मिनी टिलर पाउँदा किसान खुशी

0
1037

युद्धवहादुर वोहोरा
पाँचथर, फाल्गुनन्द गाउँपालिकामा सातै वडाका किसानलाई मिनिटिलर वितरण गरिएको छ । कृषियन्त्र उपकरण वितरण तथा तालिम कार्यक्रम अन्तर्गत पालिकाको ७० प्रतिशत अनुदान र किसानको ३० प्रतिशत लागतमा पाँच लाख ६० हजार रुपैया बराबरको मेसिन वितरण गरिएको पालिका कृषि शाखा प्रमुख सिर्जना बयलकोटीले जानकारी दिइन् ।

पालिकाभित्र विभिन्न यन्त्र उपकरण वितरण गरीप्रति इकाई उत्पादन वृद्धि तथा उत्पादन लागत घटाउने, कृषकको आर्थिक पक्ष सुधार गर्ने साथै फलफूल, तरकारी, खाद्यान्न बाली उत्पादनमा वृद्धि गराउन प्रोत्साहन गर्ने उद्देश्यले वितरण गरिएको बताइएको छ । कृषिलाई आधुनिकीकरण, व्यावसायिकरण एवम् प्रतिस्पर्धात्मक बनाई खाद्य तथा पोषण सुरक्षा र स्वरोजगारको अवसर सृजना गर्ने पालिकाले लक्ष्य राखेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । वडाका कृषि सहकारी, कृषक समूह तथा व्यवसायिक कृषि फर्मलाई ७ हर्सपावर क्षमताको मिनिटिलर शाखा प्रमुख बयलकोटीको संयोजकत्मा प्रशासकीय अधिकृत तुम्रोकद्वारा वितरण गरिएको थियो ।

उक्त मेसिन बाँझोबारी जोत्न र मकै खेतीमा प्रयोग गर्न सकिने र फाली परिवर्तन गरेर धान खेतीको लागि समेत हिलो खेतमा काम गर्न सकिनेछ । मेसिन प्रयोग गर्नको लागि हरेक समूहका एक÷एक जना सक्रिय कृषकलाई यसअघि प्राविधिक सम्बन्धि प्रशिक्षण दिइसकेको उनले बताइन् । यसपछि किसानले उत्पादन गरेको अन्नबाली कुटानी–पिसानीको लागि मिनिमिल पनि उपलब्ध गराउने पालिकाको कार्यक्रम रहेको जनाइएको छ । क्रमिक रुपमा हलगोरुको सट्टा दूध उत्पादनको लागि उन्नत जातको गाई, भैंसी पाल्न प्रोत्साहन गर्दै आधुनिक उपकरणहरु पालिकाको अनुदानमा अधिकाँश कृषकको पहुँच पुग्ने गरी उपलब्ध गराउने योजना बनाइएको पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए । आधुनिक मेसिन पाएपछि किसानको मुहारमा खुशी छाएको छ । काम गर्न सहज हुँदा उनीहरु खुशी भएका छन् । योभन्दा पहिले खेती गर्दै आएका किसानले परम्परागत हलगोरुको सहारामा धेरै महंगो लगानीमा कठिन साथ बालीनाली लगाएर जिविका चलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here