वैदिक युगको समाज र धर्मशास्त्र


चिन्तामणि दाहाल

वैदिक युग भनेको आज भन्दा ५ हजार बर्ष भन्दा पुरानो हो । जुनवेला देखि मान्छेमा केही ज्ञान आयो तब केही लेख्ने, सोच्ने, नयाँ कुरा गर्ने र अनुसन्धान गर्नेमा ध्यान दिन थालियो त्यही कुरा विकसित हुँदै वेद लेख्ने काम सुरु भयो । हुन त धर्मशास्त्रहरुलाई नै इतिहास सरह मान्ने हो भने वैदिक युग भनेको अति प्राचिन युग हो । वैदिक साहित्यलाई हेर्दा यो युग एकदमै विकसित थियो भन्ने पुष्टि हुन्छ ।
वेद इश्वरले ऋषिमुनिहरुलाई सुनाएको ज्ञानमा आधारित छ । यसैले वेदलाई श्रुति भनिएको हो । वेदलाई लिपीबद्ध गर्ने काम भने ३५ सय बर्ष यता मात्र भएको मानिन्छ । साधारण अर्थमा वेद भनेको ज्ञान हो । वेद प्राचिन ज्ञान विज्ञानको भण्डार हो भन्ने कुरा यसको अध्ययनबाट थाहा हुन्छ ।
वेदमा मानवका हरेक समस्याको समाधान छ । वेदमा ब्रम्ह (इश्वर), देवता,ब्रम्हाण्ड,ज्योतिष,गणित, रसायन,प्रकृति, खगोल, भूगोल, धार्मिक नियम,इतिहास,रितिरिवाज आदि लगभग सबै विषयसँग सम्बन्धित ज्ञान भरिएको पाइन्छ ।
धर्मशास्त्रहरुमा बताइए अनुसार अग्नी,वायु,आदित्य र अंगिराले इश्वरको तपस्या गरेपछि ४ वेदको ज्ञान पाएको शतपथ ब्राम्हण ग्रन्थमा उल्लेख छ । ऋग्वेद, यजुर्वेद र सामवेदलाई अग्नी,वायु र आदित्य अर्थात सूर्यसँग जोडिन्छ । अथर्ववेदलाई अंगिरासँग जोडिन्छ । ब्रम्हाका ४ मुखबाट वेदको ज्ञान उनीहरुले पाएका हुन् ।
पूर्वीय जीवन दर्शनका मूख्य ग्रन्थ ४ वेद एकै समय र युगमा लेखिएका होइनन् । ऋग्वेद पहिलो, दोश्रोमा यजुर्वेद, तेश्रोमा सामवेद र चौथोमा अथर्ववेद लेखिएको पाइन्छ । वेद कुनै एक व्यक्ति वा लेखकले लेखेको पनि होइन । वेदलाई व्यासले संकलन गरेका हुन् । यो श्रुतिमा विभिन्न रुपमा छरिएर रेहेका थिए । त्यसैले उनलाई वेद व्यास भनिएको छ ।
विभिन्न समयमा त्यसवेलाका ऋषिमुनिहरुले एक‐एक ऋचा गर्दै वेद पुर्ण भएका हुन् । त्यसैले वेदका कतिपय कुरा एउटै वेदमा संग्रहित भएपनि विवादका छन् । वेदमा लेखिएको गायत्री मन्त्र विश्वामित्रले रचना गरेका हुन् ।
छोटोमा बुझ्नु पर्दा ऋग्वेद स्थिति, यजुर्वेद रुपान्तरण, सामवेद गतिशिल र अथर्ववेद जड मानिन्छ । त्यसैगरी ऋक लाई धर्म, यजुलाई मोक्ष,सामलाई काम र अथर्वलाई अर्थ पनि मानिन्छ । यिनै आधारमा धर्मशास्त्र,मोक्षशास्त्र, कामशास्त्र र अर्थशास्त्रको रचना भएको हो । ऋग्वेदले आर्यहरुको इतिहास, व्यवहार, प्रचलन, संस्कार, धर्म, उनीहरुले मान्ने देवी देवताका बारेमा बताउँछ । यजुर्वेदमा यज्ञका विधि,त्यसको प्रयोग गर्ने मन्त्र, कर्मकाण्ड र तत्वज्ञान अर्थात ब्रम्ह, आत्मा,इश्वर तथा पदार्थको ज्ञान रहेको छ ।
