सुरक्षाका लागि ‘समुदाय–प्रहरी साझेदारी’

बिर्तामोड, जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसँग शान्ति सुरक्षाका लागि साझेदारी कार्यक्रमलाई अगाडि बढाएको छ ।
नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम झापासहित देशभर सञ्चालन गरिरहेका बेला जिल्ला प्रहरी कार्यालय झापाले बाह्रदशी गाउँपालिकामा बिहीबार एक अन्तरक्रिया कार्यक्रमकाबीच कार्यक्रमलाई सञ्चालन गरेको हो ।
‘हर प्रहर, गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा उक्त अभियान केन्द्रदेखि स्थानीय तह र विद्यालयसम्म एकैपटक सञ्चालन हुन लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
गृह मन्त्रालयबाट जारी भएको ८२ बुँदे गृह प्रशासन सुधार योजनालाई आत्मसात् गर्दै नेपाल प्रहरीले उक्त अवधारणालाई अगाडि सारेको हो । कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँ तहसम्मै साझेदारी संरचना निर्माणका लागि झापाका सबै स्थानीय तहसंग सम्झौता हुनेक्रम जारी रहेको र बाह्रदशी गाउँपालिकामा गाउँपालिका स्तरीय कमिटी गठन गर्दै वडा, समुदाय तथा विद्यालयसम्म पु¥याउन काम शुरु भएको प्रहरी उपरीक्षक ढकालले बताए । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहितका समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने अवधारणामा उल्लेख गरिएको छ ।
अभियान सफल बनाउन टोल–टोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम सँगसँगै जानेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने योजना प्रहरीले अगाडि सारेको हो । यस्तै प्रहरीले अभियान सञ्चालन गर्न प्रहरी प्रधान कार्यालयले राष्ट्रिय संयोजन र व्यवस्थापनको काम गर्नेछ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति निर्माण हुनेछ । यस्तै समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति निर्माण हुनेछ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्व रहने र स्थानीय तहका प्रमुख तथा प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत सहसंयोजक रहने छन् । उक्त संयन्त्रमा विभिन्न सामाजिक संघ–संस्था रहनेछन् ।
बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्ना राजवंशी, ७ वटै वडाका वडाध्यक्ष, कार्यकारी अधिकृत लगायतका जनप्रतिनिधिहरुको सहभागितामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक ढकालले समुदाय प्रहरी साझेदारीका काम, कर्तव्य, जिम्मेवारी र यसबाट हुने फाइदाका विषयमा जानकारी गराएका थिए । उनले आफ्नो गाउँपालिका तथा नगरपालिकामा शान्ति सुरक्षा कायम गर्ने विषयमा अलिकति पनि कञ्जुस्यार्इँ नगर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट धेरै अपराध न्यूनीकरण गर्न सकिने बताउँदै उनले अपराधसँग सम्झौता हुन नसक्ने स्पष्ट पारे । समुदाय आफैं सचेत भएर अपराध न्यूनीकरणमा लागेमा शान्ति सुरक्षामा थप टेवा पुग्ने उनको भनाइ छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजवंशीले बाह्रदशी गाउँपालिकाको सुरक्षाको विषयमा हातेमालो गर्न तयार रहेको बताए । ३३ हजार ६ सय ५३ जनसंख्या रहेको गाउँपालिकामा सबै क्षेत्रमा प्रहरीसँगको सम्झौता अनुसार नै समितिहरु ग्ठन गर्ने र अपराध न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष एवम् न्यायिक समितिकी संयोजक समेत रहेकी रत्ना राजवंशीले अपराधको विषयमा सम्झौता नगर्ने बताइन् । उनले कानूनले दिएका अधिकारहरु प्रहरीसँगको समन्वयमा पालना गर्न तयार रहेको धारणा व्यक्त गरिन् । अधिकांश वडाध्यक्षहरुले गाउँपालिकामा प्रहरीको जनशक्ति थप गरिदिन आग्रह गरेका थिए ।
यो सम्झौतासँगै बाह्रदशीमा अब प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नका लागि समुदाय अग्रसर हुने भएको छ । कार्यक्रमलाई सफल पार्न पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर जानकारी गराइनेछ । प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गरेर सचेतना बढाइने प्रहरी उपरीक्षक ढकालले बताए ।
यसअघिका ‘प्रहरी मेरो साथी’, ‘मुस्कानसहितको प्रहरी सेवा’ लगायत कार्यक्रम ल्याए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको थिएन । अहिलेको नयाँ अभियानलाई भने दिगो र दीर्घकालीन साझेदारीका रुपमा विकास गर्ने योजना रहेको प्रहरीको भनाइ छ । विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास नेपाल प्रहरीले लिएको छ । आगामी माघ १ गतेबाट मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानमा रहेको झापा प्रहरीलाई यो कार्यक्रमले थप टेवा पु¥याएको प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।
झापाको जिम्मेवारी सम्हाल्न आए लगत्तै प्रहरी उपरीक्षक ढकालले सञ्चालन गरेको यौनजन्य हिंसा रोक्न टोल–टोलमा प्रहरी कार्यक्रम, पीडित सहायता कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सबैको साथ र सहयोग पाएकाले झापामा ठूला अपराध रोक्न प्रहरी सफल भए पनि अपराध पूर्ण रुपमा नरोकिएको भन्दै प्रहरी उपरीक्षक ढकालले बिर्तामोडका बैंकबाटै रकम चोरी हुनु, हत्या लगायतका घटना हुनुले अझै पनि सतर्कता अपनाउन समुदाय र प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
यसैबीच बाह्रदशी गाउँपालिकामा गत आर्थिक वर्ष २०७४÷०७५मा १५ वटा मुद्दा दर्ता भएकामा ५ जनालाई पक्राउ गरिएको छ । चालू आर्थिक वर्षको कात्तिकसम्ममा ३ वटा मुद्दा दर्ता भएको छ भने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com