रक्तदानमा रमाउँदै ओमप्रकाश

झापा, दानको अर्थ हो दिनु । अर्थात आफूसंग भएको कुनै वस्तु आफ्नो अधिकार समाप्त पार्दै दोस्रो व्यक्तिका लागि अधिकार स्थापित गर्नु नै दान हो । संस्कृत शब्दमा दानको अर्थ दिनु, वितरण गर्नु, भुक्तानी गर्नु, पुरस्कार दिनु भन्ने बुझिन्छ ।


दान दिने स्वीकृति मनबाट, वचनबाट अथवा शरीरबाट स्वचालित भएर हुन्छ । दान स्विकार्नु प्रतिग्रहण कार्य हो,यो कार्य कुनै चिज लिनु दिनुसँग मात्रै सम्बन्धित हुँदैन । दान गर्नुले आत्मालाई समेत शान्ति मिल्ने विश्वास गरिन्छ । दानको अर्थलाई अहिले दिनदुःखी र निरिह मानिस वा प्राणीलाई मद्धत गर्नु लाखौं यज्ञभन्दा पनि बढी फलदायी हुने विश्वास लिइएको छ ।
दान सवै धर्म र सम्प्रदायमा कुनै न कुनै तवरले गर्ने गरिन्छ । त्यसमा पनि हिन्दू धर्ममा दानको छुट्टै महिमा छ । विद्या दान, भू– दान, अन्न दान, कन्या दान, गो – दान धर्मसंगै जोडिएको छ । हिन्दू धर्मावलम्बीहरुले मानिसको मृत्यु हुनै लाग्दा समेत आत्तुरी दान गर्नुले पनि दानको महिमा फराकिलो रहेको बुझ्न सकिन्छ ।

माथि चर्चा गरिएका दन जस्तै रक्तदान पनि महत्वपूर्ण दान हो । रक्तदानबाट गुम्न लागेको जीवनलाई फर्काउन सकिन्छ । स्वस्थ्य शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएका व्यक्तिले रक्तदान गर्न सक्षम हुने चिकित्सा विज्ञानमै उल्लेख गरिएको छ । रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो हुनेले रक्तदान गर्न सक्ने चिकित्सकको भनाई छ ।


भनिन्छ – ‘दान गर्नु बिर्सिदिनु अनिमात्र पुण्य मिल्छ ।’ झापा बिर्तामोडका एक दाता रक्तदान गर्न माहिर छन् । उनले धेरै पटक मृत्युको मुखमा छटपटाइरहेकालाई रगद दिएर ज्यान बचाएका छन् । अर्जुनधारा स्थायी घर भएका ओमप्रकाश लुइँटेल पेशाले व्यवसायी हुन् । उनी रगत दान गर्न मनपराउछन् र प्रत्येक तीन तीन महिनामा रक्तदान गरिरहन्छन् । २२ वर्षको उमेरदेखि रक्तदान गर्न सुरु गरेका ओमप्रकाश शरीर स्वास्थ्य रहुञ्जेल निरन्तर रक्तदान गरिरहने बताउँछन् । ६४ पटक रक्तदान गरिसकेका ओमप्रकाश अहिले पनि अरुलाई रक्तदान गर्न प्रेरित गर्दै भन्छन्– ‘स्वास्थ्य शरीर जीउनका लागि रक्तदान आवश्यक रहेछ ।’

‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भने झै ‘जहाँ रगत अभाव त्यहाँ ओमप्रकाश’ भएका छन् अहिले उनी । उनको संयोजनमा बिर्तामोडमा रक्तदान हुँदै आएको छ । आज पनि सहारा नेपाल सहकारी संस्थाले सहारा सप्ताह अन्तरगत बिर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसको संयोजन उनैले गरेका छन् । २ सय जनालाई रक्तदान गर्ने उनको अपेक्षा छ । सहारा नेपाल विर्तामोड सेवा केन्द्रको आयोजनामा हुने रक्तदान कार्यक्रम अग्रसेन भवनमा हुने र सबैलाई रक्तदान गर्न उनले आग्रह गरेका छन् । उनी भन्छन्– एक पटकको रक्तदानबाट मात्रै पनि लगभग ६ सय ५० किलो क्यालोरी नष्ट हुन्छ । यसले वजन नियन्त्रणमा ठूलो मदत गर्छ । हरेक तीन ÷तीन महिनामा रक्तदान गर्दा मानिस स्वस्थ्य रहन मद्दत मिल्छ ।’

ओमप्रकाशको रक्तदान प्रतिको लगाव देखेर नेपाल रेडक्रस सोसाइटी झापाले स्वर्ण महोत्सवको अवसर पारेर उनलाई सम्मान गरेको छ । निरन्तर रक्तदान आफूपनि गर्ने र अरुलाई पनि रक्तदान गर्न प्रेरित गराउने ओमप्रकाशले रक्तदान गरेकै कारण समाजमा छुट्टै छवि बनाएका छन् । अहिले कही कतै रगत आवश्यक परे रेडक्रसमा झैं लुईटेलको मोवाइलमा पनि फोन आउँछ । अझ ‘फ्रेस व्लड’ आवश्यक परे रेडक्रसमा भन्दा पहिलो फोन उनैलाई जाने गरेको छ । जुनसुकै ग्रुपको रगत आवश्यक परेपनि ओमप्रकाशलाई फोन जाने गरेको र उनैले दाताको नम्वर उपलब्ध गराउने गरेका छन् । रगत दन मै रमाउने ओमप्रकाश सामाजिक संघ संस्थामा पनि उत्तिकै सक्रिय छन् ।

नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार बिर्तामोड, भद्रपुर र दमकमा तीन वटा रक्तसञ्चार केन्द्र छन् भने दमकको लाइफलाईन अस्पताल, आम्दा अस्पताल र विर्तामोडमा रहेको वीएण्डसी अस्पतालमा छुट्टा छुट्टै युनिट सञ्चालनमा छन् ।
नेपालमा वर्षेनि करिब तीन लाख युनिट रगत चाहिन्छ । जसमध्ये ३० हजार युनिट रगत झापामा संकलन हुने गरेको छ नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल भन्छन– ‘यहाँ संकलित रगत विराटनगर, धरान , लाहान, काठमाडौंसम्म जाने गरेको छ, ओमप्रकाश जस्ता दानवीरकै कारण झापामा आवश्यक रगत उपलब्ध हुँदै आएको छ ।’

रक्तदान गर्नुलाई जीवन दान पनि भनिन्छ । ओमप्रकाशले गरेको रक्तदान मृगौला पीडितका लागि वढी प्रभावकारी देखिएको छ । उनी डायलसिसमा रहेका मृगौला पीडित, सुत्केरी महिला, दुर्घटनमा परेका व्यक्तिलाई रगत दिन बढी रमाउछन् ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com