गुमनाम ‘इन्द्र सचिव’

[ सुरेन्द्र भण्डारी ]
बिर्तामोड,  । पशुपति मावि राजगढका नाममा ९४ विगाह चार कठ्ठा, जनजागृति मावि गोल्धापका नाममा १७ विगाह दुई कठ्ठा र बोक्राझाडी प्रावि राजगढका नाममा चार विगाह १२ कठ्ठा जग्गा उपलब्ध गराउने ‘इन्द्र सचिव’ अहिले गुमनाम छन् ।
शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका तत्कालीन राजगढ– ८ का इन्द्रप्रसाद अधिकारी अर्थात् ‘इन्द्र सचिव’ केही वर्षयता गुमनाम झैं भएका हुन् । तत्कालीन श्री ५ को सरकारले ऐलेनी तथा पर्ती जग्गालाई विद्यालय, मठ–मन्दिर, गुठी–संस्थानका नाममा राख्न भनेपछि ‘इन्द्र सचिव’ले विद्यालयलाई मजबुद बनाउन २०३४ सालमा जग्गाको पहिचान गर्दै विद्यालयको नाममा दर्ता गराएका थिए ।
पशुपति माविको नाममा दर्ता गराएको झण्डै आठ विगाह जमिन सुकुम्बासीलाई सोही समय प्रदान गरिएको थियो । तत्कालीन अञ्चल अदालत इलामको सहमतिमा सुकुम्बासीलाई जग्गा वितरण गरिएको थियो । बाँकी जग्गा विद्यालयको नाममा दर्ता कायम भए पनि आफ्नो जग्गा उपयोग गरेर अहिलेसम्म पनि विद्यालयले फाइदा लिन नसकेको सरोकारवालाले बताएका छन् ।
जसले तीन विद्यालयलाई ११६ विगाह जमिन जुटाइदिए

 

विद्यालयको नाममा यतिका धेरै जग्गा दर्ता गराउन सफल ‘इन्द्र सचिव’ पशुपतिका लागि मात्र नभई अन्य धेरै विद्यालयको भाग्य विधाता नै भए । हरेक सामाजिक कार्यक्रममा सहभागिता जनाउँदै समाज सुधारका क्षेत्रमा काम गर्दै आएका ‘इन्द्र सचिव’ अहिले न त सामाजिक कार्यक्रममा सरिक हुन्छन्, न त सभा समारोहमा नै देखा पर्छन् । गुमनाम झैं बनेका उनी दिनभर पत्रपत्रिका पढ्ने, समाजका लब्ध प्रतिष्ठित व्यक्तिसँग भेटघाट गर्ने अनि आफ्ना पुराना सहपाटीसँग भलाकुसारी गरेर दिन बिताइरहेका छन् । केही वर्षयता आफ्नो स्थायी बसोबास राजगढ छाडेर बिर्तामोड बस्दै आएका अधिकारी शैक्षिक अभियन्ता भए पनि अहिले बुढ्यौलीका कारण सामाजिक सेवाभन्दा धेरै पर छन् ।
लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरे पनि उनी जिल्लाभर ‘इन्द्र सचिव’का नामबाट परिचित भए । पछिल्लो पुस्ताले उनलाई इन्द्रप्रसाद अधिकारीभन्दा चिन्दै चिन्दैन । उनको चिनिने नाम ‘इन्द्र सचिव’ नै भयो । समाजमा ‘इन्द्र सचिव’का नामले उच्च छवि बनाएका कारण दक्षिणी झापामा मात्र नभई जिल्लाका पुराना र उच्च पदस्थ व्यक्तिमाझ पनि उनी ‘इन्द्र सचिव’कै नामले परिचित भए । पशुपति माविमा २०३३ सालबाट व्यवस्थापन समिति सदस्य भएर विद्यालय सुधारका लागि होमिएका उनी २०४६ सालसम्म विद्यालयको अध्यक्ष पदमा रहेर सेवा गरे । सोही बेला उनले विद्यालयको नाम पनि पशुपति मावि जुराए । २०३३ सालमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार पशुपतिको नाम उनैले जुराएका थिए ।
