हामीले खोजेको नेता र नेतृत्व – देखिएन कि भेटिएन !

[विष्णुप्रसाद खरेल]

नेता के हो, नेतृत्व के हो ?
एरिस्टोटल भनेका छन्– ‘हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।’ अर्थात, सामाजिक मुद्दाहरुको उठान गर्ने ब्यक्ति नेता हो र त्यो मुद्दालाई आत्मसात गर्ने, निर्णय गर्ने समूह नेतृत्व हो । नेता ब्यक्ति हो र नेतृत्व सामुहिक विषय हो ।
जसरी, एउटा चस्माको फ्रेम र लौरो भएको चित्र देख्दा महात्मागान्धीलाई, एउटा सुराही र छाताको फोटो देख्दा कृष्णपसाद भट्टराईलाई सम्झन्छौं, त्यसैगरी नेता र नेतृत्वको कुरा आउन साथ हामी राजनीतिलाई सम्झने गर्दछौं । नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं । हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको हुन्छ । हामी सबैलाई थाहा छ, राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ । त्यसैले पनि होला, अहिले मानिसहरु भनिरहेका छन् राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सकेन । त्यसैले अहिले पनि आम नागरिकहरु वास्तविक नेता र नेतृत्वको खोजी गरिरहेका छन्, वर्तमान नेता र नेतृत्वमाथि भरोसा गर्न सकिरहेका छैनन् ।
नेताको विम्वका रुपमा स्वर्गीय भइसकेका वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह, कृष्णपसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र वर्तमानका प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिको नाम अगाडि आउँछ । तर, कुनै पनि नामले हामीलाई दिर्घकालसम्म रोमाञ्चित बनाउन सक्दैन, किन ? केही नेताहरुमा त्यस्ता गुण नभएका पनि होनन् । तर, पनि दिर्घकालसम्म स्मरण गर्ने लायकको नेता हामीले पाउन नसकेकै हो ।
नेता र नेतृत्व जन्मने स्रोत के हो ?
समाज र नेतृत्वको जन्मका बीचमा बडो महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । विश्वमा नाम चलेको जस्तो नेता यहाँ खोई भनेर मात्रै हुँदैन । हामी कस्ता छौं, हामो समाज कस्तो छ त्यही अनुसारको नेता हामीले पाउने हो । हामी के कल्पना गर्दछौं भने एउटा यस्तो शक्तिशाली व्यक्तित्व आओस् र सबै समस्या समाधान गरिदिओस् । कता–कता नेतृत्वमा हामी अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्तिको कल्पना गरेर खोजी गरिरहेका हुन्छौं ।
एकजना समाजशास्त्रीको विश्लेषण अनुसार– नेतृत्वले तीन तरिकाबाट जन्मन्छ । एउटा हो जन्मदैको अविछिन्न गुण र अद्वितीय शक्ति । केही मानिसहरु जन्मँदै यस्तो विलक्षण गुणले सजिएका हुन्छन्, उनीहरुमा आत्मिक रुपमा यस्तो गुण समायोजित भएर आएको हुन्छ । ब्यक्तित्व, बोली र ब्यवहारले अरुलाई सम्मोहित पार्न सक्दछन । अर्को हुन्छ– करिश्मा । करिश्मा मेहनत र परिश्रमबाट बनेको हुन्छ । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाउन सक्दछ । जस्तैः गान्धी, अब्राहम् लिंकन । गान्धी यति सर्वस्वीकृत भए कि उनको फोटो पनि चाहिँदैन । एउटा रेखाले गान्धीको नेतृत्वलाई चित्रित गर्न सकिन्छ । एउटा गोलो चश्मा र लौरो ठड्याउना साथ, त्यो गान्धी भइहाल्छ । नेतृत्वको करिश्मा भनेको त्यो, हो । तेस्रो हो– कानूनी वैधानिकता । नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो । तर, कानूनी वैधानिकताले मात्र माथिका दुईवटा गुणको अभाव भएको ब्यक्ति वास्तविक नेता बन्न सक्दैन । अहिले वास्तविक नेता जन्मन नसकेको मुख्य कारण पनि कानूनी वैधानिकताबाट मात्र नेता जन्मन्छ भन्ने चिन्तन नै हो । जो गलत छ ।
नेता र नेतृत्वको नैतिकता र चुनौति
लोकतन्त्रमा नेता र नेतृत्वमाथि चुनौति रहन्छन् । जो, स्वभाविक पनि हो । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं भनिरहेका छौं । तर, हाम्रो कामना के छ भने अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र शक्ति भएको चमत्कारिक व्यक्ति नेता बनेर आओस् र हाम्रा सबै समस्याको समाधान गरिदिओस् । तर, उल्टो के कुरा भनिरहेका छौं भने– समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । एउटा असल नेता र नेतृत्व निर्माण गर्ने सबैभन्दा ठूलो सैद्धान्तिक समस्या यहिँनेर छ । हामी सबैलाई थाहा छ, नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ, तर के त्यो भइरहेको छ त ? छैन भने किन भइरहेको छैन ? यो बहसमा हामी कहिल्यै प्रवेश नै गरेनौं ।
नेता र नेतृत्वप्रति आश्रित बन्दैछ ः समाज
