सुकेडाँगीमा छानबिन समिति गठन

१८ भाद्र २०७०, मंगलवार मा प्रकाशित

 

सुरुङ्गा, भाद्र १८ । सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गा–८ मा देखिएको समस्या हल गर्न समस्या छानबिन गरी प्रतिवेदन पेश गर्न एक छानबिन समिति गठन गरिएको छ । वन समितिका पूर्व सचिव नरपति गुरागाईंको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको हो । छानबिन समितिको सदस्यमा तोयानाथ अधिकारी, देवीप्रसाद उप्रेती र ईलाका वन कार्यालय सुरुङ्गाका प्रतिनिधि, सुकेडाँगी वन समूहको प्रतिनिधि र सामुदायिक वन उपभोक्ता महासंघ झापाका प्रतिनिधि रहने निर्णय गरिएको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुप्रसाद भण्डारी,सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष छत्र पौडेल लगायतको रोहवरमा वनसमितिको सल्लाहकार सहितको बैठकले उक्त छानबिन समिति गठन गरेको हो । सो समितिले वनसमितिका सम्पूर्ण कागजात तथा बिल भर्पाई अध्ययन गरी भदौ २५ गतेसम्ममा प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा तोकिएको छ । नदी किनारमा चोरीनिकासी तस्करबाट बरामद गरेर वनसमूहको कार्यालयको घाटगद्धीमा दाखिला गरिएका गोलिया काठहरु विगत देखि नै जिल्ला वन कार्यालयको बिना बिक्रीआदेश बिक्री गर्ने गरिएको र कतिपय अवस्थामा वनसमितिका पदाधिकारीहरुले किन्न पाउने सीमाभन्दा बढी परिमाणमा काठ लगेको उपभोक्ताहरुको गुनासो छ । यस सम्बन्धमा केही असन्तुष्ट उपभोक्ताहरुले जिल्ला वन कार्यालयमा उजुर गरेको बुझिएको छ । छानबिन समितिले प्रतिबेदन सार्वजनिक गरेपछि दोषी देखिएका पदाधिकारी उपर आवश्यक कार्वाही हुने जिल्ला वन कार्यालय झापाका प्रमुख भण्डारीले आश्वासन दिएको बताइएको छ ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।