पं.कोमलप्रसाद अधिकारी र तुलसादेवी अधिकारीका छोरा हुन् इन्द्रप्रसाद । २००४ साल असार २७ गते तेह्रथुमको आठराईस्थित थोक्लुङ ढल्केबरमा जन्मिएका उनी २०२१ सालदेखि सामाजिक सेवामा क्रियाशील रहे । २०२५ सालबाट अनिवार्य निःशुल्क प्राथमिक पाठशाला केन्द्र नं. ९ गोल्धापको चाक्लाढापमा तत्कालीन श्री ५ को सरकारले नियुक्ति दिएपछि उनी शिक्षण पेशामा सक्रिय रहे । उनले २०२७ सालसम्म शिक्षकको रुपमा सेवा गरे ।
२०२६ सालमा गाउँ पञ्चायतका लागि सचिव पदमा लोकसेवाको परीक्षा दिएर २०२७ सालमा भएको सिफारिसले उनी राजगढ गाउँ पञ्चायतमा नियुक्ति भएका थिए । सोही समयदेखि उनी ‘इन्द्र सचिव’का नामले जिल्लाभर परिचित भए । २०२० सालमा राजगढ आएका अधिकारीले आदर्श विद्या मन्दिर घैलाडुब्बा, भद्रपुर मावि र बनारसको आदर्श इन्टर मिडिएट कलेजबाट शिक्षा लिएका थिए । पढ्दा–पढ्दै शिक्षण पेसामा संलग्न भएका अधिकारीले छोटो समय शिक्षाको भूमिका निर्वाह गरे पनि शिक्षा क्षेत्रमा उनको देन महत्वपूर्ण छ ।
२०२९ साल मंसीरमा सबै सचिवलाई तत्कालीन श्री ५ को सरकारले सचिवलाई अवकाश दिएको थियो । लोकसेवाबाट पास भएका सचिव सो समयमा तीन जनामात्र रहेको उनी सम्झन्छन् । श्री ५ को सरकारले लोकसेवा पास गरेका सचिवलाई भोलिपल्टै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा हाजिर हुन निर्देशन गरेको थियो । केही समय जिल्ला प्रशासन कार्यालयमा काम गरेका उनी २०३० सालमा खाद्य संस्थान भद्रपुरमा काज सरुवा भएका थिए । तर, एक महिनापछि पुनः उनी जिल्ला प्रशासन कार्यालय मै फिर्ता भएका थिए । २०३० सालमा सिंहदरवारमा भएको आगलागीका कारण आफ्नो सबै डकुमेन्ट जलेपछि आफू सेवा विहीन भएको उनको भनाई छ । ‘त्यो बेला अहिले जस्तो थिएन’ –अधिकारीले भने – ‘स्थानीय विकास विभाग श्रीमहलमा पुगेर जागिरको काज मिलाउने तरखर गर्दै थिएँ सिंहदरवारमा आगलागी हुँदा कागजपत्र जलेपछि समस्या आयो अन्ततः जागिर छाडेर सेवालाई प्रहिलो प्राथमिकतामा राखे ।’
केही वर्षको सेवापछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनले राजगढ गाउँ पञ्चायतमा समेत उम्मेदवारी दिएका थिए । आदिवासी समुदायप्रति घुलमिल रहेका ‘इन्द्र सचिव’ विपन्न बालबालिकालाई गाँस, बास र कपासको बन्दोबस्त मिलाउँदै धेरैलाई निःशुल्क शिक्षा प्रदान गरेकै कारण उनी सबै माझ अहिले पनि परिचित र प्रिय छन् । आदिवासी समुदायको बाहुल्यता रहेको राजगढमा २०१६ सालअघि त्यहाँ कुनै पनि विद्यालय थिएनन् अधिकारीले भने– ‘त्यहाँका बालबालिका अन्यत्र गएर पढ्नुपर्नेे बाध्यता थियो त्यस्तो अवस्थामा टाठा–बाठा र सम्पन्न (देउनिया) परिवारका मानिसले मात्रै आफ्ना बालबालिकालाई अध्ययनका लागि बाहिर पठाउने गरेका थिए ।’ दिनानुदिन शिक्षाको मोह बढ्दै गएपछि स्थानीय शिक्षाप्रेमी छविलाल राजवंशीसहितका केही सामाजिक अगुवाले २०१६ सालमा राजगढ प्रावि सञ्चालन गर्ने निक्र्योल गरेको पूर्वाञ्चलसँगको कुराकानीमा अधिकारीले बताए । ‘त्यसबेला छविलाल राजवंशीको अध्यक्षतामा बसेको गाउँ भेलाले राजगढमा विद्यालयको आवश्यकता महशुस गरी छाप्रोमा विद्यालय खोलियो ।’– उनले भने– ‘विद्यालय सञ्चालनका लागि छविलालजीसहित महपति राजवंशी लगायतका सामाजिक अगुवाले प्रदान गरेको जग्गामा विद्यालय निर्माण गरिएको थियो ।’
‘२०२१ सालतिर ४÷५ घरमात्र पहाडे समुदायका मानिसको उपस्थिति रहेको राजगढमा राजवंशी, सन्थाल, मुस्लिम, तेली, साह आदि समुदायको बाहुल्यता थियो । त्यसबेला विद्यालय सञ्चालनका लागि बैजनाथप्रसाद कानु र अर्जुनप्रसाद पौडेलको पहलमा राजगढ प्रावि स्थापना गरिएको हो’ –अधिकारीले भने– ‘पौडेललाई प्रधानाध्यापकको जिम्मेवारी सुम्पिएर विद्यार्थी र शिक्षकलाई चाहिँ सेवासुविधाका लागि हामी बोरा बोकेर गाउँ पसेर मुष्ठीदानबाट उठाएको अन्न र चारआना–आठआनाले विद्यालय चलाएका थियौं ।’
२०१६ सालमा स्थापित पशुपति अहिले त्यस क्षेत्रकै कहलिएको विद्यालय बनेको छ । त्यहाँ अध्ययनरत् केही विद्यार्थीले मन्त्रालयको कार्यभार सम्हालिरहेका छन् भने कोही मन्त्री समेत बनेका छन् । गुणस्तरीय शिक्षामा अब्बल रहेको पशुपति २०३३ सालमा माध्यमिक विद्यालय आवश्यकता महशुस गरी नामाकरण गरेपछि अहिले पनि पशुपति माविका रुपमा स्थापित छ । विपन्न समुदायका बालबालिका अधिकरुपमा अध्ययनरत् रहेको सो विद्यालयमा अहिले एक हजार पााच सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् । ‘अल्पकालीन निमावि सञ्चालन गर्दा अर्जुनप्रसाद पौडेल र रोहिणी उपाध्याय सञ्चालक थिए । त्यसबेला प्रेमनारायण प्रधान र मञ्जु प्रधानलाई भारतको दार्जीलिङबाट झिकाएर पठन–पाठनको व्यवस्था मिलाइएको थियो’ –शिक्षासेवी अधिकारी भन्छन् ।
‘२०३३ सालमा सञ्चालक समितिमा रहेका छविलाल राजवंशीका पालामा अधिकारीले क्षेत्रीय शिक्षा निर्देशनालय पुगेर मावि सञ्चालनका लागि प्रस्ताव बुझाएका थिए । भवन र विद्यार्थी निरीक्षणका लागि गोरुगाडीमा जिल्ला शिक्षा अधिकारीलाई ल्याउँदा त्यहाँका अगुवाले नक्कली विद्यार्थी र डेक्स–बेञ्च गाउँघरबाट बटुलेर पशुपति मावि सञ्चालनका लागि प्रपञ्च रचेका थियौं’ –अधिकारीले भने । २०३४ साल असार २४ गतेको निर्णयले भूमि प्रशासक राममणि पोखरेलले स्कूलको नाममा जग्गा कायम गरेको उनी बताउँछन् ।
