राजगढ पुग्दा छक्क पर्यो ‘जय भोले’को टिम

झापा, दक्षिणी झापाको पुरानो वजार राजगढमा विजया दशमीबाट मात्रै सञ्चालनमा आएको एभरेष्ट डिजिटल सिनेमा हलमा पुगेको जय भोलेको टिम आइतवार साँझ दर्शक देखेर चकित परेको छ ।
चलचित्र रिलिज भएको दोस्रो हप्तामा पनि ग्रामीण क्षेत्रमा चलचित्रका दर्शक नघटेको भन्दै आश्र्चयमा परेको हलका सञ्चालक चान महम्मदले जानकारी दिए । जय भोलेको टिम साँझ ६ वजे राजगढ पुगेको थियो । ग्रामीण वजारमा पनि यतिठूलो सिनेमा हल भन्दै चलचित्रका निर्देशक अशोक शर्माले आश्चय मान्दै भने – दर्शकको चाप हेर्दा काठमाडौंको सिनेमा हलकै झल्को आयो ।


चलचित्रकर्मीको टिम राजगढ पुग्दा स्थानीयले उनीहरुलाई फूलमालाले स्वागत गरेका थिए । राजगढमा सञ्चालित एभरेष्ट डिजिटल सिनेमा हलमा जयभोलेको टिमसंग झण्डै तीन सय दर्शकले चलचित्र हेरेर मनोरन्जन लिएका थिए ।
यसैबीच असोज ३० फूलपातीबाट रिलिज भएको चलचित्र जय भोलेको टिम झापाका विभिन्न हलहरुमा पुगेको छ ।
निर्माता निर्देशक अशोक शर्मा, लेखक खगेन्द्र लामिछाने, कलाकार बुद्धी तामाङ र लक्ष्मी गिरी लगायत कलाकारको टिम झापाका हलहरुमा पुगेर फिल्म बारे दर्शकसँग प्रतिक्रिया लिनुका साथै सञ्चारकर्मीसँग अन्र्तरक्रिया समेत गरेको छ ।
आइतबार बिर्तामोडमा रहेको कृष्ण टाकिज, त्यस्तै झापामा नै पहिलो नवनिर्मित क्युएफएक्स सिनेहल र पाथीभरा सिने प्लाजा, राजगढमा रहेको एभरेष्ट डिजिटल सिनेमा हलमा पुगेर दर्शक सँगै सिनेमा हेर्दै चलचित्रका बारेमा प्रतिकृया लिएका थिए । संचारकर्मीग कुरा गर्दै निर्माता निर्देशक अशोक शर्माले अघिल्लो साता अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ले दोस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेकोमा खुसी व्यक्त गरे । चलचित्र ‘जय भोलेले दोस्रो साता सम्म ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको व्यवसाय गर्न सफल भएको र चलचित्रले पहिलो र दोस्रो साताझै तेस्रो साता पनि राम्रो व्यवसाय गर्ने निर्माता निर्देशक शर्माले बताएका छन् । साथै उनले घोषणा गरेको नयाँ चलचित्र रातो टिका निधारमा’ फागुनबाट फ्लोरमा निस्किने समेत जानकारी दिएका छन् ।
त्यस्तै चलचित्रका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले आफुले पहिला अभिनय गरेका चलचित्र भन्दा चलचित्र ‘जय भोलेले व्यवसायीक रुपमा राम्रो सफलता पाएको बताएका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्दि तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरवीर पण्डितलगायत मुख्य भूमिकामा रहेका छन् । चलचित्रको अधिकाशं दृश्य झापाको अर्जुनधारमा छायाँकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com