सांस्कृतिक अतिक्रमण भूसको आगो भएर बढ्दैछ

[नकुद काजी]
राज्यको आधिकारिक अनुभूतिसँग बौद्धिक कित्ताका नेपालीले सरोकार राख्नै पर्दछ । यसकारण पनि यथार्थको सम्मानार्थ समय–समयका टिप्पणी तात्कालीक परिस्थितिको फोटोग्राफी झैं राम्रा–नराम्रा स्वरूपमा प्रकटित हुने गर्दछन् । राज्यसत्ताले आफ्ना कमी–कमजोरीका साथै जनअपेक्षा विपरीत भएका कामकर्मको आलोचनाको सामना गर्ने हैसियत राख्नु पर्दछ– आलोचना र बहसहरूमा नाके–पगाहा लाउनु उचित हुँदैन । राष्ट्र भनेको भूगोलको माटो भरिको चौहद्दी मात्र होइन, राष्ट्रका अवयवहरू मध्ये त्यसप्रतिका श्रद्धाभावयुक्त व्यवहार सर्वोपरि हुन्छ र त्यसमा वर्तमानभन्दा भविष्यका प्रतिको सतर्कता बढी हुन आवश्यक हुन्छ । राष्ट्रकै समृद्ध–स्वरूपको समग्रता नै राष्ट्रियता हुने हुन्छ ।
केही वर्षअघिसम्म नेपाली भूगोल बाहिरका हिन्दूहरूको महान चाडको पहिचानले चिनिने ‘छठ पर्व’ अब हिन्दू नेपालीका परम्परागत दुई वरेण्य चाड बडादशैं र तिहारभन्दा पनि धुमधामसँग नेपाली भू–भागभित्रै पनि मनाउन थालिएको छ । हिन्दूधर्मले समेटेका संस्कारहरूलाई जातीय संस्कृति मान्ने जीवनदर्शनद्वारा निर्देशित नेपालीका अन्तरभाव नबुझी नेतृत्व वर्गले रहस्यमय ढंगबाट ‘विश्वको एकमात्र हिन्दू अधिराज्य’ नेपाललाई ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषित गरे पनि यसरी एकपछि अर्को हिन्दू धर्मशास्त्रीय पर्वोत्सव विशिष्ट रूपमा अनुष्ठित हुनु परापूर्वदेखि हिन्दू धर्म–परम्पराप्रति आत्मनिवेदित नेपालीका लागि निःसन्देह सुखद् छ । तर, एउटै धार्मिक सिद्धान्तका यस किसिमका मूलतः आयातीत अनुष्ठानमा बगालिनु नेपालीहरूका लागि सुखद् भए पनि यो सोच कालान्तरमा संस्कारमा रूपान्तरित हुँदै गयो भने नेपाली जीवनदर्शन अतिक्रमित हुँदै जाने र नेपाली रैथाने जातीय परिचायक धार्मिक–सामाजिक–सांस्कृतिक अनुष्ठानहरू चाहिँ छायाँमा पर्दै जाने बलियो सम्भावनालाई पनि नकार्न सकिँदैन ।
यद्यपि नेपालीमा अरुको जीवनशैली आफ्नो मौलिक जीवनशैलीभन्दा राम्रो देख्ने र त्यसलाई अनुकरण(अनुशरण गर्नुलाई ‘सभ्यता’ मान्ने, अरुबाट चाँडै प्रभावित हुने कमजोरी दिनन्दिन बढ्दो छ । एकातिर यो लगभग तीन करोड कूल जनसंख्या भएको देशका करिब ७५ लाख ऊर्जाशील नेपाली विदेशमा छन् भने अर्कातिर तिनका खाली ठाउँमा आप्रवासी जनशक्ति भरिँदै गएका छन् । विदेशमा पुगेका नेपालीले विभिन्न किसिमबाट आफू पुगेका देशको जीवनशैली बमोजिम सोच–संस्कार आफ्ना परिवारमा अज्ञातै संक्रमण गराउनुलाई स्वाभाविक मनोविज्ञान मान्न सकिएला पनि । तर, सीमा बाहिरबाट आजीविकाका लागि नेपाल पसेकाहरूको वैचारिक र जीवनशैलीगत प्रकोप पनि यस देशले दशकौंदेखि अनपेक्षित रूपमा व्यहोर्दै नै आएको छ । यी दुबै किसिमबाट प्रकारान्तरले नेपाली जातीय मौलिकता परिचायक सांस्कृतिक अनुष्ठानहरूलाई औपचारिकता मात्रमा सीमित गर्दै लैजाने वर्तमान अवस्थाको पृष्ठपोषण भइरहेको छ भन्नु अति हुने छैन । यो कुराको व्यावहारिक पुष्टि त विगत बडादशैं–तिहारको रौनकलाई छठ पर्वले उछिनेका परिदृश्यहरू नै छँदैछन् ।
