झापामा सहकारीद्वारा मोबाइल बैंकिङ सेवा सञ्चालन

सन्तोष शर्मा
बनियानी,
झापाको मेचीनगर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि ‘एनएमसी स्मार्ट’ मोबाइल बैंकिङ ‘एप्स’ सञ्चालनमा ल्याएको छ ।

संस्थामा आबद्ध सदस्यलाई प्रविधियुक्त वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले उक्त एप्स सञ्चालन ल्याइएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिनुभयो । ‘सहकारीमा आबद्ध सदस्यलाई प्रविधि मैत्री बनाउने उद्देश्यले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएका हौँ’, आज बिर्तामोडमा एप्स उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘आधारभूत बैंकिङ सुविधा जुनसुकै समयमा जहाँबाट पनि प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले एप्स सञ्चालन गरिएको हो ।’

मोबाइल बैंकिङबाट प्राप्त हुने छुट र ‘क्यास ब्याक’ सदस्यकै खातामा जम्मा हुने समेत उहाँले बताउनुभयो । अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएको मोबाइल बैंकिङ जति नै सुरक्षित र सुविधायुक्त रहेको अध्यक्ष उप्रेतीको दाबी छ ।

एप्समार्फत् विभिन्न ६६ वटा संस्थाहरुसँग वित्तीय कारोबार गर्न सकिने संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो । ‘एप्स सञ्चालनसँगै सदस्यले आर्थिक कारोबार गर्न अब संस्थाको कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ’, उहाँले भन्नुभयो, ‘एप्स मार्फत् सदस्यले नेपालभर वित्तीय सेवा पाउन सक्नेछन् ।’

एप्सबाट बिजुलीको बिल भुक्तानी, खानेपानी महसुल, इन्टरनेट, टेलिभिजन महसुल, इन्स्योरेन्स, हवाइ तथा बस टिकट, मोबाइल रिचार्ज लगायतका सेवा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ ।

कार्यक्रममा ई–सेवा कम्पनीका कपिलमणि ज्ञवालीले ई–सेवाले प्रदान गर्ने सबै सेवा–सुविधा ‘एनएमसी स्मार्ट’बाट प्राप्त गर्न सकिने बताउनुभयो । ‘अहिले मुलुक डिजिटल वित्तीय प्रणालीमा गइरहेको छ’, राष्ट्रिय बाणिज्य बैंकमा तीन दशक काम गरेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो, ‘यसले वित्तीय प्रणालीलाई सहज एवम् पारदर्शी बनाउन मद्दत पुग्छ ।’

एप्समा इन्टरनेटको पहुँच पुगेको र नपुगेको दुवै क्षेत्रबाट सेवा लिन सकिने गरी इन्टरनेट मोड र म्यासेज मोडको व्यवस्था गरिएको छ । संस्थाले सदस्यलाई मोबाइल बैंकिङमा अभ्यस्त बनाउन एक वर्षसम्म निःशुल्क सेवा प्रदान गर्ने भएको छ । २०५० सालमा स्थापना भएको एनएमसीमा हाल ६६ हजार सदस्य रहेका छन् । एनएमसीले २०७५ फागुन समान्त सम्ममा रू ६ अब ९० करोडभन्दा बढीको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्


बिर्तामोड नगरपालिका १ अतिथि सदन छेऊ झापा
नेपाल

© 2018 All Right Reserved Purwanchal Nationa Daily
DEVELOPED BY appharu.com