जनप्रतिनिधिकै मिलेमतोमा मेचीनगरका खोला दोहन: ट्युववेलमा पानी आउन छाड्यो, पानीको हाहाकार

0
964

पार्थ मण्डल

झापा, जथाभाबी नदीजन्य पदार्थको उत्खनन्ले नदी तथा खोला आसपासका बासिन्दा घरबार छाडेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् ।
दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले घर बाहिर ननिस्कन आदेश जारी गरेका बेला उत्तरी झापावासी अहिले पिउने पानीको अभाव झेल्न बाध्य भएका छन् ।
स्थानीय तहको मिलेमतोमा हुने अवैध नदीजन्य पदार्थ उत्खनन्का कारण अहिले मेचीनगर नगरपालिका –३मा पिउने पानीको हाहाकार मच्चिएको छ । वडा नम्बर–३स्थित बडाखाल र महल्यागाउँका करिब २ सय घरमा रहेको ट्युववेलमा पानी आउन छाडिसकेको स्थानीयले बताएका छन् । मेचीनगर नगरपालिकाले खोला तस्करसँगको मिलेमतोमा गाउँको पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरि रुपमा उत्खनन् गर्दा नदी गहिरिएर पानी सुकेको स्थानीयले बताएका छन् ।
बिगतदेखि नै अवैध रुपमा नदी दोहनमा सक्रिय रहँदै आएको मेचीनगर नगरपालिकाले एक मिटर मात्रै उत्खनन् गर्नुपर्ने ठाउँमा साढे ३ मिटरसम्म नदी खनेकोले गाउँभरिको ट्युववेल सुकेको उनीहरू बताउँछन् । ‘विवाह गरेर गाउँमा आउँदा ट्युववेलमा पानी आइरहेको थियो, स्थानीय अनुपा मेचे भनिन्– ‘केही वर्षयता देखि ट्युववेलमा पानी आउनै छाडिसक्यो, मेरो घरमा नभई गाउँका अधिकांश घरको ट्युववेलमा अहिले पानी आउँदैन ।’ छेउमै रहेको खोला जथाभावी खन्दा अघिल्लो वर्षको तुलनामा यसबर्ष टोलभरिका ट्युववेलको पानी सुकेको स्थानीय मणिकुमार सुनुवारको भनाइ छ । जसले गहिरो खनेर ट्युववेलको पाइप गाडियो त्यसको घरमा अलिअलि पानी आइरहेको बताउँदै उनले भने– ‘अरूको घरमा पानी आउन छाड्यो ।’
वातावरण परीक्षण (आइइइ) गरेर सोही प्रतिवेदनका आधारमा निश्चित परिमाणमा मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्ने गरी नगरपालिकाले ठेक्का लगाउनुपर्ने भए पनि केही वडाध्यक्ष र अन्य जनप्रतिनिधिको मिलेमतोमा नगरभित्र रहेका निन्दा, मेची, टिमाई, हडिया लगायतका नदी निर्बाध रुपमा उत्खनन् हुँदै आइरहेको छ । नगरपालिका आफै दोहनमा लागेकाले गाउँमा पिउने पानीको अभाव भएको स्थानीय गोविन्दप्रसाद सेढाँईले बताए । ‘खोलामा दादागिरी चलेको छ, मेयरलाई फोन गरौँ कि भनेर सोच्दा सबैको सेटिङ छ भन्ने आवाज आयो– उनले भने– ‘यसलाई रोक्न हामीले पत्रकार गुहार्नु प¥यो ।’
घरको ट्युववेलमा पानी आउन छाडेपछि जसको घरमा अलिअलि पानी आइरहेको छ बाल्टिन लिएर त्यसैकोमा पुग्नुपर्ने अवस्था आएको स्थानीय सपना धिमालले गुनासो पोखिन् । नदी उत्खनन्का कारण पानी सुकेको भन्दै नगरपालिकालाई हारगुहार गरेको भए पनि उल्टै जनप्रतिनिधिले गैह्रजिम्मेवार कुरा गरेर फर्काउन थालेको स्थानीय प्रदीप सेढाँईले बताए । हामीले पटक–पटक जनप्रतिनिधिलाई बोलाएर पानीको समस्या बारेमा देखायो– उनले भने– ‘जनप्रतिनिधि भन्छन्– पानी सुक्नु संसारभरिकै समस्या हो, अब गाउँवासीलाई नगरपालिकाले बोरिङ गरिदिन्छ ।’
यता अवैध नदीजन्य पदार्थ उत्खनन् जनप्रतिनिधिको मिलेमतोमा दोहन भइरहेको विषयमा नगरपालिकालाई जानकारी गराइसकेको र समस्याको समाधान नगरपालिकाले नै गर्ने वडा नम्बर ३का वडाध्यक्ष हर्क बस्नेतले बताए । ‘वडा कार्यालय र वडाका जनप्रतिनिधिले जथाभाबी उत्खनन् रोक्न सक्दैनन्’– उनले भने ।

