सुरुङ्गा प्रेस क्लबलाई ५१ हजार रुपैयाँ सहयोग

 

सुरुङ्गा,  अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष समेत रहेका कनकाई नगरका समाजसेवी व्यक्तित्व दिनेशकुमार पोखरेलले कनकाई सुरुङ्गा प्रेस क्लबलाई ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
कनकाई सुरुङ्गा प्रेस क्लबद्वारा स्थापित पत्रकार अक्षयकोषका लागि पोखरेलले उक्त सहयोग गरेका हुन् । आइतबार आयोजित एक विशेष कार्यक्रममा पोखरेलले उक्त रकम नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलालाई हस्तान्तरण गरे ।
सो अवसरमा पोखरेलले आम नागरिकहरु प्रेसले सम्प्रेषण गरेका कुराका आधारमा आफ्ना धारणा बनाउने भएकाले पत्रकारले जिम्मेवारीका साथ समाचार तथा अन्य सामग्री सम्पे्रषण गर्नुपर्ने बताए । झापाका सञ्चारकर्मीहरुसँग आफू निकटमा रहेर काम गरिरहेको सन्दर्भ कोट्याउँदै उनले सञ्चारकर्मीको कलममा धेरै ठूलो शक्ति रहेकोमा जोड दिए ।
सो अवसरमा पोखरेललाई क्लबको तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष गिरीले विधिसम्मत ढंगले अक्षयकोष सञ्चालन गर्न सुझाए । उनले कनकाई सुरुङ्गा प्रेस क्लबलाई पेशागत विकासका लागि पत्रकार महासंघका तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।
क्लबका संस्थापक अध्यक्ष एवम् पत्रकार अक्षयकोषका संयोजक तीर्थराज खरेलले औचित्यसहित स्वागत मन्तव्य राखेको कार्यक्रममा कनकाई नगरपालिका वार्ड नं. ३का अध्यक्ष रुद्रप्रसाद चिमरिया, प्रेस क्लबका सल्लाहकार संयोजक सूर्य उप्रेती, कनकाई उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा क्लबका सल्लाहकारहरु टीकाप्रसाद कट्टेल, चम्पा सुबेदी, ख्यामप्रसाद ओली, कनकाई छठ सेवा समाजका अध्यक्ष पवन शाह, महासचिव खगेन्द्र महतो, सुकेडाँगी वन समूहका अध्यक्ष भक्तबहादुर पौडेल, प्रजापति वन समूहका अध्यक्ष सूर्यकुमार थापा, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट रमेश खतिवडा, सुरुङ्गा सहकार्य युवा क्लबका अध्यक्ष सुदीप भण्डारी लगायतको आतिथ्य रहेको थियो । क्लबका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com