बाह्रदशीमा ११ तले भ्यूटावर

सुरेन्द्र भण्डारी
बिर्तामोड, । झापाको बाह्रदशी गाउँपालिका– ६ मा रहेको कञ्चनगढ साधुकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ११ तले भ्यूटावर निर्माण गरिने भएको छ ।
जसका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा तयार गरेको गुरु योजना अनुसार भ्यूटावर निर्माणका लागि तीन करोड रुपैयाँ लाग्ने भएको छ ।
पाँच वर्षभित्रमा भ्यूटावरसहित फन पार्क, वन्यजन्तु संरक्षण क्षेत्र, कञ्चनगढ पोखरीको विस्तार गर्दै हरित पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप गाउँपालिकाले चालू आर्थिक वर्षमा सो रकम विनियोजन गरेको गाउँपालिकाका कार्यकारी अधिकृत तुलसी नेपालले जानकारी दिए । उनका अनुसार भ्यूटावर निर्माणका लागि अहिले ‘स्वेल टेष्ट’को काम भइरहेको छ । गत आर्थिक वर्ष नै गाउँपालिकाले गुरु योजना तयार गरेकाले ‘स्वायल टेष्ट’लगत्तै भ्यूटावर निर्माणको काम शुरु गर्ने गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए ।
पाँच वर्षभित्र कञ्चनगढ साधुकुटीलाई प्रदेश नम्बर १ कै उत्कृष्ट धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न पाँच वटा रणनीति अवलम्बन गरिएको अध्यक्ष राजवंशीले बताए । राजवंशीका अनुसार साधुकुटीलाई नेपाल सरकारको कानूनी मान्यता दिँदै संस्थागत विकासका लागि आवश्यक नीति–नियमहरुको निर्माण गरी तिनीहरुको अक्षरशः कार्यान्वयन गर्दै उत्तरदायी संस्थाको रुपमा विकसित गरिने भएको छ ।
त्यस्तै हाल स्वामित्वमा रहेको साधुकुटीको जमिनलाई विस्तार गर्दै धार्मिक पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधारहरुको निर्माण गर्ने, सबल र दिगो आर्थिक श्रोतको व्यवस्था गर्न नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय तथा व्यक्तिगत दाताहरुसँग सम्पर्क र समन्वयलाई अगाडि बढाउने रणनीति अपनाइएको छ ।
यसैगरी आधुनिक सूचना प्रविधि सहितको प्राचीन÷अर्वाचीन शिक्षा पद्धति विकासका लागि आवश्यक मानव संशाधनको उत्पादनका लागि क्षमता अभिवृद्धि क्रियाकलापहरुमा जोड दिने र धार्मिक आस्था र अध्यात्मिक शुद्धता कायम गर्दै स्वच्छ वातावरणयुक्त पयर्टकीय क्षेत्र निमार्णका लागि सम्पूर्ण सरोकारवाला तथा अधिकारवालाहरु परिचालन गरिने छ । प्रदेश सरकारबाट समेत भ्यूटावर निर्माणका लागि आर्थिक सहयोग जुट्ने भएपछि भ्यूटावर निर्माणमा सहज हुने गाउँपालिकाका कार्यकारी अधिकृत नेपालले बताए । कञ्चनगढ साधुकुटीमा निर्माण गरिने भ्यूटावर धरहरा भन्दा अग्लो हुने र कञ्चनगढबाट विराटनगरसम्मको दृष्य देख्न सकिने कार्यकारी अधिकृत नेपालको भनाइ छ ।