अर्काको जीवनशैली, सांस्कृतिक उत्सव, सामाजिक चलखेल आदिको चाडो सिको गर्ने नेपाली जातीय स्वभावका अनेक प्रमाण छन् । दियो बालेर रातो अक्षताको टीको लगाइदिँदै यो दियोजस्तै उज्यालो भविष्य बनोस् भनी आशीर्वाद र शुभकामनाले अभिषेक गर्ने हाम्रा जन्मदिनलाई बर्थ–डे बनाएर बल्दो मैनबत्ती निभाई केक काट्ने इसाई धर्म–संस्कारगत परम्परातिर घँचेटिएको छ । हाम्रै ‘मुना–मदन’का प्रेम प्रीतिको उपमेय कथा जीवन्त हुँदाहुँदै सन्त भेलेन्टाइनलाई एउटी केटीसँग प्रेम गरेको सजायस्वरूप मृत्युदण्ड दिइएको शोकमा ‘भ्यालेन्टाइन–डे’ मनाउने सात समुद्र पारीको परम्परा यहाँ स्थापित गर्नु गर्वको विषय मान्न थालिएको छ ! विदेशी बाद्यवादन गिटार र भायोलिनले हाम्रा मुर्चुङ्गा, बिनायो र मुरलीहरूलाई जितिसकेका छन् । ड्रमसेट र अंग्रेजी क्ल्यारिनेटहरूले हाम्रा दमाहा र सनईहरूलाई विस्थापित गरिसकेका छन् । हाम्रा मालसिरी, मारुनी र संगिनीहरू तथा हाम्रा रेलीमाई, लैबरी र बालनहरूलाई ‘पप–रक–र्याप सङ्स’ नामका घाँटी थिचिएर मारिन लागेको मान्छे आत्तिएर–निसास्सिएर चिच्याए जस्ता गीतहरूले लखेट्तै लगेका छन् । इत्यादि…।
यी सबै पराया संस्कृति र सभ्यताका व्यवहार र चलन–प्रचलनसँग अन्धाधुन्ध प्रभावित हुने मूर्खतापूर्ण स्वभावका दुष्परिणाम हुन् । हिन्दू नेपालीले सूर्यको उपासना गर्ने ‘रवि सप्तमी’ चटक्कै बिर्सिएर अब छठ मात्र सम्झनामा लहरिने अवस्था आइसकेको छ । अतः यहीक्रम यसरी नै विकसित हँुदै निर्बाध अवस्था रहिरह्यो भने सम्भव छ, हिन्दू नेपालीका चाडपर्वहरूले अब धेरै आगत धान्न मुश्किल पर्ने खण्ड विस्तारित हुँदै गएको मान्नुपर्ने भएको छ ।
भारतमा जन्मिएर बजार खोज्दै (?) २३ वटा विभिन्न धर्म–सम्प्रदाय नेपाल पसेका छन् । श्रीकृष्ण प्रणामी, ठाकुर (जयगुरु), मानवधर्म, निरंकारी, ब्रह्मकुमारी, साई, कवीरलगायत अधिकांश धर्महरू नेपाली संस्कृति, संस्कार, भाषा–साहित्य आदिमा मात्र होइन; जीवनशैली मार्फत सामाजिक संरचनामै रूपान्तर गर्ने हैसियतमा स्थापित भइसकेका छन् । नेपाली मौलिक वंशानुगत सोच–संस्कार जीवन्त रहनु पर्दछ भन्ने जातीय अवधारणाका हकमा यो पाटो पनि नजरअन्दाज गर्न सकिने किसिमको छैन नै ।
नेपाली भूगोल अतिक्रमण, नेपाली भावना बिलोम जनसंख्या अतिक्रमण, नेपाली संस्कारद्वारा संरक्षित जातीय स्वाभिमानलाई परास्त गर्दै लैजाने धार्मिक–सामाजिक मनोविज्ञानमाथिको अतिक्रमण एवम्रितले दिनदिनै बढ्दै गएको स्थिति यो भूपरिवेष्ठितभन्दा बढी भारत–परिवेष्ठित राष्ट्र नेपालका लागि भयावह भविष्यका सूचकहरू पनि हुन् । त्यसैले अब पराया धार्मिक–सांस्कृतिक शैलीलाई समेत हर्ष बढाइँका साथ अंगीकार गरेर आफ्नो मौलिकतालाई खिचडी बनाउने कामबाट समय रहँदै सचेत हुने कि ?
अन्यथा नेपाली जातीय मौलिकताका परिचायक निधि–प्रतिनिधि सांस्कृतिक संस्कारगत चाडहरू बडादशैं र तिहार अविकृत मौलिक स्वरूप हेर्न र वैभवी गौरव अनुभूत गर्न अब छोटै कालान्तरमा नेपालका मूल जातजाति (नेपाली नश्लका नेपाली)–ले देश बाहिरका नेपालीभाषी जातजातिको बाहुल्य क्षेत्रहरूमा जानुपर्ने बाध्यात्मक स्थिति केही अन्तरालमै उपस्थित हुने सम्भावना बढेको छ । जसरी केही वर्ष अघिसम्म ‘छठ–होली’ पर्व मान्न र शिशुको छेवर गर्न समेत आयातीत धार्मिकता नछोड्ने आप्रवासीहरूको नेपालमा संख्यात्मक कमी रहिञ्जेल उनीहरू ती पर्वहरू मान्न आफ्ना मातृ–पितृ देश जान्थे ।
तर, दुर्भाग्यको कुरो– उनीहरू उनीहरूका जातीय पहिचानकारी पर्व मान्न आफ्ना देश जान्थे भने रैथाने नेपाली आफ्ना चाडबाड मान्न विदेशका नेपाली बहुल क्षेत्रमा जानुपर्ने हुन्छ । यद्यपि आफ्ना जातीय परम्पराको श्रेष्ठता प्रतिस्थापनका लागि मुटुमाथि ढुंगा राख्नै पर्ने परिस्थितिको बादलले नेपाली आकाश अँध्यारिँदै गएको छ । यसको सही निवारण के हुनसक्ला र ? यो हाम्रो भौगोलिक अवस्था र यसले निम्त्याएको कटु यथार्थ नै हो । र, आजलाई यति नै । शेष फेरि…

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com