बिर्तामोड, एकका लागि एक अभियानको आव्हान अक्सिजन बैंक स्थापनाका लागि गरिएको ‘एक व्यक्ति एक सिलिण्डर सहयोग आव्हान’ अन्तर्गत शुक्रवार एकैदिन नै ९ वटा सिलिण्डरका लागि सहयोग रकम जुटेको छ । सहयोग आव्हानको औपचारिक घोषणा अघि नै उत्साहजनक रुपमा सहयोग जुट्न थालेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाले प्रति सिलिण्डर १५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेका हुन् । कोरोना भाइरसको महामारीमा जीवन रक्षाका लागि अभियानले चार सय वटा अक्सिजन सिलिण्डरसहित अक्सिजन बैंक स्थापना गर्न लागिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए ।
अहिले अक्सिजनको अभावमा धरै संक्रमितले अचानक ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरेर मानवताको सेवाका लागि अक्सिजन बैंकको अवधारणा अघि ल्याइएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए ।
अक्सिजन बैंक स्थापनाका लागि बिर्तामोड–१की दुर्गादेवी ढकालले छोरी स्मृति र नातिनी सानिध्य खड्काको नाममा एक सिलिण्डर बराबर १५ हजार रुपैयाँको चेक पूर्वाञ्चल दैनिकको कार्यालयमा आएर प्रदान गरिन् । उनले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्नु नपरोस् भनेर सहयोग गरेको बताइन् । अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीसहितको टोलीलाई उनले रकम हस्तान्तरण गरेकी हुन् ।
त्यस्तै झापाको बुद्धशान्ति–५स्थित नबोल्ने बा स्मृति प्रतिष्ठानले समेत शुक्रवार नै सहारा नेपालको केन्द्रीय कार्यालयमा पुगेर एक सिलिण्डर बराबर १५ हजार रुपैयाँ प्रदान गरेको छ । लोकनाथ खतिवडाको स्मृतिमा स्थापित प्रतिष्ठानले यस बर्षका लागि सञ्चालन गरेको ‘स्वास्थ्यका लागि नबोल्ने बा’ कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेश खतिवडाले बताए । कोभिडका बिरामीमा प्राण भर्न प्रतिष्ठानले सांकेतिक रुपमा सहयोगको शुरुवात गरेको अध्यक्ष खतिवडाले बताए । खतिवडा, महासचिव रोहित भट्टराईसहितको टोलीले एकका लागि एक अभियानको सचिवालयमा गोपाल भट्टराईलाई उक्त रकम प्रदान गरेका थिए ।
शुक्रवार नै बिर्तामोड–२ चारपानेका डिल्लीराम सिटौला र माया देवी सिटौलाले समेत एक सिलिण्डर सहयोग प्रदान गरेका छन् । त्यस्तै काठमाडौं घर भई हाल बेलायतमा रहने भीमसेन खड्का र कोपिला सिटौलाले समेत एक सिलिण्डरको सहयोग प्रदान गरेका छन् । ढुण्डीराज र गंगामाया भण्डारीको स्मृतिमा उनीहरुका नाति कनकाई–१ घर भई हाल दक्षिण कोरियामा रहेका कृष्ण भण्डारीले एक सिलिण्डर बराबरको सहयोग प्रदान गरेको अभियान सचिवालयका मातृका सुवेदीले बताए ।
त्यस्तै मेदनी र सीता मैनालीको स्मृतिमा उनीहरुका छोरीज्वाईँ कमला–भरत पाठक, काशीनाथ–गोमादेवी प्रसाईंको स्मृतिमा छोरीज्वार्इँ डम्बरकुमारी–डिल्लीप्रसाद ओलीले समेत एक÷एक सिलिण्डर बराबरको सहयोग प्रदान गरेका छन् । त्यस्तै बिर्तामोड–२ चारपानेका तिलकबहादुर–देवीमाया गिरी र शनिश्चरे मावि ०४१ सालको एसएलसी व्याचका विद्यार्थीले एक÷एक सिलिण्डर गरी ९ वटा अक्सिजन सिलिण्डरका लागि सहयोग जुटेको बताइएको छ ।
एकका लागि एक अभियानले शनिवार विहान जुममार्फत पत्रकार सम्मेलन गरी अभियानको आगामी योजना बारे विस्तृत घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।































