आत्मसन्तुष्टिका लागि जसले ६४ पटक रक्तदान गरे

 

 

(सुरेन्द्र भण्डारी)

बिर्तामोड, रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ ।

‘रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ’ ६४ पटक रक्तदान गरेका झापा अर्जुनधाराका ओमप्रकाश लुइँटेल भन्छन्–‘ २२ वर्षको हुँदा पहिलो पटक रक्तदान गरेको थिए, अहिले ६४ औं पटक भएछ ।’ उनी भन्छन्–‘रगत अभावका कारण मृत्यु शैयामा छटपटाई रहेको मानिसले नयाँ जीवन पाउँदा ठूलै पुण्य आर्जन गरेझैं लाग्छ र आत्मसन्तुष्टि हुन्छ ।’

मानवको सर्वाेत्तम कार्य नै सेवा सम्झने लुइँटेल रक्तदानलाई नै प्रमुख ठान्छन् र निरन्तर रक्तदान कार्यक्रममा सहभागिता जनाइरहन्छन् । स्वास्थ्य शरीर रहुञ्जेल निरन्तर रक्तदान गरिरहने आफ्नो लक्ष्य रहेको उनी बताउँछन् । उनी भन्छन्– ‘सय पटक रक्तदान गर्ने मेरो लक्ष्य छ ।’ रगत अभावमा तड्पिएका सय जनाले नयाँ जीवन पाए भने त्यो भन्दा ठूलो पुण्य के हुन सक्छ ? उनी प्रतिप्रश्न गर्छन ।

२०५५ सालमा पहिलो पटक रक्तदान गरेका लुइँटेलको रक्त समूह ‘ओ पोजेटिभ’ हो । तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्ने गरेका लुइँटेलले पछिल्लो समय २०६२ सालबाट निरन्तर रक्तदान गरिरहेका छन् ।

२०६२÷०६३ को जनआन्दोलनका क्रममा झापामा धेरै रगत अभाव थियो त्यस क्रममा पनि मैले रक्तदान गरेको थिए उनी भन्छन्–‘ नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर निरन्तर रक्तदान गर्न थालेपछि अहिले रेडक्रसले मात्र होइन जसलाई रगत चाहिएको हो उनका आफन्तले पनि मलाई सोझैं फोन गर्छन ।’

झापामा वर्षेंनि २० हजार युनिट रगत खपत हुन्छ नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल भन्छन्– ‘लुइँटेल जी जस्ता महानुभावकै कारण झापामा आवश्यक पर्ने रगत संकलन गर्न हामी सफल भएका छौं ।’

ढकालका अनुसार झापामा धेरै पटक रगत दान गर्ने लुइँटेल सहित हल्दिवारी गाउँपालिका निवासी नेत्रविक्रम विमली, भद्रपुर निवासी तोर्ण विक्रम कार्की र दमकका राजकुमार श्रेष्ठ हुन् । उनीहरुले ६० पटक भन्दा बढी रक्तदान गरिसकेका छन् ।

नेपालमा वि.सं. २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजसेवी दयावीरसिंह कंशाकार नेपालका प्रथम रक्तदाता हुन् । उनले वि.सं २००० मा रक्तदान गरी ‘रक्तदान जीवनदान’ अभियान सुरु गरेका थिए । सो अभियान अहिले पनि जारी छ ।

नेपाल रेडक्रस सोसाइटीले अहिलेपनि विभिन्न समयमा विभिन्न ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको हुन्छ । नेपाल रेडक्रस सोसाईटीसंगै जिल्लामा रहेका विभिन्न सामाजिक संघ संस्थाले पनि रक्तदान कार्यक्रम सञ्चालन गर्ने र जिल्लामा देखिएको रगत अभाव टार्न मद्दत मिल्ने गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति ढकालको भनाई छ । उनका अनुसार वीरता जेसीजले सन २०१८ मा आयोजना गरेको कार्यक्रममा सवैभन्दा बढीले रक्तदान गरेका छन् । वीरता जेसीज सन २०१८ का अध्यक्ष एकराज गिरीका अनुसार १७८ जनाले सो कार्यक्रममा रक्तदान गरेका थिए ।

नेपालमा वर्षेनि करिब तीन लाख युनिट रगत चाहिन्छ । जसमध्ये ३० हजार युनिट रगत झापामा संकलन हुने गरेको छ नेपाल रेडक्रस सोसाइटी झापाका सभापति ढकाल भन्छन्– ‘यहाँ संकलित रगत विराटनगर, धरान , लाहान, काठमाडौंसम्म जाने गरेको छ ।’ संकलित रगत ३५ दिनसम्म प्रयोग गर्न सकिने र ३० दिन सम्ममा झापामा त्यो रगत खपत नभए वाहिर पठाउने गरेका छौं ढकालले भने ।

पछिल्लो समय झापामा नेगेटिभ रक्त समूहको रगतको माग बढेको बताइन्छ । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा तीन वटा रक्तसंचार केन्द्र र तीन अस्पतालमा छुट्टा छुट्टै युनिट सञ्चालन गरेको छ । त्यसवाट आवश्यक रगतको परिचालन गरिदै आएको छ ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार बिर्तामोड, भद्रपुर र दमकमा तीन वटा रक्तसञ्चार केन्द्र छन् भने दमकको लाइफलाईन अस्पताल, आम्दा अस्पताल र विर्तामोडमा रहेको वीएण्डसी अस्पतालमा छुट्टा छुट्टै युनिट सञ्चालनमा छन् ।

पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर, हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ तसर्थ स्वास्थ्य परीक्षण गराएर रक्तदान गर्न म सवैलाई आग्रह गर्छु नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सभापति सजेश शिवाकोटीले भने ।

कस्ता व्यक्तिले रक्तदान गर्ने

स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुने चिकित्सकले बताएका छन् । रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो हुनेले मात्र रक्तदान गर्न सक्ने चिकित्सकको भनाई छ ।

साथै मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय, यौनरोग तथा एचआईभी र एड्स नलागेको हुनुपर्छ । गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन । महिलाले सुत्केरी भएको ६ महिनापछि रक्तदान गर्नुपर्छ । रक्तदाताको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन र दान अगाडि धूमपान गर्नुहुँदैन । रक्तदानको २४ घण्टाअघि र पछि रक्सी वा अन्य लागूपदार्थ सेवन गर्नुहुँदैन ।

रगतको प्रकार

रगतको वर्गीकरण ए, बी, ओ तथा एबी र पोजिटिभ तथा नेगेटिभ भनेर गरिएको हुन्छ । रेसस माकासस बाँदरको रगतमा पाइने तत्व भएको रक्त समूहलाई आरएच पोजिटिभ र नभएकालाई आरएच नेगेटिभ समूह भनिन्छ । अरू समूह रगतमा पाइने एन्टिजेनको आधारमा विभाजन गरिएको हुन्छ । कुनै एन्टिजेन नभएमा ओ, एन्टिजेन अनुसार ए, बी र दुवै प्रकारको एन्टिजेन भएमा एबी भनिन्छ ।

३५ देखि ४० प्रतिशत नेपाली ए पोजिटिभ, २९ प्रतिशत ओ पोजिटिभ, २७ प्रतिशत बी पोजिटिभ र १० देखि १२ प्रतिशत एबी पोजिटिभ रक्त समूहका छन् । ९९.४ प्रतिशत नेपाली पोजिटिभ समूहको छन् भने ०.६ प्रतिशत ९ अहिले बढेर २ प्रतिश (आरएच नेगेटिभ) अर्थात् हाल नेपालमा १०० व्यक्तिमा दुई जनाको रक्त समूह नेगेटिभ छ । यो समूह विरलै भएकाले फ्रेन्ड्स अफ आरएच नेगेटिभ ब्लड ग्रुप गठन गरिएको छ ।

नेपाल रक्तसञ्चार केन्द्रले यो रगत समूहका व्यक्तिहरूको नाम, ठेगाना र सम्पर्क नम्बरलगायतको लगत राख्ने गरेकाले आवश्यक पर्दा मोबाइल वा एसएमएसबाट यो समूहको रगतको खोजी गर्न सकिन्छ । यसमा पनि ओ नेगेटिभ समूहको रगत पाउन निकै गाह्रो छ । ‘युनिभर्सल डोनर’ भनिने यस्तो समूहका व्यक्तिले आपतमा जुनसुकै रगत समूहको बिरामीलाई नजाँचीकनै रगत दिन सक्छन् । यस्तो अवस्थामा यौन तथा अन्य सरुवा रोग सर्ने सम्भावना भने रहन्छ ।

के हो रगत ?

रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्बनडाइअक्साइड, युरिया जस्ता विकार ओसार–पसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्बनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ । शारीरिक तौलको ७ प्रतिशत भाग रगत हुन्छ भने त्यसमध्ये ६० प्रतिशत भाग प्लाज्मा ‘९० प्रतिशत पानी र १० प्रतिशत पोषक तत्व’ हुन्छ । रगतको बाँकी ४० प्रतिशत भागमा भने ठोस पदार्थ ‘रातो रक्तकण, श्वेत रक्तकण र प्लेटलेट्स’ हुन्छन् ।

यस्ता छन् रक्तदान गर्नुका फाइदा

एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ रहन्छन् । तर त्यसका लागि पहिले हेल्थ चेकअप, ब्लडमा हेमोग्लोबिनको मात्रा र आइरनको मात्रा चेक गर्नु जरुरी छ । तीन महिनाको अन्तराल अघि रक्तदान गर्नु राम्रो हुँदैन । हरेक तीन महिनामा रक्तदान गर्नाले शरीरमा रहेको आइरनको मात्रा नियन्त्रण गर्न सघाउ गर्छ । खासगरी पुरुष जसमा मुटुरोगको सम्भावना केही कम रहन्छ । शरीरको सञ्चालनका लागि आइरनको महत्वपूर्ण भूमिका रहन्छ तर यसको परिणाम धेरै हुँदा अक्सिडेटिब ड्यामेज हुनसक्छ । जसका कारण एजिङ, हृदयघात र स्टोकको समस्या देखिन्छ । शरीरमा आइरनको मात्रा धेरै हुनु क्यान्सरजस्तो बिरामीको कारण हुनसक्छ । यस्ता समस्याबाट बच्न समय समयमा रक्तदान जरुरी छ । अनुसन्धानले पनि यो कुरालाई मानेको छ कि रक्तदानले क्यान्सरको सम्भावनालाई शतप्रतिशतसम्म कम गर्छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com