पण्डित चापागाईं महारुद्री पाठमा

१५ भाद्र २०७०, शनिबार मा प्रकाशित

 

सुरुङ्गा, भाद्र १५ । सुरुङ्गा–९ निवासी पण्डित चोलरमण चापागाईं महारुद्री पाठ शुरु गरेका छन् । धार्मिक वृत्तमा महारुद्री पाठलाई एउटा कठिन र कष्टसाध्य कार्य मानिन्छ । महारुद्रीलाई वेदको महत्वपूर्ण खण्ड मानिन्छ । १ महारुद्री पूरा गर्ने हो भने जीवनमा गरेका पाप नाश हुने धार्मिक विश्वास छ । १ महारुद्री ११ लघुको हुन्छ र १ लघु १२१ आवृत्तिको हुनेहुँदा १ महारुद्रीमा १३ सय ३१ आवृत्ति हुन्छ । लगभग २५० पृष्ठको रुद्रीलाई १३३१ पटक दोहो¥याएर पाठ गर्दा १ महारुद्री हुने कवि गोविन्दप्रसाद घिमिरेले बताए । आबाल ब्रम्हाचारी षडानन्द अधिकारीले ११ महारुद्री पाठ गरेको बताइन्छ । यस्तो महान कार्य पण्डित चापागाईंले गएको आषाढ २९ गते आषाढ शुक्ल पञ्चमी भानु जयन्तीका दिन शुरु गरेर आगामी भाद्र २६ गते पूर्णाहुति सहित समापन गर्ने बताएका छन् । आफ्नै निवासमा शिवलिङ्ग स्थापना गरी जलधारा दिएर महारुद्री पाठमा जुटेका चापागाईं एकाग्र भएर यो तपस्यामा लागेका छन् । उनकी धर्मपत्नीले पनि उनलाई साथ दिइरहेकी छन् । उनी दैनिक १५ घण्टाभन्दा बढी समय यसमा लगाइरहेका छन् । भोजपुर दिंग्ला तुंगेछा–४ मा पिता नरेन्द्रप्रसाद चापागाईं र माता भद्रकालीदेवी अधिकारीका कान्छा छोराका रुपमा जन्मेका चोलरमणले दिंग्लाको अरुण उच्च मा.वि.बाट मावि द्वितीय श्रेणीको शिक्षकबाट केही वर्ष अघि अवकाश प्राप्त गरेका हुन् । उनका हजुरबुबा लक्ष्मीप्रसादले दिंग्ला पाठशाला गुठीलाई ३० मुरी खेत दान दिएका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।