स्थानीय बैजनाथप्रसाद कानु, छविलाल राजवंशी लगायतका केही सामाजिक अगुवाको पहलमा २०३८ सालमा पशुपतिलाई मावि बनाइएको थियो । विद्यालयलाई भगीरथ राजवंशी राजगढ–६ बाट पाँच कठ्ठा, बंढोल राजवंशीबाट नौ कठ्ठा १० धुर, महिपथ राजवंशीबाट पाँच कठ्ठा, डिल्लीचन राजवंशीबाट पाँच कठ्ठा, तत्कालीन प्रधानपञ्च सडकलाल राजवंशीले गाउँ पञ्चायतबाट १५ कठ्ठा, मुखिया बाजे नामले परिचित भीमप्रसाद पोखरेलबाट एक बिगाह पाँचकठ्ठा जग्गा उपलब्ध गराएको अधिकारीले बताए । ‘विद्यालय स्वीकृत गर्दा आर्थिक धरौटी राख्नका लागि २०३४ सालमा ऐलेनी जग्गालाई समेत विद्यालयको नाममा पार्दै एकमुष्ठ ८८ विगाह जमिन विद्यालयको नाममा दर्ता कायम गरेको थिएँ अधिकारीले भने– ‘त्यसबेला विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद तामाङलाई धनीपूर्जा मैले नै हस्तान्तरण गरेको हूँ ।’

एक महिनासम्म दिसा–पिसाव एकै ठाउ“ भयो

‘२०४६ सालमा बहुदल आउन लागेको रहेछ मलाई थाहा थिएन’ –अधिकारीले भने– ‘चकचकी गाउँ पञ्चायतमा भएको एक समारोहमा पञ्चायतको पक्षमा भाषण गरेछु । तत्कालै मलाई गिरफ्तारी हुने भएपछि एक महिनासम्म घरमै गुप्त बास बस्नु पर्यो । दिनहुँ मेरो खोजी हुन्थ्यो’ –अधिकारीले भने– ‘आफ्नै विद्यालयका शिक्षकले सुराक दिएपछि घर घेरा हालेर मेरो तलास भयो । त्यो बेला घर वाहिर ननिस्कि कोठामै एक महिनासम्म दिसा पिसाव एकै ठाउँ भएर गुप्तवास हुनुप¥यो । यो नै मेरो जीवनकै अविस्मरणीय क्षण भयो ।’
विद्यालय सुधारका लागि बोल्दा पञ्चेको पक्षमा बोल्यो भन्दै मेरो विरोध भएछ । त्यो बेला घर अगाडि एकदिन आमसभा भयो त्यहाँ म अध्यक्ष भएकै विद्यालयका पनि शिक्षक सहभागी थिए । उनीहरुको बाध्यता भए पनि एक महिनापछि भूपू हवल्दार थीरप्रसाद आचार्यको पहलमा मलाई आफ्नै कोठाको गुप्तवासबाट रिहा गराएका थिए उनीहरुले त्यो दिन संसार नै उज्यालो भएको महशुस भयो’ –अधिकारीले भने । शिक्षा र समाज सुधारका क्षेत्रमा उल्लेख योगदान गरेका अधिकारी अहिले ओझेलमा छन् । केही वर्षअघिसम्म चर्चामा रहेका ‘इन्द्र सचिव’ अहिले बिस्तारै गुमनाम बन्दै गएका छन् । ‘इन्द्र सचिव’ बीना चुल्हो नबल्ने समुदायले पनि अहिले उनलाई बिस्तारै बिर्सदै गएका छन् । अड्डा, अदालत होस् वा घरसायसी झंै–झगडाका मुद्दा मिलाउन निपूर्ण उनी पहिला सबैको मुखमा झुण्डिए पनि अहिले गुमनाम छन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com