सय ८० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
संघीय सरकारबाट २८ करोड ३४ हजार ३० रुपैयाँ अनुदान प्राप्त भएको बजेट सार्वजनिक समारोहमा जानकारी गराइएको थियो । गाउँपालिकाले बजेटमार्फत यस बर्ष पनि उज्यालो बाह्रदशीलाई निरन्तरता दिएको छ । जसका लागि यस बर्ष एक करोड रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष राजवंशीले जानकारी दिए । त्यस्तै राजगढ नयाँ बजार रिङरोड कालोपत्रेका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ । गाउँपालिकाले कृषि तथा पशुका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अन्तर्गत शितभण्डार गृह ५ वटा निर्माण गरिने, दूध चिस्यान केन्द्र ८ वटा सञ्चालन गरिने भएको छ । बाह्रदशी डाँडा धार्मिक तथा पर्यटकीय क्षेत्र प्रबद्र्धनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।


त्यस्तै शिक्षाका लागि पनि गाउँपालिकाले यस बर्ष एक करोड रुपैयाँ बजेट छुट्याएको छ । स्वास्थ्य क्षेत्रका लागि ५८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । खेलकुदका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ भने वनका लागि सात लाख रुपैयाँ, लक्षित वर्गका लागि लाख १८ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यसैगरी पिछडावर्गका लागि दुई लाख ५० हजार रुपैयाँ, सन्थाल सामुदायका लागि दुई लाख ५० हजार, महिलाका लागि १४ लाख, ज्येष्ठ नागरिकका लागि ६ लाख, अपाङ्गका लागि ४ लाख, बालबालिका लागि तीन लाख ५० हजार, दलितका लागि सात लाख, मठमन्दिरका लागि सात लाख र गाउँपालिका स्तरीय भौतिक पूर्वाधार योजना तथा कार्यक्रमका लागि दुई करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन भएको बताइन्छ । वडा नं. १को वडा स्तरीय योजना तथा कार्यक्रमका लागि ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ । त्यस्तै वडा नं. २का लागि ८४ लाख, ३ का लागि ९० लाख ५० हजार, ४का लागि ८२ लाख, ५का लागि एक करोड १५ लाख, ६का लागि ९० लाख र ७का लागि ८लाख रुपैयाँ बजेट वियोजन भएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए ।
जिल्ला समन्वय समिति झापाका सदस्य महेशलाल राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रत्नाकुमारी राजवंशीले गरेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रेसका बाह्रदशी गाउँ सभापति ओमप्रकाश गौतम, आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत वान्तवा राई, ज्येष्ठ नागरिक बाह्रदशी गाउँपालिका उपाध्यक्ष धर्मानन्द गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन बाह्रदशी गाउँपालिका वडा नं. १का अध्यक्ष शम्भूसिंह राजवंशीले गरेको गाउँपालिकाका कर्मचारी तेजप्रसाद रेग्मीले जानकारी दिए ।
बाह्रदशी गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६का लागि सार्वजनिक गरेको बार्षिक बजेट नीति योजना तथा कार्यक्रममाथि पदाधिकारीले नै आपत्ति जनाउँदै त्यसको विरोध गरेका छन् ।
गाउँपालिकाका २१ जना सदस्यले बार्षिक बजेटप्रति असहमति जनाउँदै बिरोध गरेका हुन् । उनीहरुले लिखित रुपमा हस्ताक्षर गर्दै असहमतिसहितको ज्ञापन–पत्र गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई बुझाएका छन् । बजेट सार्वजनिक गर्नुअघि भएको गाउँसभामा आफूहरुले दिएको सुझावलाई टिपोट गरिए पनि संशोधन नगरिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।
आफूहरुको माग सुनुवाई नगरी बजेट सार्वजनिक गर्न समेत ढिलासुस्ती गरेको उनीहरुको आरोप छ । विरोध जनाउने जनप्रतिनिधिहरुमा जीवनाथ खरेल, पूर्णबहादुर थापा, रामप्रसाद सापकोटा, प्रेमबहादुर घिमिरे, सुकुल मुर्मू, पुण्यप्रसाद पाठक, जीवनाथ अधिकारी, राजेन्द्रलाल साह, साहवीर आलाम, फेदुलाल राजवंशी, सौरुर मियाँ, लक्ष्मी अधिकारी, सुजाता सुन्दास, तारादेवी कार्की, उल्फोहोरिजन माझी, नरीमाया खत्री, मयुद्दिन मियाँ, सम्झना विक, जानकी राजवंशी, तारादेवी महरा, सुखमाया विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com