समुदाय–प्रहरी साझेदारी अभियान सुरु

११ कार्तिक २०७५, आईतवार मा प्रकाशित

(पार्थ मण्डल) भद्रपुर । झापा लगागत देशभर नेपाल प्रहरीले आजदेखि समुदाय–प्रहरी साझेदारी अभियान सुरु गरेको छ ।

नेपाल प्रहरी संगठनको “हर प्रहार, गाउँ र नगरी ! टोल टोलमा नेपाल प्रहरी !!” भन्ने मुल नाका साथ जिल्ला प्रहरी कार्यालय झापाले झापाको सदरमुकाम भद्रपुरमा एक भव्य समारोहका बीच समुदाय–प्रहरी साझेदारी अभियानको उद्घाटन गर्दै शुभआराम्भ गरेका हुन् ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले गमलामा रहेको फुलको बोटमा पानी हाल्र्दै समुदाय–प्रहरी साझेदारी अभियानको उद्घाटन गरेका थिए ।

प्रहरी संगठनले जारी गरेको अवधारणा पत्रमा झापाका स्थानीय तह मध्येबाट अर्जुनधारा नगरपालिका प्रमुख हरि राणा, बाह्दशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजबंशी, कचनकवल गाउँपालिका अध्यक्ष अञ्जार आलमले हस्ताक्षर गर्दै प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाललाई सो पत्र हस्तान्तरण गर्दै अभियान प्रति सामूहिक प्रतिवद्धता जनाएका थिए ।

नेपाल प्रहरी संगठनले २०३९ सालमा जनताको लागि घरदैलो अभियान सुरु गर्दै सामुदायिक प्रहरी सेवा केन्द्र, प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी लगायतका अभियान समुदायमा लागु गरिसकेको झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । प्रहरीले ती कार्यक्रमहरु लागु गरेपनि संस्थागत हुन नसक्दा त्यसले निरन्तरता नपाएको बताउँर्दै प्रहरी उपरीक्षक ढकालले भने, ‘जनप्रतिनिधि आएपछि यस अभियान संस्थागत हुर्दै निरन्तरता पाउनेछ ।’

जनता लक्षित समुदायमा आधारित यस कार्यक्रमले शान्ति सुरक्षाको प्रत्याभुति गराउँन सहयोग पुर्याउने उनले बताए । यस कार्यक्रममा स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था, विद्यालय समावेश गरिएको उनको भनाई छ ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षता तथा समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यता भएको उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाई, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, नेकपाका घनश्याम अधिकारी, नेपाली काँग्रेसका गणेश पोखरेल, राप्रपाका बाबुराम पराजुली, एकल महिला समूहकी केन्द्रीय सचिव रेखा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

झापाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न संघसस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रहरी कर्मचारी, निजामति कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here