अध्यक्षमा भरतको उम्मेद्वारी

२४ चैत्र २०७५, आईतवार मा प्रकाशित

 

सुरुङ्गा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको छैठौं जिल्ला अधिवेशनमा झापा सुरुङ्गाका भरतकुमार श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

जिल्ला परिषद् सदस्य एवम् अधिवेशनका आर्थिक समितिका संयोजक समेत रहेका ५७ वर्षीय श्रेष्ठ अढाई दशकदेखि आदिवासी जनजाति आन्दोलनमा सक्रिय छन् भने २०५८ सालदेखि नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध छन् । नेवाः देय् दबुः को वर्तमान राष्ट्रिय परिषद् सदस्य, भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाका पूर्व अध्यक्ष एवम् हाल सल्लाहकार संयोजक, नेवाः पुचः सुरुङ्गाका संरक्षक, नेपाल पाराभेटनरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष लगायतका जिम्मेवारीमा रही सामाजिक तथा सांस्कृतिक आन्दोलनका क्षेत्रमा क्रियाशील श्रेष्ठ कुशल संगठक र स्पष्ट वक्ता मानिन्छन् ।

श्रेष्ठले जातीय पहिचानको अभिवृद्धि, समानुपातिकता र समावेशिताको मुद्दालाई आफ्नो मूल मुद्दा मानेका छन् । आदिवासी जनजातिभित्र पनि लोपोन्मुख र सीमान्तकृत वर्गलाई माथि उठाउने कार्यक्रम ल्याउने, सूचीकृत नभएका जातिलाई दर्ताको प्रक्रियामा ल्याउन पहल गर्ने, संगठनको नगर र गाउँ समन्वय परिषद्लाई सक्रिय बनाउने, आदिवासी जनजातिको संगठनलाई जिल्लाका सबै वार्ड तहसम्म विसतार गर्ने, संघीय संरचना अनुसार मौजुदा कार्यविधि तथा कानुनहरुमा आदिवासी जनजातिको हकअधिकार कुण्ठित बनाउँदै लगिएकोमा त्यसको विरुद्धमा जोडदार आवाज उठाउने, विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिका साझा पर्वको रुपमा स्थापित गर्न पहल गर्ने, संघीयता लागु गर्ने सबालमा भइरहेको आनाकानी तथा ढिलासुस्ती विरुद्धमा आवाज उठाउने लगायतका मुद्दाहरु उनले उठाएका छन् । त्यसरी नै नेपालको संविधान २०७२ को धारा ५६ मा संघीय कानुन बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्ने भनिएकोमा हालसम्म संविधान उक्त प्रावधान लागु नभएकोमा सो धारा कार्यान्वयन गर्न राज्यलाई दबाब दिने श्रेष्ठले आफ्नो मुद्दामा समावेश गरेका छन् । सधैंझै यस पटक पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापाको छैठौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेमा आशावादी रहेको उनले बताए ।

सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा चैत (२६–२७) मा हुने २ दिने सो अधिवेशनमा झापाका २२ वटा आदिवासी जनजातिका २२ जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ । अधिवेशनमा नेवार, तामाङ्ग, राई, गुरुङ्ग, मगर, माझी, कुमाल, ताजपुरिया, लिम्बू, भुजेल, थारु, याक्खा, थामी, सन्थाल, राजवंशी, धिमाल, मेचे, दनुवार, किसान, गनगाई, शेर्पा र दनुवारको आधिकारिक प्रतिनिधित्व रहने छ भने झाँगड, मुण्डा र खडियाको दर्ता प्रक्रियामा रहेको जनाइएको छ । अधिवेशनले अध्यक्ष १ जना, एक महिलासहित उपाध्यक्ष ३ जना, सचिव १ जना, एक महिलासहित सहसचिव ३ जना र कोषाध्यक्ष १ जना गरी ९ सदस्यीय सचिवालय गठन गर्ने छ र बाँकी सबै जातिका प्रतिनिधिहरु सदस्य रहने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here