कञ्चनगढ साधुकुटीको ऐतिहासिक महत्व

बाह्रदशी गाउँपालिका वडा नं. ६ मा रहेको साधुकुटीको ऐतिहासिक पृष्ठभूमिको कुनै लिखित अभिलेखहरु छैनन् । साधुहरुले आफ्नो तपोभूमिको रुपमा यस स्थानलाई उपयोग गरेको यस क्षेत्रमा बसोबास गर्नेहरुको भनाइ छ । स्थानीय ज्येष्ठ नागरिकहरु र सन्तहरुको अभिव्यक्ति तथा प्रवचनबाट यस ठाउँको ऐतिहासिक महत्व थाहा पाउन सकिन्छ । यस ठाउँका अगुवाहरुको भनाइ अनुसार यस क्षेत्रमा आदिम कालमा कतैबाट साधुहरु आएर बसेका थिए ।
विस १९९० तिर यस क्षेत्रलाई साधुहरुले आफ्नो तपोभूमिको रुपमा उपयोग गरेको जानकारहरु बताउँछन् । बाह्रदशीको ऐतिहासिक मान्यताहरु पनि रहेको पाइन्छ । प्राचीन कालमा यो ठाउँमा सलेश राजाको दरवार रहेको बताइएको छ । सलेश राजाकी एउटी छोरी थिइन् । छोरीको नाम कञ्चनकुमारी थियो ।
कञ्चनकुमारी बत्तीस लक्षणले युक्त भएको कारण किच्चक वंशको एक चुहरमल नामक राजकुमारले अपहरण गरेर लाने विचार गर्यो । यस्ती सुन्दरी नारीलाई पृथ्वी मार्गबाट लैजाँदा म भन्दा बलवान राक्षसहरुले खोस्लान भन्ने आशंकामा परेका चुहरमलले जमिनमुनि सुरुङ मार्ग बनाई हरण गरी लाँदा विहारको पटना छेउमा निकालेछ । यो बाह्रदशी क्षेत्रबाटै सुरुङ खनी कञ्चनलाई लगेको हुँदा आज यो ठाँउको नाम ‘कञ्चनगढ’ भनिएको बाह्रदशी गाउँपालिकाले तयार गरेको गुरु योजनामा उल्लेख छ ।
सलेश राजाकी छोरी कञ्चन सारै सुन्दरी भएको कारण अपहरणकारीले लैजान्छन् की भन्ने आशंकाले यही स्थलमा एउटा खाडल बनाएर राखेको हुँदा तत्कालीन भाषामा ‘गढ’ भनेको खाडल यो दुबै शब्द जोड्दा कञ्चनगढ अर्थात कञ्चनकुमारी बसेको खाडल हो भन्ने गरिएको छ ।
पछिसम्म यो सुरुङ थियो । शिवरात्री पर्वमा यहाँ मेला लाग्ने गथ्र्यो । यो मेला भर्न भारतको बिहारबाट आएका यात्रीहरुले मावल आएको भन्ने गर्थे । कञ्चनलाई लगेको गहिरो खाडललाई देख्दा तत्कालीन भाषामा कञ्चनगढ भनिएको हो भन्ने किंवदन्ती रहेको छ । १९९३ सालमा जंगबहादर राणाका कान्छा भाइ धीर शम्शेर राणाका छोरा चन्द्र शम्शेरकी एकमात्र छोरी रैती परिवारका नेत्रजंग थापालाई दिएपछि आफू अनुसारको दाइजो दिनै पर्ने भएकाले झापा जिल्ला वा दश मौजाको जिम्मेवारी वा पाँच–सात वटा कामतहरु आफ्ना ज्वाइँ छोरीलाई दाइजो दिइ कर्णेलपदबाट विभुषित गर्दै पठाउँदा कर्णेल नेत्रजंग थापाले यही बाह्रदशी कञ्चनगढ ढीप तराईको पहाड छनौट गरी तहशिल अड्डा स्थापना गरी बसे ।
सो समयमा सर्पले दिन र रातमा मात्र नभई सपनामा पनि दुःख दिन थालेपछि कर्णेल नेत्रजंगले तान्त्रिक साधुलाई सोधपुछ गर्दा यो ठाउँ शिवजीको बासस्थान हो । सर्प शिवजीको प्रतिक हुन्, त्यसैले यहाँ शिवजीको पूजा–अर्चना गर्नुपर्छ भनेपछि त्यसबेला बहुमूल्य पत्थरको शिवमूर्ति र नन्दी स्थापना गरी शिव पाञ्चायन पुजन गर्न शुरु गरेको गुरु योजनामा उल्लेख छ । जुन मुर्तिहरु २०३६ सालसम्म देखिन्थे ।
त्यस्तै, नेत्रजंगकी श्रीमतीले म यस स्थानमा शिवजीको प्रतिकको रुपमा एउटा बटबृक्ष रोप्छु भनेपछि उनले सबैको सल्लाहमा सुनको थालीमा वरको बिरुवा सहित पूजाको सामग्रीद्वारा भूमीपुजन गरी बरको विरुवा रोपिन् । त्यो वरको रुख हालसम्म पनि छँदैछ । त्यस्तै, घैलाडुव्वा निवासी विष्णुप्रसाद पोखरेल र हंशनारायण राजवंशीका अनुसार १९८९ सालमा भारतको विहारबाट एक शक्तिशाली जटाधारी साधु तपस्वी आएर दुईवटा ताडीका रुख उत्तरपट्टि बरको फेदमा धुनी जगाई चिम्टा गाडेर बस्थे । उनीहरु नभएको बेलामा त्यो ठाउँमा बाघ सुतिरहेका हुन्थे । यिनै योगी तपस्वीसँग अरु साधुहरु पनि आएर बस्ने गर्दथे । साधु आएर कुटी बनाएर बसेकोले यहाँको नाम साधुकुटी भन्न थालिएको हो ।
१९९३ सालमा सबै जग्गा नापी भएपछि तहशिल ठाना र बजारको समेत व्यवस्था भई यो ठाँउले मौजाको रुप धारण गरेको हो । २००७ सालको क्रान्तिपछि उक्त कार्यालयहरु अड्डा सार भइ झापा गएपछि २०१५ साल असार १६ गतेदेखि यहाँ एक मिश्री गिरी नामका साधुले बसोबास गरी हेरचाह गर्दै मन्दिरको दैनिक पूजापाठको जिम्मेवारी निर्वाह गर्दै आए । २०१५ सालदेखि ३२ सालसम्म मिश्री गिरी नामका साधुले मन्दिर र यो ठाँउको रेखदेख गर्दै आएका थिए ।
