बेबारिसे बच्चा राख्न आर्थिक चलखेल !

(पार्थ मण्डल)

भद्रपुर , मेची अञ्चल अस्पताल भद्रपुर । क्याविन नम्बर ५ । जहाँ भद्रपुरको सडकमा वेवारिसे भेटिएको एक महिनाको नवजात शिशु (छोरा) लाई राखिएको छ । वेवारिसे शिशुलाई हेरचाँहसँगै पालनपोषण गर्दै खनाल दम्पत्ती । जन्मदिने आमाले छाडेर गएका शिशुलाई धर्मपुत्र बनाउन खोजेका खनाल दम्पत्ती विगत १० दिन देखि शिशुको स्यारसुसार जुटेका छन् । उनीहरु दिनरात अस्पतालको क्याविनमा बसेर जन्मदिन आमा भन्दा पनि बढी मायाममता दिएर शिशुलाई हुर्काइरहेको दृष्यले सबैको मन छुन्छ । शिशुलाई दुध खुवाउने, लुगा फेर्न, दिसापिसाब गराउनेदेखि सुताउनेसम्मको काममा खनाल दम्पत्तीले गरिरहेका छन् । एउटा आमाले नौ महिना गर्भमा राखेर जन्माएको शिशु भन्दा कम छैन उनीहरुको शिशुप्रतिको मायाममता ।

