बिर्तामोड नगरपालिकाद्धारा ट्राफिकलाई जग्गा प्रदान

 

[नरेन्द्र ढकाल]

बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई बिर्तामोड नगरपालिकाले जग्गा उपलब्ध गराएको छ । मुक्तिचोक स्थित सडक छेउमा रहेको ट्राफिक प्रहरीको अधिकांश जग्गा सडकमा पर्ने र भवन समेत जिर्ण बन्दै गएपछि नगरपालिकाले बिर्ताबजार नजिकैको खाली जग्गा उपलब्ध गराएको हो ।

जग्गा अभावमा ट्राफिक प्रहरीलाई सुत्न तथा आगन्तुक पाहुनलाई राख्ने भवन निर्माण गर्न असहज भइरहेका बेला बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा(प्रसाईं) र प्रमुख प्रशासकिय अधिकृत पशुपति खतिवडाको विशेष पहलमा ट्राफिक प्रहरीलाई जग्गा उपलब्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

उनले भने–हाम्रो समस्या बिर्तामोडमा मेयर साब र प्रशासकिय अधिकृत ज्यूले बुझिदिनुभयो । जग्गा उपलब्ध भएपनि अब भवन कसरी निर्माण गर्ने भन्ने विषय जटिल भएको ट्राफिक प्रहरी निरीक्षक राईको भनाई छ ।

बिर्तामोड नगरपालिका–३ मा प्रहरी प्रधान कार्यालयले तोके बमोजिम जग्गा उपलब्ध गराउन बिर्तामोड नगरपालिका सहमत भएको हो । मापण्ड अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयका लागि ५ कठ्ठा जग्गा आवश्यक पर्छ । जग्गा उपलब्ध भएसंगै ट्राफिक प्रहरीले झापाका स्थानीय निकाय तथा समाजसेवीहरुलाई भवन निर्माणमा आर्थिक सहयोग माग्ने प्रहरी निरीक्षक राईले बताए । दैनिक सवारी चाप बढ्दै गएपछि ट्राफिक प्रहरी मध्यरात सम्म सडकमा खटिनुपर्ने बाध्यता रहेको भन्दै ट्राफिक प्रहरी निरीक्षक राईले भने–बिहानदेखि बेलुकासम्मको डिट्युटी त छदैं छ, राम्रोसंग सुत्ने भवनपनि नहुदाँ ट्राफिक प्रहरीलाई समस्या छ । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएर बिर्तामोड नगरपालिकाले सबैभन्दा ठूलो सहयोग गरेको बताए ।

दुर्घटना न्यूनिकरणका लागि हरेक स्थानीय तहको पनि महत्वपूर्ण भूमिका रहने भएकाले ट्राफिक प्रहरीको भवन निर्माणमा पनि सबै स्थानीय तहको सहयोग मिल्नेमा ट्राफिक प्रहरी निरीक्षक राई ढुक्क रहेका छन् ।

हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रहेको जग्गा राजन पोख्रेलका मातापिता शेरबहादुर पोख्रेल र कृष्णकुमारी पोख्रेलले निःशुल्क रुपमा जग्गा प्रदान गरेका थिए । एक कठ्ठा साढे ४ धुर जग्गा मध्ये अधिकांश भाग सडकमा पर्ने भएपछि ट्राफिक प्रहरीलाई जग्गाको अभाव भएको थियो । हाल जिल्ला ट्राफिक रहेको जग्गामा सडकको भाग कटाएर १० धुर जग्गा मात्र बच्ने भन्दै अगाडिको भवनसमेत सडकमा परेकाले समस्या भइरहेको र नगरपालिकाले जग्गा उपलब्ध गराएकाले मेयर, उपमेयर तथा प्रशासकिय अधिकृतले आफुहरुलाई ठूलो गुन लगाएको प्रहरी निरीक्षक राईको भनाई छ ।

नगरपालिकाको २०७५ असार १० गते सम्पन्न दोश्रो नगरसभाको २९ नम्बर निर्णयमा जिल्ला ट्राफिक प्रहरीलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार २०७५ काक्तिक २९ गते नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा बसेको बैठकले मापदण्ड अनुसार आवश्यक जग्गा उपलब्ध गराउने अन्तिम निर्णय गर्दै मंसीर २ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई पत्र पठाएको प्रहरी निरीक्षक राईले जानकारी दिए ।

हाल रहेको भवन २०७२ सालमा गएको भूकम्पका कारण जिर्णबन्दै गएको तथा जिल्ला मातहतमा रहेका २२ जना ट्राफिक प्रहरीलाई सुत्न पालोकुर्नुपर्ने अवश्था रहेको जनाइएको छ । हाल ५ वटा कोठा, एक–एक वटा अफिस र ब्यारेक रहेका छन् । मुक्ति चोकमा निमार्ण गरिएको भवनको उद्घाटन २०५७ माघ ११ गते गरिएको थियो ।

झापा जिल्ला अन्र्तगत पूर्व–पश्चिम राजमार्गको ५५ किलोमिटर क्षेत्रफलका साथै मेची राजमार्ग तथा अन्य सहायक राजमार्गहरुमा समेत ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिदैं आएको छ । जिल्लामा ७० जना ट्राफिक प्रहरीमा रहेको तथा सडकमा दिनानुदिन सवारीको चाप बढ्दै गएकाले समस्या सिर्जना भएको ट्राफिक प्रहरी निरीक्षक राईको भनाई छ ।

झापाबाटै दुर्घटना न्यूनिकरण महाअभियान शुरु भएको तथा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले राडार गन, ब्रेथलाइजर लगायतका महत्वपूर्ण सामग्री प्रदान गरेर ट्राफिक प्रहरीलाई सहयोग गरेको र बिर्तामोड नगरपालिकाले जग्गा प्रदान गरेर ठूलो सहयोग गरेको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

दुर्घटना न्यूनिकरणका साथै सबैको साथ पाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राईले अब भवन निर्माणमा पनि सबैको साथ पाउने आसा ब्यक्त गरेका छन् । उनले चालु आर्थिक वर्षभित्रमा नै भवन निर्माणका लागि शिल्यन्यास गर्ने र छिट्टै सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तिब्रता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com