विद्यार्थी भर्ना अभियान सुरु

0
439

बिर्तामोड,वैशाख २ । शैक्षिक सत्रसंगै मंगलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । अघिल्ला वर्षहरु जस्तै बैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

५ वर्ष उमेर पुगेका सबै बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न मन्त्रालयले सबै अभिभावक, शिक्षक तथा सरोकारवालाहरुसंग आग्रह गरेको छ । यस्तै भर्ना हुन आउने कुनै पनि बालबालिकालाई नफर्काउन पनि मन्त्रालयले विद्यालयहरुको ध्यानाकर्षण गराएको छ ।

आउंदो शैक्षिकसत्र सम्ममा विद्यार्थी भर्नादर ९८ प्रतिशत पुर्‍याउने सरकारले लक्ष्य राखिएको मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१५ अर्थात अर्को वर्षसम्ममा उमेर पुगेका सबै बालबालिकालाई विद्यालय पठाउनुपर्ने हुन्छ ।

भर्नादर ९८ प्रतिशत पुग्यो भने पनि सहस्राब्दी विकास लक्ष्य भेटिने भएकाले त्यस अनुसार अभियान चलिरहेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता पाण्डेका अनुसार वर्षेनी भर्नादर बढिरहेको छ । अहिले यो दर ९५ दशमलव ६ सम्म पुगेको उनले जानकारी दिए ।

भर्नादर बढाउन सरकारले हरेकवर्ष अभियान सञ्चालन गर्दै आएको छ । यसैबिच सबै विद्यालयमा यही महिनाको दोस्रो हप्ताभित्र किताब पुगिसक्ने सरकारले दावी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here