डेंगुले तीनको ज्यान लियो

मेचीनगर, वितेको ६ वर्षमा डेंगु रोगका कारण झापा जिल्लामा तीनजनाको ज्यान गएको छ ।
झापाका मेचीनगर, बिर्तामोड, दमक नगरपालिका डेंगुको उच्च जोखिममा रहेका छन् । डेंगु रोकथामको पूर्व तयारीमा आइतबार मेचीनगर नगरपालिकाको सभाकक्षमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको डेंगु रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसँगको नगरपालिका स्तरीय एकदिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य अधिकारीहरुले प्रस्तुत गरेको तथ्याङ्कमा सन् २०१२देखि २०१७ सम्म आइपुग्दा जिल्लामा डेंगुका कारण उनीहरुको ज्यान गएको उल्लेख छ ।
झापामा सन् २०१२मा ७७, २०१३ मा २ सय २ , २०१४मा १३ , २०१५मा ८ जना डेंगुका रोगी फेला परेका थिए । सन् २०१५मा झापामा २ जनाको मृत्यु भएको थियो । सन् २०१६मा ४ सय २० र सन् २०१७मा ५ सय ३५ जना डेंगुका रोगी फेला परेको र त्यो वर्ष १ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर सुपरभाईजर जीवन चौलागाईँले जानकारी दिए ।
भेक्टर कन्ट्रोलर सुपरभाईजर जीवन चौलागाईँले झापा जिल्लामा सन् २०१२मा झापा जिल्लाको मेचीनगर नगरपालिकाक्षेत्रबाट पहिलो पटक डेंगुका रोगी फेला परेको जानकारी दिए । त्यसवेला नगरमा ७७ जना डेंगुका रोगी फेला परेको उनले जानकारी दिए । अहिले पनि मेचीनगरका ३, ७, ८ र १० नम्बर वडा डेंगुको उच्च जोखिममा रहेको बताइएको छ ।
एक्कासी उच्च ज्वरो आउनु, ज्वरो ५देखि ७ दिनसम्म रहनु, आसाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नेलगयात डेंगु ज्वरोको मुख्य लक्षण रहेको चौलागाईँले प्रष्ट पारे । उनले यो रोगबाट बच्ने उपाय यसका जोखिमका बारेमा समेत सहभागी सवैलाई प्रष्ट पारे ।
उपप्रमुख मीना पोखरेल उप्रेतीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा उपप्रमुख उप्रेतीले डेंगु रोग नियन्त्रणमा सवैक्षेत्र लाग्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले सवै जनप्रतिनिधिहरुलाई आफ्नो वडामा गाउँ गाउँमा यसबारेमा शिक्षा प्रदान गर्न र चेतना फैलाउन आग्रह गरे । कार्यक्रममा जनप्रतिनिधिसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com