ट्युबवेलमा पानी आउन छाड्यो, गाउँमा पानीको हाहाकार

0
706

 

पार्थ मण्डल

झापा , जथाभाबी नदीजन्य पदार्थको उत्खननले नदी तथा खोला आसपासका बासिन्दा घरबार छाडेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले घर बाहिर ननिस्कन आदेश जारी गरेका बेला उत्तरी झापावासी अहिले पिउने पानीको अभाव झेल्न बाध्य भएका छन् ।

स्थानीय तहको मिलेमतोमा हुने अवैध नदीजन्य पदार्थ उत्खननका कारण अहिले मेचीनगर नगरपालिका ३ मा पिउने पानीको हाहाकार मच्चिएको छ । वडा नम्बर ३ स्थित बडाखाल र महल्यागाउँका करिब २ सय घरमा रहेको ट्युबवेलमा पानी आउन छाडिसकेको स्वमय स्थानीयले बताएका छन् ।

मेचीनगर नगरपालिकाले खोला तस्करसँगको मिलेमतोमा गाउँको पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरी रुपमा उत्खनन गर्दा नदी गहिरिएर पानी सुकेको स्थानीयले बताएका छन् । विगतदेखि नै अवैध रुपमा नदी दोहनमा सक्रिय रहँदै आएको मेचीनगर नगरपालिकाले एक मिटर मात्रै उत्खनन गर्नुपर्ने ठाउँमा साढे ३ मिटरसम्म नदी खनेकोले गाउँभरिको ट्युबवेल सुकेको उनीहरू बताउँछन् ।

‘विवाह गरेर गाउँमा आउँदा ट्युबवेलमा पानी आइरहेको थियो, स्थानीय अनुपा मेचे भनिन्, ‘केही वर्षयता देखि ट्युबवेलमा पानी आउनै छाडिसक्यो, मेरो घरमा नभई गाउँका अधिकांश घरको ट्युबवेलमा अहिले पानी आउँदैन ।’ छेउमै रहेको खोला जथाभाबी खन्दा अघिल्लो वर्षको तुलनामा यसबर्ष टोलभरिका ट्युबवेलको पानी सुकेको स्थानीय मणिकुमार सुनुवारको भनाई छ । जसले गहिरो खनेर ट्युबवेलको पाइप गाडियो त्यसको घरमा अलिअलि पानी आइरहेको बताउँदै उनले भने, ‘अरूको घरमा पानी आउन छाडियो ।’

वातावरण परीक्षण ९आइइइ० गरेर सोही प्रतिवेदनका आधारमा निश्चित परिमाणमा मात्रै नदीजन्य पदार्थ उत्खनन गर्ने गरी नगरपालिकाले ठेक्का लगाउनुपर्ने भए पनि केही वडाध्यक्ष र अन्य जनप्रतिनिधिको मिलेमतोमा नगरभित्र रहेका निन्दा, मेची, टिमाई, हडिया लगायतका नदी निर्बाध रुपमा उत्खनन हुँदै आइरहेको छ । नगरपालिका आफै दोहनमा लागेकाले गाउँमा पिउने पानीको अभाव भएको स्थानीय गोविन्द प्रसाद सेडाँईले बताए । ‘खोलामा दादागिरी चलेको छ, मेयरलाई फोन गरौँ कि भनेर सोच्दा सबैको सेटिङ छ भन्ने आवाज आयो, उनले भने, ‘यसलाई रोक्न हामीले पत्रकार गुहार्नु पर्‍यो ।’

घरको ट्युबवेलमा पानी आउन छाडेपछि जसको घरमा अलिअलि पानी आइरहेको छ बाल्टिन लिएर त्यसैकोमा पुग्नु पर्ने अवस्था आएको स्थानीय सपना धिमालले गुनासो पोखिन् । नदी उत्खननका कारण पानी सुकेको भन्दै नगरपालिकालाई हारगुहार गरेको भए पनि उल्टै जनप्रतिनिधिले गैह्जिम्मेवार कुरा गरेर फर्काउन थालेको स्थानीय प्रदीप सेढाँईले बताए ।

‘हामीले पटक–पटक जनप्रतिनिधिलाई बोलाएर पानीको समस्या बारेमा देखायो, उनले भने, ‘जनप्रतिनिधि भन्छन्– पानी सुक्नु संसार भरिकै समस्या हो, अब गाउँवासीलाई नगरपालिकाले बोडिङ दिन्छ ।’ यता अवैध नदीजन्य पदार्थ उत्खनन जनप्रतिनिधिमा दोहन भइरहेको विषयमा नगरपालिकालाई जानकारी गराइसकेको र समस्याको समाधान नगरपालिकाले नै गर्ने वडा नम्बर ३ का वडाध्यक्ष हर्क बस्नेतले बताए । ‘वडा कार्यालय र वडाका जनप्रतिनिधिले जथाभाबी उत्खनन रोक्न सक्दैनन्,’ उनले भने ।

नक्कली रसिद छापेर नदी दोहन गर्दै जनप्रतिनिधि

मेचीनगरका जनप्रतिनिधिले नक्कली रसिद छापेर नदी दोहन गर्नुका साथै लाखौँ राजश्व समेत हिनामिना गरेको तथ्य बाहिर आएको छ । नदीजन्य पदार्थ तस्कर गर्नेलाई पक्षपोषण गर्दै आएका मेचीनगरका केही जनप्रतिनिधिले नक्कली रसिदमार्फत राजश्व हिनामिना गरेको तथ्य खुलेको छ ।

