सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा

झापा,सर्वाेच्च अदालतको आदेशलाई अबज्ञा गर्दै मेची अञ्चल अस्पताल भद्रपुर परिसरमा दर्जन बढी क्लिनिक सञ्चालनमा रहेको पाइएको छ ।
२०७२ साल असार १४ गते अन्तरिम आदेश जारी गर्दै साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन नगर्न सर्वाेच्च अदालतले आदेश जारी गरेको थियो । तर, सर्वाेच्चको आदेशलाई नै अवज्ञा गर्दै मेची अञ्चल अस्पताल परिसरमा दर्जनौं क्लिनिक सञ्चालनमा रहेका छन् । सरकारले उपलब्ध गराउने निःशुल्क औषधि वितरण सेवा अस्पताल आफैंले शुरु गर्नुपर्ने भन्दै निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेश अनुसार २०७२ साउन १ देखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न पाइँदैन । तर, हाल सम्मपनि सर्वोच्चको आदेशको अवज्ञा गर्दै अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालनमा रहँदासम्म नियमनकारी निकाय मौन रहेको छ ।
सर्वोच्चको आदेश सरकारी अस्पतालबाटै अवज्ञा भएपछि अदालतले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा आदेश दिएको थियो । अदालतले निजी व्यक्तिलाई भाडा वा ठेक्कामा आफ्नो हाताभित्र फार्मेसी खोल्न दिने काम नगर्नू र नगराउनू भनि दिएको आदेशको मेची अञ्चल अस्पताल भद्रपुरले अवज्ञा गरेको छ । अहिले अस्पताल हाता भित्र शुष्मा, कविता, दुर्गा, तिम्सिना, कन्काई मेडिकल हल लगायत दर्जन बढी निजी फार्मेसी सञ्चालनमा छन् ।
सरकारले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने नीति अख्तियार गरेसंगै मेची अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । तर, सो फार्मेसीमा अस्पतालमा सेवा लिन आएका विरामीले सरकारले उपलब्ध गराएका ७० प्रकारका निःशुल्क औषधि नपाइने गरेको गुनासो गरेका छन् ।
सरकारले सबै सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने भन्दै ‘अस्पताल फार्मेसी सेवा निर्देसिका २०७२’ ल्याएको थियो । सरकारले नीति ल्याए पनि त्यसको कार्यान्वयनमा चासो नदिँदा मेची अञ्चलवासी समस्या पर्ने गरेको बताइएको छ । सरकारी अस्पतालमा भने अनुसारको सेवा र नपाउँदा सर्वसाधारण निजी अस्पताल धाउन वाध्य छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालबाट ७०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र स्वास्थ्य चौकीबाट ३५ प्रकारका निःशुल्क औषधि बिरामीलाई उपलब्ध गराउदै आएको छ । नेपालमा २५ शैया सम्मका ६६, पचास शैयाका १५, एक सय शैया सम्मका ११ र एक सय शैया भन्दा माथिका १२ गरी जम्मा १०४ सरकारी अस्पताल संचालनमा रहेका छन् । उनीहरु सबैले आफ्नै फार्मेसी संचालन गर्नुपर्ने निती सरकारले लिएको छ । तर, मेची अञ्चलकै पुरानो अस्पताल भद्रपुरले सरकारको नीतिको अवज्ञा गरेको पाइएको छ ।
यता यस विषयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्वर ठाकुरसंग यस विषयमा वुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।
अस्पतालले आफ्नै स्वामित्वमा औषधि बिक्री केन्द्र (फार्मेसी) सञ्चालनमा ल्याएपनि अस्पतालले निःशुुल्क प्रदान गर्ने सवै प्रकारका औषधि नभएपछि विरामीले निजी फार्मेसीमा किन्न बाध्य भएको बताइएको छ । अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी तत्कालीन झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री र अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका थिए । अस्पतालका बिरामीलाई अस्पतालभित्रै सस्तो र सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको थियो ।
फार्मेसी इन डिप्लोमा गरेका चार जना कर्मचारी नियुक्त गरी सञ्चालनमा ल्याइएको फार्मेसीमा ८ सय ५ प्रकारका मेडिकल औषधि र २ सय ५० प्रकारका सर्जिकल औषधि पाइने अस्पतालका मेडिकल सुपरिटेन्डेन (प्रमुख) डा. ठाकुरले जानकारी गराएका थिए । मन्त्रालयबाट प्राप्त १५ लाख रुपैयाँबाट फार्मेसी सञ्चालनमा ल्याइएको अस्पतलाका प्रमुख डा. ठाकुरको भनाई थियो ।
तीन वटा काउन्टर, कम्प्युटर बिलिङ, सिसी क्यामेरा जडानसहितको फार्मेसी अहिले सञ्चालनमा रहेकोा छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com