सुरेन्द्र भण्डारी
झापा, एकातिर कोरोनाको त्रास, अर्काे तिर चर्काे गर्मी । अझ घर बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय झापाको आदेश छ ।
कोरोनाको बढ्दो संक्रमणका कारण चारै तिर सुनसान हुँदा पनि संक्रमितले भरिभरउ छन् झापाका सबै अस्पताल । उपचारका लागि संक्रमितलाई अस्पताल ल्याइए पनि मर्ने बाच्ने कुनै ठेगान नहुँदा संक्रमितका आफन्त आफैं त्रसिद छन् यतिबेला ।
संक्रमितलाई स्यर्हादा – स्यर्हादै आफूपनि संक्रमित होइने हो कि भन्ने पिर आफैमा छँदैछ । त्यसमाथि पनि कहाँ खाने, के खाएर प्राण धान्ने भन्ने पिरले गाँजेको छ संक्रमितका सबै आफन्तलाई । न होटल खुलेका छन्, न त आफन्तले नै संक्रमित परिवारलाई सहज रुपमा खाना खान दिन सक्ने अवस्था छ । अस्पताल नजिकै घर भएका संक्रमितका परिवारले आलो –पालो गर्दै खाना खालान् तर, टाढा – टाढाबाट उपचारका लागि अस्पताल ल्याएका संक्रमितका आफन्त रोगले भन्दा भोकले छटपटाई रहेका छन् अहिले झापाका सबैजसो अस्पतालमा ।
मेची प्रादेशिक अस्पताल भद्रपुर होस् या बिर्तामोडको बीएण्डसी अनि पूर्ण टुङ्ग बिर्ता सिटी अस्पताल नै किन नहोस् सबै अस्पतालमा अहिले संक्रमित बेडमा रोगले छटपटाई रहेका छन् भने संक्रमितका आफन्त भोकले छटपटाई रहेका छन् ।
कोरोना संक्रमितका आफन्त भोकले अस्पताल बाहिर छटपटाई रहेको देखेर बिर्तामोडमा रहेको मारवाडी युवती मञ्चले केही दिन अघिबाट परोपकारी कामको शुरुवात गरेको छ । कोरोना संक्रमितका आफन्त कोही पनि भोकले मर्न नपरोस् भन्दै अस्पताल परिसरमा नै पुगेर मारवाडी युवती मञ्चले निःशुल्क खाना वितरण शुरु गरेको हो ।

मारवाडी युवती मञ्चकी संयोजिका मुनमुन अग्रवालको अगुवाईमा अहिले मेची प्रादेशिक अस्पताल भद्रपुर सहित बिर्तामोडको बीएण्डसी अनि पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा खाना बितरण शुरु गरिएको छ । मारावाडी युवती मञ्चले शुरु गरेको यो अभियानमा मारवाडी युवा मञ्चका केही युवाले समेत साथ दिएका छन् ।

महामारीको यो समयमा आफ्नो ज्यान कसरी जोगाउने भन्ने चिन्ता छँदा – छँदै पनि कोरोना संक्रमितका आफन्तलाई मारवाडी समुदायका युवाले गरेको उदाहरणीय कामको अहिले झापामा धेरैले मुक्तकण्ठले प्रशंसा गर्दै आएका छन् ।
दिनहुँ अस्पताल – अस्पताल पुगेर आफूहरुले खाना बितरण गर्दै आएको मारवाडी समुदायका युवा व्यवसायी रितेश अग्रवालले बताउनुभयो । पहिलो चरणमा एक महिनासम्म बिरामीका आफन्त र कुरुवालाई खाना खुवाउने कार्यक्रम रहेको अग्रवालको भनाई छ ।
यता मारवाडी युवती मञ्चकी संयोजिका मुनमुनले सेवा भावले आफूहरुले खाना बितरण गर्दै आएको बताउनु भएको छ । खाना खान नपाएर भोकै रहेका विरामी र विरामीका आफन्तलाई अस्पतालमा नै पुगेर आफूहरुले निःशुल्क खाना बितरण गरेको उहाँको भनाई छ । युवती मञ्चका सात जनाको टिमले अस्पताल अस्पतालमा निःशुल्क खाना पु¥याउने काम गर्दै आएको अग्रवालको भनाई छ । आफूपनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित रहन सल्लाह दिँदै हामीले यो काम गरिरहेका छौं अग्रवालले भन्नुभयो – ग्रामीण वस्तीमा पनि विपन्न समुदायका नागरिक भोक –भोकै छन् भन्ने सुनेपछि अहिले विपन्न समुदायका नागरिकका लागि पनि निःशुल्क खानाको व्यवस्थापन गरेका छौं ।
विर्तामोड नगरपालिकाको सहकार्यमा बिर्तामोड – ५ को मुसहर वस्तीमा पनि निःशुल्क खाना बितरण शुरु गरेका छौं अग्रवालले भन्नुभयो – ‘यदि कोही मानिस महामारीको यो समयमा भोकै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् हामी सहयोग गर्न तयार छौं ।’

