झापा, अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी भइरहेको छ ।
कोरोना संक्रमणको दर बढे लगत्तै अक्सिमिटरको कृत्रिम अभाव सृजना गरिएको छ । ७÷८ सय रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको पाइएको छ ।
प्रहरीले कालोबजारी गर्नेलाई पक्राउ तथा कारबाही पनि गरिरहेको छ । यसैबीच काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाईछिपाई अवैध रूपमा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिल बिजक नभएको, निर्माण कम्पनीको नाम, ठेगाना र बारकोडसमेत नभएको, न्यून गुणस्तरको अक्सोमिटर बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुगमन गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । अनुगमनमा काठमाडौँ प्रशासनसँगै महानगरीय अपराध महाशाखा, औषधि व्यवस्था विभाग र वाणिज्य विभागको समेत सहभागिता थियो । काठमाडौँ प्रशासनले मंगलवार एक सूचना जारी गरी उनीहरूबाट ८६५ स्थान अक्सिमिटर बरामद भएको र पक्राउ परेका सातै जनालाई कानूनी कारबाही अघि बढेको जनाइएको छ । पक्राउ पर्नेमा बायोप्लस फर्माका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भएका २१ वर्षीय थुमराज उपाध्याय, नानोटेक फर्माका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, चिरायू केडी ग्रुपका ३९ वर्षीय पुष्कर घिमिरे, अहा इण्डष्ट्रिज प्रालिका सञ्चालक ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भएका ५५ वर्षीय जगदीशप्रसाद रानासरिया रहेका छन् ।
प्रहरीले उनीहरुको विभिन्न फर्मा तथा औषधी पसलबाट ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए । प्रहरीले बरामद गरेको केही अक्सिमिटर नक्कली र कम गुणस्तरको समेत भएको खुलेको छ । त्यस्तै, अहा इण्डष्ट्रिज प्रालिका सञ्चालक ४४ वर्षीय विशाल आचार्यले डीएण्डडी इन्टरप्राइजेज, न्युरोड मार्फत् चीनबाट मास्कको डोरी ल्याउँदा सोही तुनाको बक्साभित्र अक्सिमिटर लुकाएर ल्याएको खुलेको छ । उनीहरुले ६÷७ सय पर्ने अक्सिमिटर २२ सयभन्दा बढी मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ । पक्राउ परेका सबैलाई कालोबजारी ऐन अन्तर्गत कारवाहीको प्रकृया अगाडि बढाएको छ । साथै, अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
पछिल्लो समयमा अत्याश्यकवस्तुको अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र बढी मूल्य लिएर सेवा दिने गतिविधि नियन्त्रणमा नियमित अनुगमन भइरहेको छ । सो क्रममा प्रहरीले बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको छ भने अक्सिजन सिलिन्डर सङ्कलन अभियान समेत जारी छ । अस्पतालले समेत चर्काे शुल्क लिने गरेको गुनासो आएकाले अनुगमन भइरहेको प्रशासनले जनाएको छ ।































