सरकारबिरुद्ध देशभर कांग्रेसको प्रदर्शन

पार्थ मण्डल

भद्रपुर । मुलुकमा भ्रष्टाचार, मंहगी, हत्या, हिंसा, बलात्कार बढेको भन्दै त्यसको बिरोधमा नेपाली कांग्रेसले सोमवार देशभरका जिल्ला सदरमुकाममा बिरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनका क्रममा सरकारको कार्यशैलीको बिरोध र आलोचना गरिनुका साथै भाषणका क्रममा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागे । यता प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा नेपाली कांग्रेसले सरकारबिरुद्ध शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको देशव्यापी पूर्व घोषित कार्यक्रममा अनुसार नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाले सदरमुकाम भद्रपुरमा वृहत विरोध प्रर्दशन गरेका हो ।
झापाका १५ वटै स्थानीय तहबाट सदरमुकाममा भेला भएका कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाउँदै हातमा कालोपट्टि बाँधेर सरकारविरुद्ध नाराबाजी गर्दै बृहत् बिरोध र्याली प्रदर्शन गरेका थिए ।
लेखनाथचोकबाट शुरु भएको र्याली चन्द्रगढी बजार परिक्रममा गर्दै गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानको प्राङ्गणमा आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा कांग्रेस कार्यकर्ताहरुले केपी ओली सरकार मुर्दावाद, डा. गोविन्द केसी जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर, हत्याहिंसा बन्द गर जस्ता चर्को नाराबाजी गरेका थिए ।
यता कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले भनिन्– ‘प्रधानमन्त्री भनेको देशको अभिभावक हो, नेकपाको प्रधानमन्त्री होइन, जनताको प्रधानमन्त्री भन्ने कुरा केपी शर्मा ओलीले बुझ्नुपर्छ ।’ दुई तिहाईको दम्भ देखाएर सरकारले नेपाली कांग्रेसलाई सदनमा जिस्क्याएकोले हामी सदनदेखि सडकसम्म आन्दोलित भएका हौं– प्रसाईले भनिन् ।
‘प्रधानमन्त्रीकै गृह जिल्लाबाट कांग्रेस भन्न चाहन्छ’– उनले भनिन्– ‘हामीलाई धेरै नजिस्क्याइयोस्, नत्र राणा र राजा शासन जस्तै बर्तमान सरकार ढाल्छौं ।’
त्यस्तै प्रदेश सांसद ओमप्रकाश सरावगीले वर्तमान सरकारले जनताको लागि कुनै काम गर्न नसकेको आरोप लगाउँदै देशलाई मंहगी र भ्रष्टाचारतर्फ धकेलिएको आरोप लगाए । बलात्कारीलाई वर्तमान सरकारले आफंै सुरक्षा दिँदा ५ महिनामा २३ सय महिला बलात्कृत भएको बताउँदै पूर्वसांसद महिन्द्राकुमारी सुब्बाले भनिन्– ‘सुन तस्कर र वाइडवडी प्रकरणका दोषी र भ्रष्टाचारीलाई कारवाहीका दायरामा नल्याए सरकारविरुद्ध नेपाली कांग्रेस कडा आन्दोलन उत्रिने छ ।’
नेपाली कांग्रेसका झापा सभापति उद्धव थापाको अध्यक्षतामा भएको कोणसभामा पूर्वसांसद सुधिर शिवाकोटी, कांग्रेसका झापा उपसभापति राम कट्टेल लगायतले सरकारको चर्को आलोचना गरेका थिए ।
कोणसभा पश्चात कांग्रेस कार्यकर्ताहरु पुनः र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय झापा पुगेका थिए । प्रशासन कार्यालय पुगेर कांग्रेसले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com