घर बाहिर ननिस्कन आदेश

0
995

झापा, झापामा एक साता निषेधाज्ञा लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसी को बैठकले जेठ ७ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

यसअघि वैशाख १९ गतेदेखि लगाइएको पहिलो चरणको निषेधाज्ञा भन्दा दोस्रो चरणको निषेधाज्ञा झन् कडा पारिएको छ। बैठकले जिल्लाभरि अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधनमाथि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै जानु र पहिलो चरणको निषेधाज्ञा उल्लङ्घन भएको जनगुनासो आएपछि यस पटकको निषेधाज्ञा थप कडा पारिएको प्रजिअ तिमिल्सिनाको भनाई छ।

त्यस्तै औषधि, स्वास्थ्य सामग्री, इन्धन बाहेक अन्य खाद्यान्न पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने र हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बिहान ८ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने सकिने निर्णय बैठकले गरेको छ।

बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ।

त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थिति भई काम गर्ने, त्यहाँका कार्यरत कर्मचारीले परिचयपत्रका आधारमा बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म सरकारी तथा निजी सवारीसाधन चलाउन पाउने, बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारीको उपस्थितिमा हप्ता दुई दिन सञ्चालन गर्न पाउने, सहकारी संस्थाहरूले बचत सङ्कलन स्थगित गर्ने लगायत बुँदा निर्णय गरेको छ।

भारतको खुला नाकासँग जोडिएको झापामा पछिल्लो पटक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ। जिल्ला बिहीबारसम्म २ हजार ३३० जना सक्रिय संक्रमित रहेका छन्। आज एकै दिन पाँच जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या १७० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here