झापा ,प्रजातन्त्र सेनानी सदुवा किसानको शनिबार आफ्न्नै निवासमा निधन भएको छ । किसान समुदायका एक मात्रै प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा निधन भएको हो ।
प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण उनलाई पञ्चायती सरकारले सात वर्ष जेल हालेको थियो। २९ देखि ३६ सालसम्म चन्द्रगडी जेलमा बन्दी जीवन बिताएका उनको घरबाट १२ थान हतियार (बन्दुक ) बरामद भएको थियोे ।
हतियार सहित पक्राउ परेका उनलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे । झापा मेचीनगर नगरपालिका १० किसानबस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु ), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उनी गणेशमान सिंह,गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिन्थे । उनी भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको शसस्त्र आन्दोलनमा सरिक व्यक्ति भएको उनका एकमात्र जीवित सहयात्री कृष्णबहादुर कार्कीले बताए । कार्की सदुवासँगै जेल बसेका व्यक्ति हुन् ।
जनमत संग्रहका बेला कांग्रेसका सबै नेता कार्यकर्ता छुटेका बेला आफू र सदुवा जेलमुक्त भएको कार्कीले सुनाए। जनमत नभएको भए आफूहरूलाई पञ्चायत सरकारले अड्डासार गरेर हत्या गर्ने योजना बनाएको कार्कीले सुनाए । सदुवाले भारतबाट कांग्रेस नेताको पत्र ल्याउने – पुर्याउने,प्रचार सामाग्री ल्याउने र जेलमा बस्दा राजनीति कैदी बन्दीलाई खाना पकाउने, ओसार्ने र खुवाउने कामको नेतृत्व समेत गरेको सहयात्री कार्कीले बताए। लोपोन्मुख समुदायका उनी कांग्रेस पार्टीले सञ्चालन गरेको आन्दोलनमा सरिक भएर जेलनेल भोगेका नेता भए पनि उपेक्षामा परेका थिए ।
प्रजातान्त्रिक आन्दोलनमा सरिक सदुवाका भाइ करु किसानले निन्दा पुलबाट हामफालेर भागेर ज्यान जोगाएको कार्कीको भनाइ छ । सेनाले घर घेराहाले पछि करु पुलबाट हामफालेर उम्किएको र भारत निर्वासनमा गएका थिए । करुलाई कार्कीले २५ रुपैयाँ दिएर भारत भगाएका थिए ।




























