पूर्वाञ्चलमा पत्रकारको चुनाव

२८ फाल्गुन २०७०, बुधबार मा प्रकाशित

राज्यको चौथो अंगको रुपमा प्रतिष्ठापित पत्रकारिता क्षेत्रको महत्व दिनप्रतिदिन बढ्दै गएको अहिलेको परिप्रेक्ष्यमा सञ्चारमाध्यमहरुमा पनि नयाँ–नयाँ प्रविधि भित्रिएर ‘ग्लोबल भिलेज’को अवधारणा स्थापित भइसकेको छ । विश्व एउटै घर भन्ने नाराका साथ स्थापित यस अवधारणामा संसारको जुनसुकै कुनामा भएका घटनापनि क्षणमै जहाँसुकै थाह पाउन सकिने सञ्चारमाध्यमको विकासले वास्तवमै संसारलाई एउटै घर बनाइसकेको छ । त्यसैले सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको काम र महत्वपनि बढ्दै गइरहेको छ ।
नेपालमा सन्त नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा गठन भएको नेपाल पत्रकार संघ अहिले देशभरीका सम्पूर्ण पत्रकारहरुको छाता संगठनको रुपमा महासंघ भएको छ । र, यसको कार्यक्रमहरु मध्ये पत्रकारहरुको बृत्तिविकास र पत्रकारितालाई संस्थागत तथा व्यवसायिक बनाउनमा सहयोग पु¥याउँदै सम्पूर्ण सञ्चारमाध्यमका सहकर्मीहरुलाई एक जुट बनाइ अगाडि बढाउनु रहेको छ । यसैक्रममा महासंघको वर्तमान कार्यसमितिहरुको विधान अनुसारको कार्यावधि सकिएर नयाँ कार्यसमिति निर्माणका लागि लोकतान्त्रिक पद्धति अनुसार विभिन्न जिल्लामा हुने शाखा अधिवेशनको माध्यमबाट निर्वाचन भइरहेका छन् ।
यसैसन्दर्भमा नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारीहरुको रोहबरमा पूर्वाञ्चलका केही जिल्लाहरुमा अधिवेशन सम्पन्न भइ निर्वाचन पनि भइसकेको छ । नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ, आदिवासी जनजाति पत्रकार संघ, ड्यास क्रान्तिकारी पत्रकार संघ, फोनिज लगायत विभिन्न पत्रकार संघहरु निर्वाचनमा सहभागी भइ निर्वाचित पनि भइसकेका छन् । पेशागत हकहित र पेशाको मर्यादा बढाउनका लागि निर्वाचित पत्रकार प्रतिनिधिहरुले निर्वाचनका बेला भएको प्रतिस्पर्धालाई स्वस्थ रुपले सहज ढंगबाट स्वीकार गरी भावी कार्यक्रम बनाइ अगाडि बढ्नुपर्ने दायित्व रहेको छ ।
पत्रकारिता उच्छृंखल र मर्यादाहीन भयो भने सञ्चार क्षेत्रमा गलत प्रवृत्ति हावी हुने निश्चित छ । त्यसैले स्वस्थ पत्रकारिताको विकासका लागि निर्वाचित प्रतिनिधिहरुले आफ्ना कार्ययोजना बनाउनुपर्ने र त्यसलाई दृढतापूर्वक लागू गराउनुपर्ने दायित्वबोध निर्वाह गर्नुपर्छ । पूर्वाञ्चल क्षेत्रका पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई आफ्नो तीन बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न र आगामी राष्ट्रिय महाधिवेशनलाई सफल बनाई नयाँ नेतृत्व चुनाव गर्न प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here