अहिले हाम्रो अपेक्षा राज्यतिर बढी नै आश्रित बन्दैछ । तर, हामी सबै राज्य र नेताप्रति आश्रित बनिरहेका छौं । सबैलाई थाहा छ, राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन भएको छ । समाज परिवर्तन भएपछि सामाजिक धरातल र परिवेश पनि परिवर्तन भयो । यस्तो परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्यो । समाजका विविध क्षेत्रमा चाहे त्यो धार्मिक, सामाजिक, आर्थिक, विकास वा सेवा र सुविधा वितरणको सवालमा होस सबै क्षेत्रमा राजनीति हावी बनेर गयो । मौलिक सामाजिक नेतृत्वलाई राजनीतिले अशक्त र कमजोर बनाइदियो । परिवर्तनको शुरुवातमा त राजनीतिक नेतृत्व बडो क्रान्तिकारी देखियो । तर, यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेन् । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्दछ भन्ने अहंकारले सामाजिकतालाई लथालिंग बनाइदियो । त्यही भएर राजनीतिक नेता र नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ देखिएका छन् । जसले स्वःपरिचालित समाजलाई परामुखी बनाइदिएका छन् ।
जाली र आडम्बरी बन्दैछ ः राजनीतिक नेता र नेतृत्व
अहिले राजनीतिक नेतृत्व बडो जाली र आडम्बरी बनेको छ । किनभने यसले भनेको कुराहरू गर्न छाडेको छ । जुनसुकै दलको राजनीतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । अर्को कुरा, नेतृत्वले सामाजिक मुद्दाका माग पनि पूरा गर्न सकेको छैन । हिजो यिनै राजनीतिक नेता र नेतृत्वका कारण समाजमा विभिन्न मागहरु सृजना भए । राजनीतिले नै माग सृजना गर्ने काम ग¥यो । तर, आज राजनीतिक नेतृत्व नै ती मागहरुबाट भागिरहेको छ । यस्ता मागहरुका बारेमा राजनीतिक नेतृत्व र नेताहरुलाई सुन्ने फुर्सद नै छैन । नेतृत्वको सबैभन्दा ठूलो क्षमता नै अरुको कुरा सुन्ने हो । सुन्दै नसुन्ने नेतृत्व बेइमान हो । अहिले, राजनीतिक नेता र नेतृत्व आडम्बरी र बेइमानी बन्दैछ ।
नेता र नेतृत्व आफैंले बनाएको नियम कानूनमा बस्नु पर्दछ । चाहे त्यो मुलुकको संविधान, कानून वा नीति नियमहरु हुन् या पार्टीको विधि र विधान नै किन नहोस् । यो नियम त अरुलाई बनाएको हो, मलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो बेइमानी होे । तानाशाही यस्तै प्रवृत्तिबाट जन्मने हो । अहिले पार्टीको विधान, मुलुकको संविधान, कानून र नियमहरु मिच्नेहरुको नेतृत्वले पटक– पटक बेइमानी गरिरहेको देखिन्छ ।
अहिलेको नेतृत्वलाई यो सारा परिवर्तन जनता लडेर ल्याएको होइन, मैले दिलाएको हो भन्ने मान्यताबाट ग्रसित छ । नेतृत्वमा रहेका नेताहरुमा उनीहरु मालिक हुन् र उनीहरुले अरुलाई दिने हो भन्ने सामन्तवादी सोच हावी भएको छ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले मात्र छैन चरम अवसरवादी पनि छ । लोकतन्त्रमा नेतृत्व सामुहिक हुन्छ भन्ने सोच लुप्त भएका नेताहरु हावी भएका छन् ।
नेता र नेतृत्वको स्वरुप फेरिनु पर्दछ
नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । विश्वका सफल नेता र नेतृत्वका बारेमा उनीहरुले सिक्नु पर्दछ । बुढा पुस्ताका नेताहरुमा त यो सम्भावना देखिँदैन । अहिलेका दोस्रो पुस्ताका युवा नेताहरुले यो सिक्नु पर्दछ । वास्तविक सिकाईभन्दा नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिन्न ।
अहिले राजनीतिमा लागेका नेताहरुको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरु चलाइरहेका छन् । आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति र नियम बनाउन तल्लिन छन् । त्यति मात्र होइन, विभिन्न पेशाका ठेकेदार, ब्यापारी वा विभिन्न लाभका क्षेत्रमा ब्यवसायिक बनेकाहरुलाई नेता बनाउने होड सबै राजनीतिक दलमा प्रवेश गरेको छ । यसले राजनीतिलाई भविष्यमा दुषित बनाउने निश्चित छ । नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । नेपालका नेताहरुमा पारदर्शिता भन्ने कुरा देखिएन । यसैले नेता भन्नासाथ भ्रष्ट ब्यक्तिका रुपमा चित्रित हुन थालेका छन् । अबका दिनमा नेताहरुले आर्थिक पारदर्शितालाई विषेश ध्यान दिन जरुरी छ । ट्याक्स तिर्ने चाहिँ जनता र नतिर्ने चाहिँ नेता हुनुभएन ।
अचम्म त के छ भने, नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिन्छ । नेताको पदवी पाउन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ । तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । अबका नेता र नेतृत्वले आम नागरिकहरुमा पारदर्शीता, त्याग र इमान्दारिताको प्रर्दशन गर्दै अहिलेको बिग्रिएको राजनीतिको कोर्ष परिवर्तन गर्नुपर्दछ । तर, दुर्भाग्य, शासन, सत्ता र शक्तिमा पुग्न पार्टी कब्जाको मनस्थितिबाट राजनीतिमा होमिएका वर्तमान युवा पुस्ताहरुबाट राजनीतिको कोर्ष परिवर्तन हुने सम्भावना कम छ । विडम्बना ! युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । केही टाठाबाठा, जान्ने सुन्ने भनिएका युवा नेताहरु पनि ‘दाइ’ नेताको फेरो समातेर हिँडेका छन् । दास मानसिकताले ग्रसित भएर ‘दाइहरुको’ अनुकम्पबाट राजनीतिमा माथि उठ्ने अवसरको खोजीमा तल्लिनहरुबाट त्यति ठूलो आशा पनि गरिनहालौं ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com