झापामा आजबाट ‘पूर्ण लकडाउन’

0
910

झापा, झापामा आज शनिवारबाट ‘पूर्ण लकडाउन’ गरिएको छ । कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले विहीवार पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको हो ।
शुक्रवार मध्यरातिदेखि जेठ ७ गते मध्यरातिसम्म निषेधाज्ञा लागू हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा विहीवार जारी आदेशमा उल्लेख छ ।

निषेधाज्ञाको समयमा कुनै पनि व्यक्तिलाई औषधि खरिद तथा उपचार बाहेक घरबाहिर ननिस्कन आदेश दिइएको छ भने अत्यावश्यक सेवा बाहेकका सबै गाडी र पसल समेत बन्द गरिएको छ । यसअघिको निषेधाज्ञा केही खुकुलो थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि प्रजिअ तिमिल्सिनाले ‘पूर्ण लकडाउन’को आदेश जारी गरेका हुन् ।
आदेशमा सरकारी कर्मचारीलाई समेत हिँड्डुलमा कडाइ गरिएको छ । त्यस्तै औषधि पसल र स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ (एलपी ग्याससहित) बाहेक सबै पसलहरु बन्द गर्न भनिएको छ ।

विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा झापा जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बांट प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६को उपदफा ३ले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकार प्रयोग गरी झापा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ । ‘यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, संघ–संस्था पेशाकर्मी व्यवसायी तथा आम नागरिकको कर्तव्य हुनेछ’– प्रजिअ तिमिल्सिनाद्वारा जारी आदेशमा भनिएको छ– ‘यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

आदेशमा यसो भनिएको छ –

१. सर्वसाधारणका लागिः–  औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने ।
– नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरीको अनिवार्य पालना गर्ने ।
– हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भीडभाड हुने कार्य नगर्ने ÷नगराउने ।
– कोभिड–१९को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहको आइलसोलेसन सेन्टरमा सम्पर्क राख्ने ।

२. कार्यालय सञ्चालन सम्बन्धमाः– – अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, वीमा लगायतका कार्यालयहरुले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम् कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने ।
– सरकारी, सार्वजनिक कार्यालयका कर्मचारीहरुले कर्मचारी परिचयपत्रका आधारमा बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः००सम्म मात्र सरकारी तथा निजी सवारी साधनमा आवतजावत गर्न पाउने । साथै अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयका कर्मचारीहरुको हकमा कर्मचारी परिचयपत्रका आधारमा सरकारी तथा निजी सवारी साधनमा आवश्यकता अनुसार आवतजावत गर्न पाउने ।

३. बैंक÷वित्तीय संस्था सम्वन्धमाः– – बैक तथा वित्तीय संस्थाको सम्वन्धमा सम्वन्धित माथिल्लो निकायको स्वीकृति लिई न्यूनतम् कर्मचारीको उपस्थितिमा हप्तामा २ दिन आलोपालो मिलाई सञ्चालन गर्ने ।
– सहकारी संस्थाहरुले घर, पसल तथा समूहमा गई बचत रकम संकलन गर्ने कार्य हाललाई स्थगित गर्ने ।

४. पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमाः– – औषधि र स्वास्थ्य सामग्री, इन्धन (पेट्रोल÷डिजल स्टेसन, एलपी ग्यास) बाहेक अन्य खाद्यान्न पसल, व्यवसायपूर्ण रुपमा बन्द गर्ने ।
– हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ८ बजेभित्र घर–घरमा डेलीभरी सेवा उपलब्ध गराउन सकिने ।
– औषधि पसल तथा अत्यावश्यक सेवा सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्ने ।
– सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सैलुन, व्यूटी पार्लर, जीमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि बन्द गर्ने ।

५. सवारी साधन सञ्चालन सम्बन्धमाः– – अत्यावश्यक सेवा सञ्चालन गर्ने नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने सरकारी तथा निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको कर्मचारी परिचय–पत्रको आधारमा विहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म तथा बेलुकी ५ः०० बजेदेखि ६ः००सम्म सञ्चालन गर्न दिइने ।
– अत्यावश्यक सेवाहरु वाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८ बैशाख ३१ गते राति १२ः०० बजेदेखि ऐ. जेठ ०७ गते राति १२ः०० बजेसम्म झापा जिल्लाभर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।
– अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूधजन्य पदार्थ बोकेको सवारी साधन, बैङ्क, वित्तीय संस्था, रेडक्रस, दुरसञ्चार, विद्युत्, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँकसेवा, ढुवानी लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।

६. उद्योग, कल–कारखाना र निर्माण कार्य सञ्चालन सम्बन्धमाः–  – उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसर भित्रै मिलाउने, छुट्टै क्वारेनटाइनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने ।
– राष्ट्रिय गौरब र महत्वका आयोजना÷परियोजनाको निर्माण कार्य स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने र उक्त कार्यका लागि कामदारहरुलाई खाने बस्ने व्यवस्था सोही स्थानमा सम्वन्धित आयोजनाले मिलाउने ।

७. विवाह तथा मृत्यु संस्कार सम्बन्धमाः– – विवाहको लागि बढीमा १० जनासम्म जन्ती जान आउन दुलाहा दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जनासम्म व्यानर राखेर प्रयोग गरी जिल्लाभित्र वा अन्य जिल्लामा आवत जावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने ।
– मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेश गर्नुपर्ने ।

८. सीमा नाका सम्बन्धमाः–  सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली सुचारु राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणालीसम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने ।
– काँकरभिट्टा नाका बाहेक अन्य नाका तथा गौडाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउने ।
– काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

९. सभा सम्मेलनको हकमाः–  सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमीनार लगायतका कार्यहरुको सञ्चालनमा रोक लगाउने ।

१०. निषेधाज्ञा जारी भए पश्चात यस कार्यालयबाट जारी भएका यात्रा सहजीकरण सम्वन्धी सबै अनुमतिहरु मिति २०७८।२।१ बाट लागू हुने गरी रद्द गर्ने ।

११. विविधः–
– सञ्चारकर्मी÷पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना बिभागले जारी गरेको परिचय पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
– अत्यावश्यक उपयोग्य बस्तु वा सेवाको आपूर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपरकानून बमोजिम कडा कारवाही गर्ने ।
– अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाई टिकट, राहदानी, भिषा लगायतका कागजातका आधारमा सम्बन्धित व्यक्ति र निजले प्रयोग गर्ने सवारी साधनलाई यात्रा सहजीकरण गरिने ।

१२. यो आदेशको अवहेलना गर्ने वा काममा बाधा पुयाउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here