सताक्षीधाममा गौ कथा महोत्सव

झिलझिले, पौराणिक कथासँग जोडिएको झापाको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाममा यस वर्ष पनि गौ कथा महोत्सव आयोजना हुने भएको छ । मंसीर १० गतेदेखि धार्मिक पर्व बालाचतुर्दशीको अवसर पारेर १० दिवसीय शिवमहापुराण तथा संगीतमय गौ कथा महोत्सव एवम् धान्याञ्चल महायज्ञ हुने आयोजक गोलोक गोवद्र्धन गौशालाले जनाएको छ ।
गोलोक गोवद्र्धन गौशाला शिवसताक्षी नगरले आयोजना गर्न लागेको सो महायज्ञको तयारी तीव्र गतिमा भइरहेको समितिले जनाएको छ । समितिका अनुसार प्रचारप्रसारका क्रममा पूर्वका धार्मिकस्थल तथा संस्था हरुमा पर्चा पम्लेटिङ कार्य भइरहेको छ । सताक्षीधाममा गौ कथा महोत्सव आयोजना हुने यो चौथोपटक हो । गत वर्ष पनि गोलोक गोवद्र्धन गौशालाले सताक्षीधाममा गौकथा महोत्सवको आयोजना गरेको थियो ।
आयोजक समितिका अध्यक्ष नन्दकिशोर भारद्वाजका अनुसार ४५ लाख अनुमानित लागतमा पुराणको आयोजना हुन लागेको छ । पुराण सञ्चालनका लागि ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने सञ्चार, आर्थिक, स्वागत, खानेपानी तथा सरसफाई, पूर्वाधार निर्माण, आपूर्ति लगायतका विभागीय समिति पनि गठन भएको अध्यक्ष नन्द किशोरले बताए ।
डा. यतिराज घिमिरे प्रमुख कथा बाचक र पं. दामोदर सुवेदी उपवाचक रहने आयोजक समितिले जनाएको छ । सताक्षीधाममा आयोजना हुनै गौ कथा महोत्सवमा अनन्तश्री विभुषित जगत्गुरु स्वामी श्री मोहन शरण देवाचार्यजी महाराज चतराधाम, अनन्त श्री बिभुषित स्वामी भागवताचार्य महाराज माईधार, वेदमूर्ति परमादरणीय आचार्य श्री मेदनी पति मिश्रा युके, अनन्तश्री विभुषित स्वामि श्री विष्णुवल्लभा नन्द हरिद्वार भारत, अनन्तश्री विभुषित सद्गुरुदेव स्वामी श्री गोपाल शरण देवाचार्यजी महाराज दिल्लीबाट आउने आयोजक समितिले जनाएको छ ।
समितिका अनुसार क्यानाडा, स्पेन, सिंगापुर, भारत, अफ्रिकाको घाना, दक्षीण अमेरिकाको गयाना, वेलायत अमेरिका लगायतका मुलुुकमा ख्याति कमाएका नेपाली भाषी विद्वानको आगमन हुने गौकथा महोत्सवले जनाएको छ ।
कार्यक्रममा सहभागी हुन आउने धर्मप्रेमीको स्वागतका लागि मोरङको विराटनगर, इटहरी, उर्लाबारी विर्तामोड र काँकरभिट्टामा स्वागतद्वार निर्माण हुने भएको छ । महोत्सवको उद्घाटन १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय भएको आयोजक समितिका महासचिव घनश्याम अधिकारीले वताए ।
भक्तजनलाई भोजन र आवास निःशुल्क
गोलोक गोवद्र्धन गौशालाले आयोजना गर्न लागेको गौकथा महोत्सवमा यो वर्ष तीर्थ यात्रीलाई भोजन र आवास आयोजकले निःशुल्क गरेको छ ।
टाढा नजिकवाट आउने सवै भक्तजनलाई आवास र खाना निःशुल्क गरिएको आयोजक समितिका कोषाध्यक्ष पण्डित सोमनाथ सुवेदीले जानकारी दिए । दिवाकालीन सत्र र रात्रिकालीन सत्रका लागि आउने भक्तजनलाई भोजनकै लागि आउने र जानेको समस्या हटाउन गौशालामा भोजन र आवासको व्यवस्था गरिएको हो । भोजन र आवास सुविधा गौशालाले थपेपछि यो वर्ष उक लाखभन्दा वढी भक्तजनको सताक्षीधाममा सहभागिता रहने गौकथा महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
आयोजकले यो वर्ष झापाका पन्ध्रवटै स्थानीय तहलाई कार्यक्रममा सहभागी गराउने प्रयत्न गरको छ । सताक्षीधाम पूर्वको एतिहासिक तीर्थस्थल भएकैले झापाका स्थानीय सरकारलाई कार्यक्रममा सहभागी गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com