छतको पर्दा खस्दा कर्मचारी घाइते: तोकिएको समयमा बनेनन् वडा कार्यालयको नयाँ भवन

0
585

 

झापा ,तोकिएको समयावधिमा नयाँ कार्यालय भवन नबन्दा कर्मचारी तथा जनप्रतिनिधि ज्यान जोखिममा राखेर काम गर्न बाध्य भएका छन् ।
दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ नम्बर वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारी जीर्ण कार्यालय भवनमा काम गर्न बाध्य बनेका छन् । जति खेर पनि छत झरेर दुर्घटना हुन सक्ने थाहा पाउँदा पाउँदै उनीहरू दैनिक रुपमा सेवाग्राहीलाई सेवा दिँदै आइरहेका छन् ।

यस्तो जोखिम मोल्दै सेवा दिँदै आए पनि कार्यालयमा कार्यरत एक महिला कर्मचारी सोमबार घाइते भएकी वडा अध्यक्ष कुलबहादुर कार्कीले जानकारी दिए ।
जीर्ण बनिसकेको भवन बाहिर बसेकी कार्यालय सहयोगी कमला गौतम घाइते भएकी छिन् । छतको पर्दा झर्दा उनको टाउको गम्भीर चोट लागेको छ । टाउको फुटेका उनलाई तत्काल उपचार गराई घर पठाइएको र उनी अहिले घरमै आराम गरिरहेको वडा अध्यक्ष कार्कीको भनाई छ ।
साबिक बनियानी गाउँ विकास समितिको कार्यालय समेत रहेको सो वडा कार्यालयको भवन २०५२ सालमा बनेको बताइएको छ । बर्खामा छतबाट पानी रसाउने भवन पुरै जीर्ण बनिसकेको वडा अध्यक्ष कार्कीको भनाई छ ।

तोकिएको समयमा बनेनन् नयाँ भवन
हाल रहेको वडा कार्यालय नजिकै नयाँ भवन बन्दैछ । ९० प्रतिशत काम सकिसकेको सो भवन डेढ वर्षदेखि अलपत्र पारिएको छ ।
जीर्ण भवनबाट कामकाज प्रभावित बनेपछि वडा अध्यक्ष कुलबहादुर कार्कीकै पहलमा जिल्ला समन्वय समिति झापाले वडा कार्यालयको नयाँ भवन बनाउन ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समन्वय समितिले आर्थिक वर्ष ०७६÷७७ मा सो रकम छुट्टाएपछि गाउँपालिकाले थप १६ लाख छुट्टाएर ५६ लाख रुपैयाँको लागत इस्टिमेटसहितको सूचना आव्हान गरेका थिए ।
त्यसपछि सो भवनको ठेक्का जुनतारा कन्स्ट्रक्सन भद्रपुरले करिब ४२ लाख रुपैयाँमा लिएको हो । कम्पाउन्डसहितको भवन निर्माणको समय अवधि एक वर्ष तोकिएको गाउँपालिकाका इन्जिनियर अमित ढुङ्गानाले जानकारी दिए । ‘त्यस अवधिभित्र निर्माण कम्पनीले ९० प्रतिशत काम सकिसकेको छ,’ इन्जिनियर ढुङ्गानाले भने, ‘अहिले भवनमा रंगरोगन, झ्याल ढोका, अन्य केही र कम्पाउन्ड वालको काम मात्र बाँकी छ ।’ हालसम्म ३१ लाख रुपैयाँको काम सकिसकेको र निर्माण कम्पनीले दुई पटक म्याद थपिसकेको उनको भनाई छ । अन्तिम किस्ता रकमका लागि जिल्ला समन्वय समितिसँग माग गरिसकेको उनको भनाई छ । वडा अध्यक्ष कार्कीले काममा पटक पटक अवरोध गर्नुका साथै कमिसन मागेको जुनतारा कन्स्ट्रक्सन सञ्चालक राजकुमार राईले आरोप लगाएका छन् ।
राजनीतिक भन्दा पनि व्यक्तिगत टसलका कारण निर्माण कार्य समयमा सम्पन्न हुन नसकेको बताउँदै सञ्चालक राईले भने, ‘यस विषयमा गाउँपालिकामा पनि निवेदन दिइसकेका छौँ, समय अनुकूल मिलेपछि मात्र काम गछौं ।’ यता वडा अध्यक्ष कार्कीले कति कमिसन मागेको भनी प्रमाणित गरिदिन निर्माण कम्पनीका सञ्चालक राईलाई चुनौती दिएका छन् । ‘राजनीतिक प्रतिशोध निकाल्न ममाथि आरोप थुपारेर भवन नबाउने योजना हो,’ अध्यक्ष कार्कीले भने, ‘म कस्तो चरित्रको मान्छे हो, यहाँका गाउँवासी सबैलाई थाहा छ, कमिसन माग्ने होइन, बरु दिन तयार छु, तर भवनको काम सक्नुपर्छ ।’ बजारभरि हल्ला चलेको छ, कि सञ्चालक राईले मेरो कार्यकालभरि भवन बनाएर नदिने भनेर उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here