२०३२ सालमा सट्टाभर्नाबाट यहाँ बसोबास ल्याएपछि २०३४ सालपछि यी साधु मिश्री गिरी आफ्सेआफ हराए । यहाँबाट कता गए कसैलाई थाहा भएन । पुजारी हिँडेपछि मन्दिरका मूर्ति र पूजा सामग्री पनि हराउँदै गए । २०३२ सालदेखि २०३७ सालसम्म समितिले गरेका कामको कुनै अभिलेख नभेटिएकाले केही भन्न सक्ने अवस्था नरहेको कञ्चनगढ गौरीशंकर स्मारिकामा उल्लेख छ । त्यसपछि तत्कालीन डाँगीबारी गाँउपञ्चायतको तर्फबाट रामचन्द्र कँडेल, मधुराम पनेरु लगायतको अध्यक्षतामा समिति गठन गरी यो धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्ने कार्य हुँदै आयो । २०३७ सालमा रामचन्द्र कँडेलको अध्यक्षतामा गठित कार्य समितिले दुर्गामन्दिर, काली मन्दिर र गुठी निर्माण गर्नुका साथै यस संस्थाको सीमा रेखाङ्कन गर्ने कार्य गर्यो ।
२०४६ सालको जनआन्दोलनपछि गाविसबाट मनोनित मधुराम पनेरुको अध्यक्षतामा गठित नौ सदस्यीय कार्यसमितिले तत्कालीन पुजारी जगन्नाथ उप्रेतीको पहलमा साविक गरामनी गाविस– २ निवासी गंगाप्रसाद प्रसाई र श्रीमतीद्वय छायाँदेवी र इन्दिरा प्रसाईको छोरा–बुहारी भीष्मप्रसाद र सुभद्रा प्रसाईंले २०५० सालमा प्रदान गरेका शिवपाञ्चायन मुर्तिका साथै दुर्गा मूर्ति स्थापना गरियो । साथै चन्द्रप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरी सम्बन्धित निकायबाट विधान (कञ्चनगढ गौरीशंकर शिवालय) २०५३ दर्ता गराई २०५४ साल पुस ६ गते प्रथम साधारणसभा गराई कार्यसमिति गठन गरियो ।
प्रथम साधारणसभाबाट घनश्याम गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरियो । सो समितिले २०४६ साल असार ७ गतेको निर्णय अनुसार नेपाल रेडक्रस सोसाइटी उपशाखा डाँगीबारीसँग सम्झौता गरी बृक्षरोपण गर्ने कार्य अन्तर्गत काँडे तारबार लगाई मसला, शिरिस आदि विभिन्न जातका विरुवा १५ वर्षे अवधि तोकी लगाउने कार्य गर्यो । २०५७ साल कात्तिक २८ गतेदेखि चन्द्रप्रसाद खरेलको अध्यक्षतामा गठित समितिले नौ दिने श्रीमद् शिवमहापुराण लगायो । पुराण आचार्य दुर्गाप्रसाद खतिवडाको प्रमुख आचार्यत्व र पं.श्री तुलसीराम तिम्सिनाको व्यासत्वमा धनधान्यान्चल महायज्ञ सम्पन्न भयो । सो महायज्ञ पश्चात आचार्य खतिवडाको प्रस्तावमा संस्थाको दिगो विकास र दैनिक कार्य सञ्चालनका लागि मुष्ठिदान र अक्षयकोषको स्थापना गरियो ।
सो अक्षयकोषमा छ सय ३४ जना सदस्य छन् । उनीहरुले प्रदान गरेको रकमबाट कोषमा १० लाख एक हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । संस्थामा मुष्ठिदान गर्ने दाताहरु चार सय ८४ जना रहेका छन् । २०५८ साल श्रावण ३ गते तत्कालीन जिल्ला सभापति अर्जुन राईको आतिथ्यमा सत्संग भवन शिलान्यास गरी चन्द्रप्रसाद खरेलको संयोजकत्वमा पाँच सदस्यीय सत्संग भवन निर्माण उप समिति गठन गरी कञ्चनधाराको व्यवस्थापन गर्ने, आँपका बूढा रुख काटिए ।
२०५८ साल मंसीर १९ देखि २८ गतेसम्म लक्षहवन बराह महापुराण लगाइएको थियो । श्रीमती साबित्रा कँडेलको संयोजकत्वमा गठित उप समितिले फुसको छाना भएको यज्ञशालालाई पक्की टिनको छानो बनायो । उक्त यज्ञशालामा लक्षहवनदेखि आजसम्म दैनिक हवनकार्य भइरहेको छ । २०५९ साल भदौ २२ गतेको निर्णय अनुसार विधान संशोधन गरी ‘श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम’ नामाकरण गरी कार्य सञ्चालन भइरहेको छ । २०६० सालमा ब्रम्हामहापुराण सञ्चालन, २०६१ साल साउन १ देखि मंसीर २५ गतेसम्म अधिकमासका साथै चतुर्मासा श्रीमद्स्कन्द महापुराण सम्पन्न, २०६१ मंसीर १६ देखि २६ सम्म श्रीमद् स्कन्द महापुराण सम्पन्न गरी सोही दिनदेखि गुरुकुल सञ्चालन भयो । त्यसयता संस्थामा प्रत्येक दिन शिव अनुष्ठान, रुद्राभिषेक, बालाचर्तुदशीमा सद्विज छर्ने कार्य हुनुका साथै सालैपिच्छे १८ पुराण लाग्ने गरेको छ । शिवरात्रीमा यहाँ केही समय अगाडिसम्म परम्परागत जलडाला मेला लाग्ने गर्दथ्यो । यहाँ मेला भर्न भारतको विहार लगायतका स्थानबाट मानिसहरु आउने गर्दथे –गुरु योजनामा भनिएको छ ।

