पेट्रोल छर्की आगो लगाएर फरार भएका साह पाँचै दिनमा पक्राउ

0
854

सर्लाही,
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप छ । शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना घटेको स्थानियवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here