स्थायी समाधान खोज

६ बैशाख २०७६, शुक्रबार मा प्रकाशित

सरकारले प्रकाशित गरेको तलबमान लागू हुनुपर्ने माग गर्दै पूर्वी नेपालका चिया मजदुर आन्दोलित भएका छन् । पन्ध्र दिन अघिदेखि शुरु भएको आन्दोलनका कारण करोड रुपैयाँभन्दा बढीको चिया नष्ट भइसकेको छ । बगानमा पहिलो पत्ती टिप्ने यो समय मजदुर आन्दोलित भएपछि पत्ती छिप्पिएर काम नलाग्ने हुँदा बगान मालिकले ठूलो क्षति व्यहोर्नु परेको छ । नगदेबालीका रुपमा चिनिएको र खासगरी इलाम, झापामा गरिने चियाखेतीप्रति सरकारको सकारात्मक दृष्टिकोण नभएकै कारण हुनसक्छ यो विवाद वर्षौदेखि कचल्टिएर बसेको छ ।

गत साउन ३१ गते राजपत्रमा प्रकाशित गरी सरकारले न्यूनतम् ज्याला वृद्धि र सामाजिक सुरक्षा ऐन लागू गरेको घोषणा ग¥यो । यहींबाट बगानको व्यवस्थापन र मजदुरका बीच विवाद उत्पन्न भएको हो । सरकारद्वारा निर्धारित पारिश्रमिक मासिक दश हजार सात सय एकासी रुपैयाँ पनि उद्योगीहरुले नदिएपछि उनीहरु आन्दोलित भएका हुन् । उद्योगीलाई राज्यका तर्फबाट प्रदान गर्नुपर्ने सेवा–सहुलियत, अनुदान, प्राविधिक सहयोग दिइएको छैन, न त बजार र मूल्यको उचित व्यवस्था नै गरेको छ । मजदुरलाई कामको प्रकृति हेरी पारिश्रमिक निर्धारण गर्नुपर्छ । तर, त्यसका लागि उद्योगीसँग समन्वय गरिएको भए उनीहरुका माग सम्बोधन गरिएको भए त्यो दुबैको हितमा हुने थियो ।

त्यसो त चिया मजदुरहरुका पीडा मानवीय संवेदनासँग जोडिएका छन् । जीवनभर मजदुरी गरेर पनि परिवारको भरणपोषण गर्न नसक्नु, सेवा निवृत्त हुँदा रित्तो हात फर्किनु, संगठित संस्थामा वैंश बुढ्याएर पनि सञ्जयकोष, स्वास्थ्य, शिक्षा, आवास लगायतका अत्यावश्यकीय सेवासुविधाबाट वञ्चित हुनु चिया मजदुरहरुका पीडा हुन् । यसले वर्ग, संघर्ष मात्रै गराउँदैन विभेदको खाडल झन् ठूलो बनाउँछ ।

चिया उद्योगभित्रका यस्ता असमझदारी, विवाद र असमानता हटाउन राज्यले नै पहल गर्नुपर्छ । उद्योग र उद्योगीले पनि बाँच्न सक्ने वातावरण दिनु राज्यको दायित्व हो । यसका लागि चिया क्षेत्रका समस्या समाधानका लागि गठन गरिएको कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्दै पचास हजारभन्दा बढीले रोजगारी पाएको चिया उद्योगलाई समेत संरक्षण दिने नीति, योजना बनाउनु पर्दछ ।

गत चैत १७ गतेदेखि झापाका विभिन्न ठाउँमा जुलुस र कोणसभा गर्दै आएका चिया मजदुरले बुधबार बिर्तामोडमा थाल ठटाएर विरोध प्रदर्शन गरे । उनीहरुले सरकारद्वारा निर्धारित न्यूनतम् पारिश्रमिक पाउनुपर्ने माग गर्दै सम्बद्ध पक्षको ध्यानाकर्षण गराए । यति ठूलो संख्यालाई रोजगारी प्रदान गर्ने उद्योग प्रतिष्ठानलाई आवश्यक सुरक्षा र संरक्षण प्रदान गरेर मजदुरलाई काममा फर्काउनु पर्दछ ।

मजदुर सन्तुष्ट भए मात्र उत्पादकत्व बढ्छ, उत्पादकत्व बढे उद्योग फस्टाउँछ । उद्योग फस्टाए मात्र राष्ट्रको समृद्धिको आकांक्षा पनि पूरा हुन्छ भन्ने कसैले भुल्नु हुँदैन । त्यसकारण पनि चिया क्षेत्रमा लामो समयदेखि कचल्टिएर रहेको समस्यालाई स्थायी समाधान गर्दै मजदुर, उद्योग र उद्योगी लगायत आम उपभोक्ताको हितमा लाग्न सरकारले नै दृढ संकल्प गर्नुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here