काठमाडौं,वैशाख २ । एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन मोरङको बिराटनगरमा हुने भएको छ । मंगलबार राजधानीमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सम्मेलन बिराटनगरमा गर्ने निर्णय गरेको हो ।
सम्मेलनको उदघाटन बैसाख १८ गते मे दिवसको दिन पारेर हुनेछ । करिब पांच दिनसम्म चल्ने सम्मेलनको स्थल भने कार्यालय बैठकले तय गरेको छैन । यसअघि राष्ट्रिय सम्मेलन राजधानीमा गर्ने बताइंदै आएको थियो । बिराटनगरको गर्मीमा आयोजना गरिने सम्मेलनले हेटौडा महाधिवेशनले समाधान गर्न नसकेको संगठनात्मक समस्या समाधान गर्ने बताइएको छ । सम्मेलनमा सहभागी हुन जिल्ला तहबाट निर्वाचित भएर आउनुपर्ने विधि एमाओवादीले तय गरेको छ ।
राष्ट्रिय सम्मेलनमा विधान संशोधनलगायतका विषयमा निर्णय लिइने बताइएको छ । साथै विभिन्न छानविन समितिले तयार पारेका प्रतिवेदनहरुमाथि समेत छलफल हुने एमाओवादीले बताएको छ ।