नक्कली रसिद छापेर नदी दोहन गर्दै जनप्रतिनिधि

मेचीनगरका जनप्रतिनिधिले नक्कली रसिद छापेर नदी दोहन गर्नुका साथै लाखौँ राजश्व समेत हिनामिना गरेको तथ्य बाहिर आएको छ । नदीजन्य पदार्थ तस्कर गर्नेलाई पक्षपोषण गर्दै आएका मेचीनगरका केही जनप्रतिनिधिले नक्कली रसिदमार्फत राजश्व हिनामिना गरेको तथ्य खुलेको छ । नगर क्षेत्रको मेची, निन्दा, टिमाई हडिया लगायतका नदीबाट उत्खनन् गरिएको नदीजन्य पदार्थको कर बापतको राजश्व उठाउने रसिदको ठेली नै कार्यपालिका सदस्य टीकाराम मंग्रान्ती, कृष्ण कनाल र वडा नम्बर १०का वडाध्यक्ष सुवेश पनेरुले गायव गरेका छन् ।
उनीहरूले नगरपालिकाबाट ५० प्रति भएका १५०भन्दा बढी रसिद बुक गत असोज लिएका थिए । तर, उनीहरूले अहिलेसम्म रसिदको अर्धकट्टी तथा राजश्व रकम नबुझाएपछि जनप्रतिनिधि नै नदी दोहन घोटालामा संलग्न रहेको तथ्य सार्वजनिक भएको हो । नगरपालिकाले उनीहरूको नाममा पटक–पटक सूचना जारी गर्दै चाँडो करको रसिद र राजश्व बुझाउन ताकेता गरिसकेको मेयर विमल आचार्यले बताए । जनप्रतिनिधिलाई दिएको जिम्मेवारी पूरा नगर्दा समस्या आएको बताउँदै मेयर आचार्यले भने– ‘अहिले नक्कली रसिद छाप्नेदेखि राजश्व छलेको विषयमा पनि धेरै कुरा उठिरहेको छ, त्यस विषयमा नगरपालिकाले पनि अनुसन्धान गरिरहेका छ ।
जनप्रतिनिधिले समयमा रसिद नबुझाउँदा माथिल्लो निकायमा पनि कर बुझाउन सकिएको छैन– उनले भने । गत आर्थिक वर्ष ०७७÷०७८ मा साढे चार करोड रुपैयाँमा नगरपालिका क्षेत्रभित्रका नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नगरपालिकाले लगाएको थियो । चालू आर्थिक वर्षको असोजसम्म खोलाको ठेक्का नलागेपछि नगरपालिकाले खोला कर उठाउन जनप्रतिनिधि मंग्रान्ती, कनाल र पनेरुलाई जिम्मा दिएको थियो । उनीहरूले १५० वटा रसिदका बक लगेका थिए । त्यो रसिद बराबरको रकम अझै नगरपालिकाको राजश्व शाखामा दाखिला नभएपछि केही जनप्रतिनिधि आक्रोशित बनेका छन् । उनीहरूले नगरपालिकाबाट लगेको रसिदको बुक बुझाउनुको सट्टा नक्कली रसिदको प्रयोग गरी नदी दोहन गरेको स्वयम् जनप्रतिनिधिहरू नै बताउँछन् ।
नगरपालिकाबाट लगिएको १५० वटा बुङ्गको मात्र हिसाब अहिलेसम्म देखिएको बताउँदै मेचीनगर–१३का वडाध्यक्ष कृष्णराज सिग्देलले भने– ‘त्यसपछि कहाँबाट कसरी कति रसिद छापियो, त्यस रसिदबाट उठेको करको रकम कहाँ गयो, अहिलेसम्म त्यसको लेखाजोखा छैन ।’ ‘नगरपालिकाले दिएको बाहेक अन्य नक्कली रसिद खोलामा प्रयोग हुँदा खोला कति गहिराइ खनियो, त्यो पनि नगरपालिकासँग रेकर्ड छैन’– उनले भने । नगरपालिकाका राजश्व शाखा प्रमुख खेम प्रसाईँका अनुसार अघिल्लो पटक लगिएका रसिद अहिलेसम्म नगरपालिकालाई बुझाएको छैन । १० हजारदेखि १६ हजारसम्मको १२० वटा र १ देखि १० हजारसम्मको ३० वटा रसिद आउन बाँकी रहेको उनको भनाइ छ । नगरपालिकाले गत चैत ३ गते उनीहरूलाई पत्राचार गरी उठेको राजश्व दाखिला गर्न र रसिदको कार्बन कपी बुझाउन निर्देशन दिएको थियो ।

त्यो निर्देशनपछि उनीहरूले लगेको १५० वटा रसिदको बुकमध्ये ५० वटा रसिद मात्र फिर्ता दिएको नगरपालिकाले जनाएको छ । यता नदीजन्य पदार्थ खरिद गरी भण्डारण गर्दै आएकाहरूले समेत दिनमा एक पटक रसिद काटेपछि ६ पटकसम्म नदीजन्य पदार्थ निर्बाध रुपमा ओसार्न पाइने गरेको बताएका छन् । उनीहरूले लगेको रसिद अनुसार राजश्व दाखिला नभएको र नक्कली रसिद पनि छापिएको हुनसक्ने छानबिन समितिका सदस्य तथा वडा नम्बर ११का वडाध्यक्ष सन्तोष मेचेले बताए । ‘यस विषयमा उनीहरूसँग लिखित रिपोर्ट मागेका छौँ, त्यसपछि मात्र वास्तविक घटना बाहिर आउँछ’– उनले भने ।
सार्वजनिक खरिद ऐनलाई समेत लत्याएर नगरपालिकाको बोर्ड बैठकले सोझै कार्यपालिका सदस्यहरूलाई नदीजन्य पदार्थ सङ्कलन बापतको कर असुल्ने अधिकार दिएकोले समेत उनीहरूले घोटाला गरेको नगरवासीको भनाइ छ । नगरपालिकाले नदीजन्य पदार्थको तस्करी रोक्न नसक्दा नगर क्षेत्रभित्रका खोला नाला अधिक दोहन भइसकेको खोला आसपासका स्थानीयले बताएका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा ढुङ्गा र बालुवा उत्खनन्का लागि मेची र निन्दा नदीमा ठेक्का लगाएन भने हडिया र टिमाईको मात्र ठेक्का लगाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here