झापा, झापामा अक्सिजन बैंक स्थापनाको तयारी थालिएको छ ।
जिल्लामा नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्दै गएपछि निजी स्तरबाट अक्सिजान बैंक स्थापनाको तयारी थालिएको हो । जसका लागि आजबाट झापामा तीन वटा कार्यक्रम घोषणा गरिएको हो । आज भर्जुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरी कार्यक्रम घोषणा गरेका हुन् ।

कोभिडको दोस्रो लहरमा अभियानले अक्सिजन बैंक स्थापना गर्ने, संक्रमित परिवारलाई खाद्य सामग्री उपलब्ध गराउन एक करोड संकलन गर्ने र एक्स–रे मेसिन खरिद गरेर सञ्चालनमा ल्याउने कार्यक्रम घोषणा गरिएको छ । ४ सय भन्दा बढी अक्सिजन सिलिण्डर चाइनाबाट आयात गर्ने संयोजक गिरीले जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सहारा नेपालले १ सय थान अक्सिजन सिलिण्डर सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, अष्ट्रेलियाबाट दिपक खनालले १० थान, अन्तर्राष्ट्रिय झापाली समाज समाजले अक्सिजन बैंकलाई १ सय थान सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ ।































