‘प्रहरीको त्रुटी देखियो, छानविन गर’

७ बैशाख २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड।

हिरासतमा बालकको मृत्यु भएको घटनाप्रति मानव अधिकारकर्मीले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै अधिकारकर्मीहरुले १८ बर्षमुनिका बालबालिकालाई हिरासतमा राख्न नपाइने र आत्महत्या गर्ने अवस्थामा पु¥याइनुमा आफैमा प्रहरीको गम्भीर त्रुटी भएको बताउँदै उनीहरुले घटनाको छानविन गर्न माग समेत गरेका छन् ।

अधिकारकर्मीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उक्त घटनाको सत्य–तथ्य उजागर गर्दै दोषीलाई कार्वाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मानवअधिकारकर्मी विष्णु खरेल, अर्जुन बस्नेत, कविता शर्मा, रुपक खनाल, दीपक दास, चन्द्र चुडाल, नरेश खाती, राम मैनाली, कुमार चुडाल, रञ्जन धमला, यज्ञराज कडरियाले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

यता शुक्रवार नै दलित अधिकारकर्मीहरुले समेत बालक मृत्यु प्रकरणको विषयमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलनको गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारवाहीको माग समेत गरेका छन् ।

झापाको मेचीनगर–६का १५ वर्षीय बालक किरण कार्कीढोलीको गत बैशाख २ गते बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा मृत्यु भएको थियो । प्रहरीले बालकले झुण्डिएर आत्महत्या गरेको बताए पनि घटना शंकास्पद भएको भन्दै उनीहरुले अधिकरकर्मीसहितको छानविन आयोग गठन गर्न माग गरेका छन् । उनीहरुले इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुवास खड्कालाई तत्काल निलम्बन गर्न र घटनामा दोषी ठहरिए कारवाही गर्न पनि माग गरेका छन् ।

मेचीनगरका बालक भए पनि प्रहरीले भारतीय नागरिक भन्दै घटनालाई ढाकछाप गर्न लागीपरेकाले बालकले आत्महत्या गरेकोमा शंका व्यक्त गर्न सकिने उनीहरुको भनाइ छ । सत्यतथ्य छानविन गरी तीन दिनभित्र सार्वजनिक गर्न माग गर्दै दलित अधिकारकर्मीहरुले बिर्तामोडमा शुक्रबार पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै दलित अधिकारकर्मी टिकाराम मग्रान्तीले बालकलाई पक्राउ गरेपछि चरम यातना दिएका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको गतिविधिले स्पष्ट पारेको दावी गरेका छन् । उनले दोषीलाई कारवाही गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै दलित अधिकारकर्मी वीरु दर्नालले प्रहरीले घटनालाई ढाकछोप गर्न लागे पनि पत्रकारले घटनालाई बाहिर ल्याइदिएको भन्दै न्यायका निम्ति सहयोग गरिदिन आग्रह गरे ।

त्यस्तै दलित अधिकारकर्मीहरुले बालकको गैरन्यायिक हत्या भएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक नगरे आन्दोलनलाई सशक्त पार्ने चेतावनी समेत दिएका छन् । मृतक कार्की ढोलीलाई प्रहरीले चैत २९ गते बेलुका मोबाइल चोरीको आरोपमा बिर्तामोडबाट पक्राउ गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here