त्यस्तै सामको अर्थ संगीत, सौम्यता र उपासना हो । यस वेदमा ऋग्वेदका ऋचाको संगीतमय रुप रहेको छ । यसलाई संगित शास्त्रको मूल मानिन्छ । अथर्वको अर्थ कम्पन र आर्थिक कुरा पनि हो अर्थात ज्ञानदेखि श्रेष्ठ बुद्धि लाई प्राप्त गरेर मोक्ष प्राप्त गर्ने यस वेदलाई अकम्प बुद्धिलाई धारण गरेर मोक्ष प्राप्त गर्नु पनि हुन्छ । यसमा रहस्मयी विद्या, जडिबुटि, कला‐ ास्तुकलाको ज्ञान, जादु टोना अर्थात तन्त्रमन्त्रको कुरा उल्लेख छ ।
अझै छोटोमा वेदलाई बुझ्न यी वेदका उपवेद बुझ्दा सजिलो हुन्छ । यी वेदका उपवेद हुन्‐ ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद ।
यी वेदमा कुनै पनि जातिलाई उँचनिच मानेर छुवाछुत गर्ने चलनको जिक्र गरिएको छैन । थिएन पनि । वेदमै भनिएको छ ‘जन्मना जायते शुद्र संस्कारात द्विज उच्यते’अर्थात जन्मँदा सबै मानिस शुद्र हुन्छन् । जब उनीहरुको संस्कार गरिन्छ तब सबै ब्राम्हण अर्थात दुइपटक जन्मेको एक पटक आमाको गर्भबाट अर्को पटक संस्कार गरेपछि भन्ने हो ।
त्यसैले वैदिक समाजमा सबैको संस्कार गरिन्थ्यो । संस्कार र कर्मबाट मान्छे ऋषि हुन्थ्यो । भएका धेरै उदाहरण छन् । संस्कार नगरेकोलाई शुद्र भनिएपनि छुवाछुत भने थिएन । पछि उपनिषदहरुको निर्माणपछि छुवाछुत र भक्ष अभक्षको कुरा लेखियो र त्यसै आधारमा बर्णको व्यवस्था गरिएपछि छुवाछुत सुरु भयो ।
हामीले छुवाछुत विरुद्धको अभियानका लागि वैदिक समाजबाट उदाहरण लिनुपर्छ । त्यसवेलाका ऋषिमुनिहरु घुम्दै डुल्दै गएर जहाँ जसकोमा पनि बास बस्थे र उसले पकाएको सहजै खान्थे । त्यसैले अहिले हामीले छुवाछुतको व्यवहारलाई सहजै हटाएर अघि बढ्नु पर्छ । यो धर्म, वेद र धर्मशास्त्र विरुद्ध होइन । यो केही व्यक्तिहरुको कुरितिगत उपज हो ।
धर्मशास्त्र ः
धर्मशास्त्र हामीले पढ्यौं, सुन्यौं, सुनायौं तर सही व्याख्या गरेनौं । त्यसको तात्पर्य बुझेनौं । हाम्रा धर्मशास्त्रका कथाहरुले दिएको सन्देशले छुवाछुत र उँचनिच भन्दैन । राम्रो र नराम्रो प्रबृत्तिको मात्र कुरा गर्छ ।
त्यसैलेत राक्षसकुलका युवतीसँग देवता र मानवहरुको विवाह भएको, मानवका युवतीहरुको राक्षसकुलका युवकहरुसँग विवाह भएको, दक्षप्रजापतिको कुप्रबृत्तिका भएपनि उनका छोरीहरुको विवाह देवताहरुसँग भएको, शिवको विवाह सतीसँग भएको । हिमालय पुत्री अर्थात किरात युवतीसित शिवको विवाह भएको कथा लेखिएको हो । यस्ता धेरै उदाहरण छन् ।