कञ्चनगढमा भौतिक संरचना

कञ्चनगढ धाम परिसरमा शिवालय मन्दिर, सरस्वतीको मन्दिर, काली मन्दिर, दुर्गा मन्दिर, सन्तोषी माताको मन्दिर, राधाकृष्ण मन्दिर, गौरीशंकर ब्रम्हविद्यापीठ, गायत्री गुरु आश्रम, यज्ञशाला, स्वाध्येयशाला र निर्माणाधीन गुरुकुल गरी ११ वटा भौतिक संरचना रहेका छन् । कञ्चनधारा, कञ्चनपोखरी, नागपोखरी, प्राचीन कुटी, बटबृक्ष, ताडीबृक्ष आदि पनि रहेका छन् । सो स्थानसम्म पुग्न सडकको व्यवस्था छ । सडकहरु कच्ची छन् । वरिपरिको समथर जमिन र बीचमा अग्लो टापु भएको जमिनमा साधुकुटी अवस्थित छ । अग्लो डाँडो भएकोले त्यहाँ पुग्न जताबाट गए पनि उकालो चढेरै मात्र जान सकिन्छ । बिजुलीबत्ती र छेउमै खानेपानीको ट्यांकी भएकोले बिजुली र खाने पानीको व्यवस्था छ । संस्था परिसरमा तीन वटा शौचालय र एउटा स्नानगृह रहेका छन् ।

गुरुकुल शिक्षा सञ्चालन

२०६४ साल पुस १ गतेदेखि जिल्ला शिक्षा कार्यालय झापामा दर्ता भई गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रममा गुरुकुल सञ्चालन भएको हो । २०६५ साल साउन ५ गतेदेखि प्राचार्य हेमलाल ढकालले गुरुकुलमा शिक्षा प्रदान गरिरहेका छन् । हाल गुरुकुलमा दुईजना आचार्य गुरु, ३७ जना ब्राम्हण समुदायका शिष्यहरु अध्ययनरत छन् । गुरुकुलमा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, सुनसरी र झापा जिल्लाबाट आएका विद्यार्थीहरु अध्ययनरत छन् । विद्यार्थीलाई खाने बस्ने व्यवस्था गुरुकुलले निःशुल्क गरेको छ । गुरुकुललाई जिल्ला शिक्षा कार्यालय झापाले एक लाख ६८ हजार रुपैयाँ दिंदै आएको थियो । अहिले गाउँपालिकाले पनि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com