चैत १३ गते बुधवार राती वडा प्रहरी कार्यालयले भद्रपुर ८ सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडक खण्डमा शिशुलाई जिवितै अवस्थामा फेला पारेका थिए । वेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्यालय प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बच्चालाई सोही दिन राती नै मेची अञ्चल अस्पताल लगेका थिए । अस्पताल पुर्याएको भोलीपल्ट नै शिशुलाई धर्मपुत्र बनाउने भन्दै मेचीनगर नगरपालिका ७ सतिगठ्ठा निवासी कमलप्रसाद (४३) र हरिमाया (४०) खनालले शिशुलाई जिम्मा लिएर अस्पतालमै राखेर स्यारसुशार गर्न थाले । कानुनी प्रक्रिया पुरा नभएसम्म शिशुलाई धर्मपुत्र बनाउन नपाइने भएकोले खनाल दम्पत्ती झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको पखाईमा बसे । प्रजिअ दाहाल नै कानुनी रुपमा शिशुको अभिभावक मानिन्छ । प्रजिअ दाहाल बिदामा काठमाडौं गएका थिए । सोही अवधिमा खनाल दम्पत्तीले आफ्नो बच्चा नभएको आवश्यक कागजात पूरा गरी शिशुलाई धर्मपुत्र बनाउने भनि जिल्ला प्रशासन कार्यालय झापामा चैत १५ गते निवेदन दर्ता गराइसकेका छन् । पाँच दिनअघि काठमाडौंमा प्रजिअ दाहाल झापा फर्किएपछि उनलाई शिशुको बिषयमा थाहा भयो । त्यसअवधिमा दर्जनौ व्यक्तिले शिशुलाई धर्मपुत्र बनाउने भन्दै प्रहरीदेखि पत्रकारसम्मलाई बुझ्न थाले । तर, प्रहरी र पत्रकारले शिशुलाई खनाल दम्पत्तीले हेरचाहँ गरिरहेका जानकारी गराएपछि सोध्ने व्यक्ति पछिहटे । सञ्चारमाध्यममा समाचार समेत बाहिरएपछि खनाली दम्पत्तीसहित आधा दर्जन व्यक्तिले प्रशासन कार्यालय झापामा शिशुलाई धर्मपुत्र बनाउने भनि निवेदन दर्ता गरिसकेको जनाइएको छ । १० दिनसम्म शिशुलाई कानुनी रुपमा हस्तान्तरण नगरिदाँ अहिले शिशुलाई लिएर आर्थिक चलखेल शुरु भइसकेको बुझिएको छ । शिशुको हेरचाहँसहित पालनपोषणमा जुटेका खनाल दम्पत्तीलाई शिशु नदिने कुरा बाहिरएपछि अहिले उनीहरु तनावमा देखिएका छन् । उनीहरुले शिशुको नामकरण समेत गरी धर्मपुत्र मानिसकेको छ । शिशुको नाम विश्वास खनाल राखिएको छ । २०५८ साल माघ १३ गते विवाह गरेको जानकारी गराउँदै खनाल दम्पत्ती भन्छन्– ‘हाम्रो छोराछोरी छैन, त्यसैले यी शिशुलाई धर्मपुत्र बनाउन चाँहि आवश्यक कानुनी कागजात प्रशासनमा बुझाइसकेका छौ ।’ ‘अहिले आएर शिशु नपाउने सुन्नमा आएको छ, आखाँबाट आँसु झार्दै हरिमाया भन्छिन्– “सबै थोकमा पैसा कै चलखेल रहेको छ, अहिले पैसाकै चलखेलले हामीबाट यी शिशुलाई टाढा बनाउने खेल भइरहेको छ ।” हामीबाट शिशुलाई टाढा बनाए अस्पतालमा ज्यान दिने पीडा सुनाउँदै उनले भनिन्– “भेटाएकै दिन हामीलाई भनिदिएको हामी शिशुलाई हेरचाँह नगरि फर्किन्थ्यौ, अहिले यत्रो दिनसम्म शिशुसँग बस्दा पारिवारीक मायाममता बसिसकेको छ, अहिले त कुनै हालतमा शिशुलाई छाडेर गाउँ समाजतिर जान सक्दैनौं ।” अस्पतालमै एक जनाले तीन लाखमा शिशु हामीलाई दिनुहोस भनेर आएको घटना सुनाउँदै कमलप्रसादले भने, ‘अस्पतालमै आएर बच्चा खरिदबिक्री गर्न व्यक्ति भेटियो, ती व्यक्तिलाई हामीले चिन्दैनौ, के थाहा त्यस्ता व्यक्तिले प्रशासनलाई नै खरिद गरी हामीबाट बच्चा टाढा बनाउन खोजेका हुुन कि ?’ यता अस्पतालका चिकित्सक तथा नर्सले समेत बच्चा आधिकारीक रुपमा खनाल परिवारले पाउँनु पर्ने बताउन थालेका छन् । अस्पातल प्रशासनले पनि ती बच्चलाई खनाल दम्पत्तीले स्यारसुसार गर्दै आइरहेको काजगात समेत बनाइदिएको छ । यत्रो दिनसम्म आफ्नै बच्चा सम्झिएर हुकाई रहेका शिशुलाई अन्य अभिभावकलाई दिनु व्यवहारिक रुपमा नमिल्ने नेकपाका नेता असारु राजवंशीले बर्ता । उनले भने, ‘कानुनी रुपमा शिशुको अभिभावक सिडीयो साब हुन्, सिडीओ साबले पनि कानुन भन्दा पनि व्यवहारिकता हेरेर निर्णय गर्दा राम्रो ।’ यता प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार जिल्ला बालकल्याण समिति झापाको बैठकबाट निर्णय भएपछि मात्र बच्चालाई आधिकारीक रुपमा कसैलाई दिन मिल्छ । ‘अस्पतालमा कसले हेरचाँह गर्दैछ भन्ने भन्दा पनि शिशुलाई कसले आगामी दिनमा राम्रारी पालनपोषण गर्न सक्छन परेको निवेदनको आधारमा निर्णय गरिन्छ, उनले भने । बच्चा किन्नल आर्थिक चलखेल भइरहेको प्रसंगमा प्रजिअ दाहाल समक्ष प्रश्न गर्दा प्रतिउत्तरमा उनले भने, ‘अहिले सम्म आर्थिकको बिषयमा त्यस्तो कुनै कुरा मसँग भएको छैन, पैसा दिएर बच्चा किन्ने व्यक्ति मसँग आए त्यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गछौं ।’ ‘वेवारिसे बच्चाको अभिभावक म भएकोले कुनै चलखेल नगरी त्यसको निर्णय निवदेनकै आधारमा एक÷दुई दिनभित्र गरी कुनै एक परिवारलाई जिम्मा लगाउँछौ, उनले बताए ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com