बिर्तामोड नगरपालिकाका कर्मचारी मेघराज वास्तोलाले माहामारीको यो समयमा मारवाडी युवती मञ्चले उदाहरणीय काम गरेको बताउनु भएको छ । जहाँ विपद पर्छ त्यहाँ मारवाडी समुदाय पुगेकै हुन्छ बास्तोलाले भन्नुभयो – संकटको यो घडीमा पनि अस्पतालदेखि वस्ती – वस्तीसम्म विपद्मा रहेका नागरिकका लागि सहयोग गरिरहेको छ मारवाडी समुदाय ।
बिर्तामोडका युवा व्यवसायी प्रविण अग्रवालको अगुवाईमा गत वर्ष पनि बन्दाबन्दीको समयमा बिर्तामोडमा ‘लकडाउन’ अवधि भरि खाना बितरण गरिएको थियो । बिर्तामोडका दुई युवा व्यवसायी प्रविण र पुरुषोत्म अग्रवाल‘पुरु’ले १० रुपैयाँमा खाना बितरण शुरु गरेपछि बिरटनगर हुँदै यो अभियान नेपालका धेरै ठाउँमा सञ्चालनमा आएको थियो र बिपन्न नागरिकलाई राहत मिलेको थियो ।
गत वर्ष बन्दावन्दीको समयमा मारवाडी समुदायका युवाले बाह्रदशी गाउँपालिकाको डाँगीवारीका विपन्न परिवार, कचनकवल गाउँपालिकाको घेरावारी र शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा समेत राहत वितरण गरेका थिए । यो वर्षपनि बन्दावन्दीको यो समयमा विपन्न नागरिकको खोजी गर्दै मारवाडी समुदायले परोपकारी कार्य गर्दै आएको हो ।
दैनिक पाँचसय जनालाई निःशुल्क खाना
मारवाडी युवती मञ्चले अहिले बिर्तामोड र भद्रपुरमा रहेका कोभिड अस्पतालमा मात्रै दैनिक पाँच सय जनालाई निःशुल्क खाना बितरण गर्दै आएको छ । बिर्तामोडमा खाना तयार गर्दै अस्पताल – अस्पतालमा खाना बितरण गर्दै आएको मारवायी युवा व्यवसायी प्रविण अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘मारवाडी युवती मञ्चले अग्रसरता देखाएपछि हामीले पनि साथ दिएका छौं ।
गत वर्ष हामीले बन्दाबन्दीको समयमा १० रुपैयाँमा नै खाना वितरण गरेका थियौं निक्कै प्रभावकारी भएपछि हामीले शुरु गरेको अभियान देशका विभिन्न भागमा सञ्चालनमा आएको थियो । यो वर्ष मुनमुनको अगुवाईमा मारवाडी युवती मञ्चले परोपकारी काम गर्दै आएको छ त्यसलाई हामीले सहयोग पु¥याउँदै आएका छौं ।’






























