भन्सार छाड्ने प्रहरी समात्ने

११ पुष २०७५, बुधबार मा प्रकाशित

भद्रपुर, । भन्सार प्रज्ञापनपत्र तिरेकोभन्दा दुई पोका कपडा बढी भेटिएको आशंकामा वडा प्रहरी कार्यालय भद्रपुरले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ ।
लत्ताकपडा लोड भएको पिकअप भेनलाई सात लाख मूल्याङ्कंन तोकेर आवश्यक कारवाहीका लागि मंगलबार राजश्व अनुसंन्धान विभाग क्षेत्रीय कार्यालय इटहरी बुझाएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जबेगूले जानकारी दिए ।
भद्रपुर भन्सार कार्यालयमा राजश्व तिरेर निस्किएको मे १ ज ३००९ नम्बरको पिकअप भेनमा लोड गरिएको लत्ताकपडा माथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । भन्सार कागजात अनुसार सामान नमिलेपछि प्रहरीले सामान सहित पिकअप भेनलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जबेगूले बताए । ‘गाडीमा १५ पोका कपडा लोड भएको छ’ –प्रहरी निरीक्षक जबेगूले भने– ‘कारोबारीको भन्सार कागजात हेर्दा त्यसमा १३ पोका मात्र उल्लेख गरिएको छ, दुई पोका बढी भेटिएकोले आवश्यक कारवाहीका लागि राजश्व बुझाएका हौं ।’
घटना विवरण अनुसार कारोबारी सोनु गुप्ताले माला स्टोर बिर्तामोडको नाममा भद्रपुर भन्सारमा सोमबार दिउँसो जाडोको कपडा भनी राजश्व तिरेर बिर्तामोड लैजान खोजेका थिए । भद्रपुर भन्सारबाट निस्किएको सामानसहितको भेनलाई सय मिटर वर प्रहरी चेकिङ टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा भन्सार कागजातमा १३ पोका र भेनमा १५ पोका कपडा फेला परेको बताइएको छ ।
यता भद्रपुर भन्सार कार्यालय प्रमुख फणिन्द्र खतिवडाका अनुसार भन्सार कागजात अनुसार भेनमा लोड गरिएको सामानको परिमाणमा कुनै त्रुटी नभएको, कम्प्युटरमा इन्ट्री गर्दा त्रुटी भएको बताएका छन् । ‘भन्सार कर्मचारीको सेटिङमा कुनै काम नभएको दाबी गर्दै भन्सारका सुब्बा रेवतीराज गिरीले भने– ‘कारोबारीले तीन हजार पिसकै भन्सारमा राजश्व तिरेको छ, एउटा पोकामा दुई सयका दरले १५ वटा पोका छन् । कारोबारी र भन्सार कर्मचारीले कागजात नहेर्दा यस्तो समस्या आएको हो ।’
गत असोज १५ गते पनि वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भन्सारबाट निस्किएको गाडीसहितको सामान भद्रपुर–५ स्थित बसपार्क छेऊ रहेको कारोबारीको गोदाम अगाडिबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले मे १ ज २०२९ नम्बरको पिकअप भेनमा लोड गरिएको १३ पोका अर्थात अन्दाजी १० लाख मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here