ग्रामीण हाटबजारमा आकर्षण

दमक, हराउदै गएका पुराना एवम् नयाँ हाटबजारहरु संरक्षण गर्न थालिएसँगै उपभोक्ता एवम् व्यापारीहरुको यसमा आकर्षण बढ्न थालेको छ ।
यस्ता गाउँघरमा लाग्ने हाटबजारमा घरेलु कृषि उत्पादन देखि लिएर घरायसी आवश्यकीय सामग्रीहरु सस्तो हुने भएकाले यसमा उपभोक्ताहरुको आकर्षण हुने गरेको छ ।
पुराना ठाउँहरुको नाम समेत हाटबजारसँग गाँसिएर राख्ने गरेको समेत भेटिन्छ । झापा कमल गाउँपालिका वडा नं. ५ र ६को सीमनामा रहेको मंगलवारे भन्ने ठाउँमा मंगलवार हाट लाग्छ । पहिला मंगलबार यहाँ हाट लागेर नै मंगलवारे भएको र बीचमा हाट बजार नै बन्द भएपछि पहिचान मेटिएको भन्दै स्थानीयले दुई बर्ष अघिदेखि पुनः हाट लगाउन शुरु गरेका छन् ।
मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिहं राईका अनुसार अपरान्हपछि बजारमा खुट्टा समेत राख्न मुस्किल हुने गरीको भीड लाग्ने गरेको छ । बिशेष गरी कृषि उत्पादन एवम् सब्जीका लागि यो बजार प्रख्यात बनेको छ । बजार मूल्यभन्दा सस्तो पाउने भएकाले आसपासका क्षेत्रका बासिन्दाहरु यहाँ आउने गर्छन्– राईले भने ।
बजार व्यवस्थापन एवम् स्तरोन्नतिका लागि गाउँपालिकाले बजेट बिनियोजन गरेको र आउँदा दिनमा यसलाई अझ व्यवस्थित गर्ने योजना रहेको समेत उनले बताए । मानिसलाई घरेलु रुपमा प्रयोग गर्ने लत्ताकपडादेखि लिएर सागसब्जी, फलफूल र अन्न लगायतका सबै प्रकारको सामग्रीहरु बजारमा पाइने गरेको छ ।
यता कमल गाउँपालिकाको वडा नं. ७ गेउरीयामा तीन बर्षअघिदेखि शुक्रबार हाट लगाउन थालिएको छ । पछिल्लो समय गेउरीयाको नाम नै शुक्रबारे बजारको रुपमा चिनिन समेत थालेको छ । स्थानीय बजार व्यवस्थापन समितिका युवराज अधिकारीका अनुसार स्थानीय उत्पादनदेखि लिएर बजारमा पाउने अधिकांश सामग्रीहरु यही उपभोक्ताले पाउने गरेका छन् ।
झापा गौरादहमा हप्तामा दुई दिन हाट लाग्ने गरेको छ । आइतवार र बिहीबार गरेर दुई दिन हाट लाग्ने गरेको जनाइन्छ । परम्परागत हाटबजारको रुपमा बर्षौदेखि यो लाग्दै आएको वडा नं. १का वडाध्यक्ष समेत रहेका दमक नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । उनका अनुसार यो बर्षमात्र यो बजार व्यवस्थापनका लागि प्रदेश सरकारले १ करोड बजेट बिनियोजन गरेको बताए ।
गौरादहको नै ग्वालडुब्बा हाटलाई समेत यसैबर्षबाट व्यवस्थापन शुरु गरिएको नगरपालिकाले जनाएको छ । भण्डारीका अनुसार सडकमा लाग्दै आएको हाटलाई बेग्लै जग्गाको व्यवस्थापन गरेर शुरु गरिएको छ । गौरादहभित्र पर्ने स्कूलचौन, चप्रमारी, बैगुन्धुरा लगायतका बजारहरुको ब्यवस्थापनका लागि नगरसभाले नै आवश्यक बजेट बिनियोजन गरेको छ– भण्डारीले भने ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com