झापा , बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेसनका लागि अक्सिजन सिलिन्डर प्रदान गरीएको छ ।
कारोना महामारीको बिच अक्सिजन अभाव हुनसक्ने संभावनालाई ध्यानमा राख्दै छठ समाज सेवा समिति विर्तामोडले ५ थान अक्सिजन सहितको सिलिन्डर नगरपालिकालाई प्रदान गरेको हो ।
बुधबार नगरपालिकाले निर्माण गरेको आइसोलेसन भवनमा उपस्थित अध्यक्ष राजकुमार गुप्ता सहितको छठ समाज सेवा समितिको टिमले नगरप्रमुख धुर्वकुमार शिवाकोटीलाई सिलिन्डर हस्तान्तरण गरेको हो ।समितिले यस अघि ‘एकका लागि एक’अभियानलाई समेत ५ थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरेको जनाएको छ ।
बिर्तामोड नगरपालिकामा तत्कालका लागि अक्सिजनको अभाव नभएको नगरका प्रवक्तासमेत रहनु भएका वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो ।उहाँले नगरमा अक्सिजन प्लान्टको स्थापनाका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।बिर्तामोड नगरपालिकाले अक्सिजन सहितको ५० शैयाको आइसोलेसन तथा ५ बेडको कोभिड हस्पिटल सञ्चालनमा ल्याएको छ ।






























