स्वास्थ्य सेवालाई प्राथमिकता देऊ

२९ बैशाख २०७८, बुधबार मा प्रकाशित

राजनीतिक घटनाक्रमले कोरोना भाइरसका कारण उत्पन्न जटिलता पेचिलो बन्दैछ। भएको बिताएर नभएको चिताउॅदा सङ्कटग्रस्त विद्यमान अवस्थाबाट जनताले कहिले र कसरी मुक्ति पाउने हुन् त्यो भविष्यको गर्भमा छ। विगतमा नियन्त्रण हुन थालेको महामारी राजनीतिक कारणले नै फेरि पन्पियो र आज आमजनताका लागि त्रासको कारण बनेको छ। हुॅदा खॉदाको प्रतिनिधिसभा बिघटन गरे पछि समर्थन र बिरोधमा कार्यकर्तालाई सडकमा उतार्ने प्रतिस्पर्धाले कोरोनालाई विस्तार मात्र गरेन अझै बलियो बनायो। त्यसपछि पनि सत्तारूढ दलकै अनियन्त्रित गतिबिधिहरूले आमजनतामा कोरोनाको त्रासलाई सामान्य ठान्ने बनायो। स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न छाडियो र परिणाम सबै सामू छर्लङ्ग छ।

राजनीतिलाई पेशा र अहम् तुष्टिको साधन बनाइॅदा यसको सवल पक्ष गौण बनिएको छ। राजनीति सेवा हो जसका माध्यमबाट देश र जनताको समृद्धिमा योगदान गर्न सकिन्छ। तर हामीकहाँ राजनीतिलाई व्यक्ति ,समूह र वर्ग कल्याणको माध्यमका रूपमा प्रयोग गर्न थालियो। त्यही कारण लामो संघर्ष र प्रतीक्षापछि प्राप्त उपलब्धिको अवमूल्यन भयो र देश नै अनिश्चित भविष्यतर्फ उन्मुख भयो। जनता जीवन वायु अक्सिजनका लागि तड्पिएका छन् , उपचार नपाएर छटपटिएका छन् तर सरकार सत्ता स्वार्थका पछि लागेर बिश्वास( अबिश्वासको अङ्कगणितमा रूमलिएको छ। यही समय प्रधानमन्त्री केपी ओलीले संसदमार्फत मागेको बिश्वासको मत बहुसंख्याले अस्वीकृत गर्यो। र ,उनी दोस्रोपटक कामचलाउ प्रधानमन्त्री हुन पुगेका छन्। दुईतिहाइको बलियो प्रधानमन्त्री हुॅदाहुॅदै प्रतिनिधिसभा बिघटन गरेर यसअघि कामचलाउ भइसकेको अनुभबले दलभित्रको असमझदारी र द्वन्द्वलाई व्यवस्थापन गर्नु बुद्धिमानी हुन्थ्यो तर शायद सल्लाहकारको अक्षमताले उनले बाटो बिराए।

अब राजनीति र देशले कुन बाटो समाउँछ त्यसको सफा चित्र देखिन छाडेको छ। जनताले विद्यमान स्वास्थ्य सङ्कटबाट कसरी मुक्ति पाउने हौं अनिश्चित भएको छ। प्रति मिनेट नेपालीले कोरोनाकै कारण जीवन गुमाउन बाध्य हुन थालेको सन्दर्भलाई राज्य सञ्चालकहरूले कसरी सम्बोधन गर्ने हुन् हेर्न बाँकी छ। स्वास्थ्य सङ्कटकाल घोषणा गरेर राज्यको सम्पूर्ण शक्ति जनताको जीवन रक्षाका लागि खर्च गर्नु अहिलेको प्रथम आबश्यकता हो। जनताको अभिभाबक सरकारले अन्य सबै नियमित कार्यक्रमहरू रोकेर स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ। शय्या नपाएर, अक्सिजन नभएर, औषधि खान नपाएर मर्नु पर्ने दुखद अबस्थाको अन्त्य गरिनुपर्छ पर्दछ।

कोरोना भाइरस सङ्क्रमण अनियन्त्रित भइरहेको बेला नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। राष्ट्रपतिले प्रतिनिधिसभामार्फत् समयसीमा सहित सरकार निर्माणको कार्य अघि बढाउन आह्वान गरिसकेकी छन्। त्यसका लागि काङ्ग्रेस, माओवादीलगायतका दलहरूले अभ्यास थालेका पनि छन्। तर यी सबै जनताको चासो र वर्तमानको आबश्यकताभित्र पर्दैनन्। किनकि सबैलाई थाह छ कि जीवनभन्दा मूल्यवान वस्तु अर्को केही हुँदैन। त्यसैले राजनीतिक दल हुन् वा नेतृत्वकर्ता सबैले जनताको आबश्यकता, भावना र मर्मलाई अनुभूत गर्नु पर्छ। जनतालाई निरपेक्ष ठान्नेहरू पराजित हुनेछन्, क्षणिक र स्मृतिबाट पनि हराउने छन् । त्यसैले परिस्थितिको गाम्भीर्यलाई आत्मसात गर्दै अदमनीय बनेको प्राकृतिक सङ्कटको समाधान खोज्न सरकार लागोस्। जनताले पनि कम्तीमा जनस्वास्थ्यका मापदण्डको पालना गरी सुरक्षित रहेर आफूसँगै सरकारलाई पनि सहयोग गर्नु पर्छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here