त्यसैगरी शिवजीले दक्षलाई मारेर पनि अर्थात उसको कुप्रबृत्तिलाई मारेपछि उसको गलत सोच राख्ने टाउकोको स्थानमा बोकाको टाउको त्यो पनि उल्टो जोडिदिएर बचाएको कथा छ । यस कथाले गलत प्रबृत्तिको नाश गर्नु आवश्यक छ । तर, त्यस्तो सोच परिवर्तन गराएर उसलाई सुधार्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । त्यसैगरी यस कथाले रुप लावण्य ठूलो कुरा होइन । बोकाको उल्टो टाउको जोडेर पनि दक्षको किर्ति र महत्व त्यसपछि घटेन भनिएको हो ।
त्यसैगरी हात्तिको टाउको जोडर बचाएका गणेश भगवान सबैका प्रिय छन् । नृसिंह अवतार विष्णुको अवतार हो । मत्स्य अवतार, कुर्म अवतार, बराह अर्थात सुँगुरको अवतारको कथाले कुनै प्राणी अछुत हुँदैन । त्यस्तै भगवानका आ‐आप्mना बाहन छन् । गणेशको मुसो, कुमारको मयुर, देवीको बाघ, विष्णुको गरुड, सरस्वतीको हाँस राख्नुको अर्थ सबै प्राणीको महत्व छ । उनीहरुमा पनि क्षमता छ भन्ने हो । यी त केही उदाहरण हुन् ।
सावरीले छोएको खीर खाएर रामले उनलाई मुक्ति दिँदा रामको जात गएन । भगवान बुद्धले एउटी तल्लो जात भनिएकी किशोरीले दिएको खीर खाएर ज्ञान पाए । उनको जात गएन । किन कि बुद्ध छुवाछुत मान्देनथे र मान्नु गलत हो भन्थे ।
प्रणामी धर्ममा पनि छुवाछुत र जात पाति हेरिँदैन । हाम्रै हिन्दु मन्दिरहरुमा खिचडीलाई सबैले छोएर छुवाएर बाँडिन्छ । प्रसादको रुपमा खाइन्छ । त्यहाँ छुवाछुत छैन । हुँदैन । हामी कुकुरलाई ओछ्यानमै सुताउँछौं तर एउटा दर्जी,कामी, सार्की अथवा डुमलाई निच जाति भनेर घरभित्र पनि पस्न दिँदैनौं । त्यही दर्जीले सिलाएको कपडाले सबै शुभकर्म हुने उसले छुनु नहुने । त्यही कामीले बनाएको भाँडामा पकाएको मिठो मानेर खाने उसले छोएको खान नहुने । यो कस्तो छुवाछुत हो । त्यही सार्कीले बनाएको जुत्तालाई भान्सा सम्म पनि लान पछि नपर्ने तर उसले छोएको खान नहुने । त्यही डुमले शौचालय र फोहोर लगेपछि घर आँगन सफा हुने उसैले छोएको खान नहुने । यो कस्तो व्याख्या रविश्लेषण हो ।
हाम्रै अहिलेकै समाजमा एउटा लिम्बुको छोरा वनारसमा संस्कृत पढेर विद्वान भएपछि व्यासासनमा बसेर पुराण भन्दा हुने तर अर्को लिम्बुले छोएको बाहुनले खान नहुने । यस्ता कुरा केही हजार बर्षका उपज हुन् । वैदिक समाजमा थिएन । त्यसैले वेदलाई मानेर हामी हिन्दुहरु ज्ञानी भएका हौं भने उसले भने अनुसार फोहोरी, असंस्कारीलाई , कुप्रबृत्तिलाई हटाऔं । तर, मान्छेले मान्छेलाई छोइछिटो नगरौं । हाम्रो धर्मशास्त्रको सारतत्व यही हो भन्ने पंक्तिकारलाई लाग्छ । यहाँलाई के लाग्छ ? । ण्ण्ण्ण्ण्ण्

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com