नगर क्षेत्रको मेची, निन्दा, टिमाई हडिया लगायतका नदीबाट उत्खनन गरिएको नदीजन्य पदार्थको कर बापतको राजश्व उठाउने रसिदको ठेली नै कार्यपालिका सदस्य टिकाराम मंग्रान्ति, कृष्ण कनाल र वडा नम्बर १० का वडाध्यक्ष सुवेश पनेरुले गायब गरेका छन् । उनीहरूले नगरपालिकाबाट ५० प्रति बिल भएका १५० भन्दा बढी रसिदको बुङ्ग गत असोज लिएका थिए । तर, उनीहरूले अहिलेसम्म रसिदको अर्धकट्टी तथा राजश्व रकम नबुझाएपछि जनप्रतिनिधि नै नदी दोहन घोटालामा संलग्न रहेको तथ्य सार्वजनिक भएको हो । नगरपालिकाले उनीहरूको नाममा पटक पटक सूचना जारी गर्दै चाँडो करको रसिद र राजश्व बुझाउन ताकेता गरिसकेको नगरपालिका मेयर विमल आचार्यले बताए । जनप्रतिनिधिलाई दिएको जिम्मेवारी पूरा नगर्दा समस्या आएको बताउँदै मेयर आचार्यले भने, ‘अहिले नक्कली रसिद छाप्नेदेखि राजश्व छलेको विषयमा पनि धेरै कुरा उठिरहेको छ, त्यस विषयमा नगरपालिकाले पनि अनुसन्धान गरिरहेका छौँ, जनप्रतिनिधिले समयमा रसिद नबुझाउँदा माथिल्लो निकायमा पनि कर बुझाउन सकेनौँ ।’

गत आर्थिक वर्ष ०७७–७८ मा साढे चार करोड रुपैयाँमा नगरपालिका क्षेत्रभित्रका नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का नगरपालिकाले लगाएको थियो । चालु आर्थिक वर्षको असोजसम्म खोलाको ठेक्का नलागेपछि नगरपालिकाले खोला कर उठाउन जनप्रतिनिधि मंग्रान्ती, कनाल र पनेरुलाई जिम्मा दिएको थियो । उनीहरूले १५० वटा रसिदका बुङ्ग लगेका थिए । त्यो रसिद बराबरको रकम अझै नगरपालिकाको राजश्व शाखामा दाखिला नभएपछि केही जनप्रतिनिधि आक्रोसित बनेका छन् । उनीहरूले नगरपालिकाबाट लगेको रसिदको बुङ्ग बुझाउनुको सट्टा नक्कली रसिदको प्रयोग गरी नदी दोहन गरेको स्वयम जनप्रतिनिधिहरू नै बताउँछन् । नगरपालिकाबाट लगिएको १५० वटा बुङ्गको मात्र हिसाब अहिलेसम्म देखिएको बताउँदै मेचीनगर १३ नम्बर वडाध्यक्ष कृष्णराज सिग्देलले भने, ‘त्यसपछि कहाँबाट कसरी कति रसिद छापियो, त्यस रसिदबाट उठेको करको रकम कहाँ गयो, अहिलेसम्म त्यसको लेखाजोखा छैन ।’ ‘नगरपालिकाले दिएको बाहेक अन्य नक्कली रसिद खोलामा प्रयोग हुँदा खोला कति गहिराइ खनियो, त्यो पनि नगरपालिकासँग रेकर्ड पनि छैन,’ उनले भने ।

नगरपालिकाका राजश्व शाखा प्रमुख खेम प्रसाईँका अनुसार अघिल्लो पटक लगिएका रसिद अहिलेसम्म नगरपालिकालाई नबुझाएको बताए । १० हजारदेखि १६ हजारसम्मको १२० वटा र १ देखि १० हजारसम्मको ३० वटा रसिद आउन बाँकी रहेको उनको भनाई छ । नगरपालिकाले गत चैत ३ गते उनीहरूलाई पत्राचार गरी उठेको राजस्व दाखिला गर्न र रसिदको कार्बन कपी बुझाउन निर्देशन दिएको थियो । त्यो निर्देशनपछि उनीहरूले लगेको १५० वटा रसिदको बुङ्ग मध्ये ५० वटा रसिद मात्र फिर्ता दिएको नगरपालिकाले जनाएको छ ।

यता नदीजन्य पदार्थ खरिद गरी भण्डारण गर्दै आएकाहरूले समेत दिनमा एक पटक रसिद काटेपछि ६ पटकसम्म नदीजन्य पदार्थ निर्बाध रुपमा ओसार्न पाइने गरेको बताएका छन् । उनीहरूले लगेको रसिद अनुसार राजस्व दाखिला नभएको र नक्कली रसिद पनि छापिएको हुनसक्ने छानबिन समितिका सदस्य तथा वडा नम्बर ११ का वडाध्यक्ष सन्तोष मेचेले बताए । ‘यस विषयमा उनीहरूसँग लिखित रिपोर्ट मागेका छौँ, त्यसपछि मात्र वास्तविक घटना बाहिर आउँछ,’ उनले भने ।

सार्वजनिक खरिद ऐनलाई समेत लत्त्याएर नगरपालिकाको बोर्ड बैठकले सोझै कार्यपालिका सदस्यहरूलाई नदीजन्य पदार्थ सङ्कलन बापतको कर असुल्ने अधिकार दिएकोले समेत उनीहरूले घोटाला गरेको नगरवासीको भनाइ छ । नगरपालिकाले नदीजन्य पदार्थको तस्करी रोक्न नसक्दा नगर क्षेत्रभित्रका खोला नाला अधिक दोहन भइसकेको खोला आसपासका स्थानीयले बताएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा ढुङ्गा र बालुवा उत्खननका लागि मेची र निन्दा नदीमा ठेक्का लगाएन भने हडिया र टिमाईको मात्र ठेक्का लगाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here