पार्थ मण्डल
झापा, कोरोना संक्रमित श्रीमानलाई कसरी बचाउनु भन्दै उनकी श्रीमती अहिले कोभिड उपचार केन्द्रमै छट्पटाइरहेकी छिन् ।
भद्रपुर नगरपालिका–१० निवासी ५० वर्षीय श्रीमानलाई उनकी श्रीमती माया आफंैले शनिवार बेलुका साढे ७ बजे भद्रपुर–८स्थित मेची कोभिड–१९ उपचार केन्द्र लिएर आएकी थिइन् । हिजो बेलुका श्रीमानलाई उपचार केन्द्रमा ल्याए पनि अहिलेसम्म केन्द्रमा खटिने चिकित्सक तथा नर्सको टोलीले आएर नहेरिँदा उनी तनावमा छिन् ।
श्रीमानको उपचारमा कोही नआएपछि श्रीमानसँगै कुरुवा बसेकी मायाले अन्ततः सञ्चारकर्मीलाई गुहार्न पुगिन् । त्यसपछि उनी सम्पर्कमा आइन् । पूर्वाञ्चलकर्मीसँगको फोन वार्तामा मायाले रुँदै मनको व्यथा सुनाउँदै भनिन्– ‘मेरो श्रीमानलाई कसरी बचाउनु, अब भगवान् भरोसामा छौँ, मेरो जस्ता पीडा अरू कसैले पनि भोग्नु नपरोस् ।’ सात दिनअघि श्रीमानलाई ज्वरो आएपछि मेची अस्पतालका चिकित्सकलाई देखाएर घर ल्याएको बताउँदै मायाले भनिन्– ‘ज्वरो जाती नभई झन् बल्झिँदै गएपछि मेची अस्पतालमा लगेर श्रीमानको पीसीआर परीक्षण गराएका थियौँ ।’
तीन दिनपछि आएको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो, कोरोना पुष्टि भएपछि श्रीमानलाई एक दिन होम आइसोलेशनमै राखेर रेखदेख ग¥यौँ– उनले भनिन् । ‘होम आइसोलेशनमा राख्दा श्रीमानको श्वासप्रश्वास समस्या आएपछि म अतालिएँ, त्यसपछि मेचीको कोभिड उपचार केन्द्रमा भर्ना गर्नु प¥यो भनेर सबैतिर सोधपुछ गर्न थालँे’– उनले भनिन्– ‘अस्पतालले सङ्क्रमितको लागि बेड छैन भन्यो, त्यसपछि मेयर साबलाई फोन गरे मेयर साबले पनि मेचीमा बेड छैन, अन्यत्र लैजानुस् भन्नुभयो ।’ त्यसो भनेपछि म झन् अत्तालिएँ, जे हुन्छ होस् भन्दै एम्बुलेन्सलाई फोन गरँे । दिउँसो २ बजे फोन गरेको एम्बुलेन्स बेलुका ७ बजे घर आइपुग्यो, त्यसपछि एम्बुलेन्समा हालेर श्रीमानसँगै म पनि मेची कोभिड उपचार केन्द्र पुगँे’– उनले सुनाइन् ।
अस्पतालको नयाँ भवनमा कोभिड उपचार केन्द्र बनाइएको छ । एम्बुलेन्सले उपचार केन्द्रको गेटमै लगेर छाडिदियो, त्यहाँबाट उनलाई दुई तले बेडसम्म पु¥याउने कोही थिएन, आफैँले श्रीमानलाई जसोतसो सिँढीमा घिसार्दै बेडसम्म पु¥याएको कथा उनले पूर्वाञ्चलकर्मीलाई सुनाइन् । उनका अनुसार श्रीमानलाई राखिएको ठाउँमा १३ वटा बेड खाली थियो, एउटामा श्रीमानलाई राखँे । श्रीमानलाई अक्सिजनको खाँचो भयो । कुनै बेडमा पनि अक्सिजन थिएन ।
अक्सिजनका लागि हारगुहार गर्न थालेँ । छेउमै रहेकी एक महिला सङ्क्रमितको अक्सिजन सिलिन्डर थियो । त्यही अक्सिजन उनकै १० बर्षीय छोरा आफैंले ल्याएरलगाइदिए । त्यसपछि श्रीमानलाई केही सन्चो महशुस भयो । ‘अक्सिजन नहुनु, अक्सिजन लगाउने मान्छे नहुनु, चिकित्सक तथा नर्स नआउनु यस्तो पीडा मैले कहिले जीवनमा भोगेकी थिइनँ’– उनले भनिन् । बेलुका ७ बजेदेखि दिउँसो १२ बजेसम्म श्रीमानलाई हेर्न समेत कोही नआएको बताउँदै उनले भनिन्– ‘यस्तो हरिबजोक र हेलचेक्र्याइँबीच कसरी सङ्क्रमितको उपचार भइरहेको छ, म आफैं छक्क परिरहेको छु । यो भन्दा राम्रो त घरमै सङ्क्रमितको उपचार गराउनु ठीक हो ।’ ‘मेरो जस्तो पीडा अरू कसैले पनि यहाँ आएर भोग्नु नपरोस्’– उनले थपिन् । खानाको पनि व्यवस्था रहेनछ, घरबाट छोरालाई खाना मगाइरहेकी छु । संक्रमित श्रीमानलाई आफैंले हेरचाह गरिरहेको उनको भनाइ छ । चिकित्सकलाई फोन गर्दा उल्टै हप्काउने गरेको उनले बताइन् । त्यस्तै मेचीनगर नगरपालिका–२ का एक संक्रमित महिलाको पनि व्यथा त्यस्तै छ । उनको हेरचाहका लागि उपचार केन्द्रमा कोही नभइदिएपछि उनकै १० बर्षीय छोराले अहिले आमाको हेरचाह गरिरहेका छन् । ‘सात दिन भइसक्यो आमाको हेरचाह म आफैंले गरिरहेको छु’– बालकले भने– चिकित्सक कहिले आउँछ, कहिले जान्छ थाह पनि हुँदैन ।
यहाँ अक्सिजनको पनि समस्या छ । धन्न मैले अक्सिजन लगाउन र खोल्न जानेको छु, त्यही भएर त्यहाँ बसेका अन्य सङ्क्रमितलाई पनि सहज भइरहेको छ– उनले भने । मेची कोभिड उपचार केन्द्रमा ७५ शय्या र २५ वटा अक्सिजन सिलिन्डर रहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताए । ७५ शय्यामा हाल ६१ जना कोभिडका बिरामी रहेको उनले जानकारी दिए ।
‘केन्द्रमा रहेका बिरामीको उपचारमा एक जना मेडिकल अफिसर खटाइएको छ’– उनले भने– ‘त्यो पनि बिहान र बेलुका र आवश्यकता परेमा मात्र जान्छन् ।’ नर्सको अभाव रहेकोले उपचार केन्द्रमा चाहिने अनुसारको नर्स खटाउन नसकिएको उनको भनाइ छ ।































